दर्जनौं पटककाे पुनर्लेखनपछि तयार भएकाे थियाे- ‘ऐँठन’
काठमाडौं,१४ असोज-आख्यानकार विवेक ओझाको उपन्यास ‘ऐँठन’ले २०७९ सालको मदन पुरस्कार पायो । मदन पुरस्कार पाएपछि ओझालाई अहिले बधाईको ओइरो छ । फोन उठाउन भ्याइनभ्याइ छ । बिहानदेखि ‘धन्यवाद’ नै सयौं पटक भनिसके । तर, दश वर्षे जनयुद्धको पेरिफेरिमा लेखिएको ‘ऐँठन’ले एक दिन मदन पुरस्कार पाउला भनेर लेखक ओझाले सोचेकै थिएनन् ।
२०७४ सालदेखि पाँच वर्षसम्म रिसर्च, अध्ययन र लेखनमा व्यस्त रहँदा ओझाको एउटै चाहना थियो, पुस्तक धेरैभन्दा धेरै पाठकसम्म पुगोस् । ओझा भन्छन्, ‘मैले इमानदार भएर मेहनत गर्ने कोसिस गरें । आफ्नो सम्पूर्ण आउटपुट दिने प्रयास गरें र बाँकी सबै कुरा त किताब स्वयंले यात्रा तय गरेको हो ।’
अहिले आएर मदन पुरस्कार जस्तो सम्मानित पुरस्कार पाउँदा भने खुशी लागेको ओझा बताउँछन् । पुरस्कार पाएपछि अझै थुप्रै पाठकसम्म पुग्ने अपेक्षा ओझाको छ । जुनसुकै माध्यमबाट होस्, धेरैभन्दा धेरै पाठकसम्म पुगेर न्यानो माया पाउनु नै आफ्ना लागि ठूलो कुरा रहने ओझाको भनाइ छ ।
ओझा सुदूरपश्चिमका लेखक हुन् र ओझाले सुदूरकै कथा आख्यानमा उन्छन् ।
ओझाले २०७४ मा ल्याएको उपन्यास ‘ऐलानी’ले वादी समुदायको विषय उठाएको थियो । ओझा आफैं सुदूरका । उपन्यासको क्यानभास पनि सुदूरकै थियो । ओझा स्वयं सानैदेखि वादी समुदायसँग नजिक थिए । त्यसैले पनि आफूले ‘ऐलानी’मा वादी समुदायको कथा उठान गरेको ओझा बताउँछन् ।
‘ऐलानी’ आएको पाँच वर्षपछि ओझाले नयाँ उपन्यास ल्याए ‘ऐँठन’ । दश वर्षे जनयुद्धको क्यानभासमा तयार पारिएको ‘ऐँठन’मा माओवादीको हिंसात्मक विद्रोह र त्यसको दमनमा राज्यले गरेको प्रतिहिंसाको बीचमा पिल्सिएका भुईं मान्छेको कथा छ ।
‘ऐँठन’का लागि ओझाले गाउँगाउँ गएर अनेक पात्रलाई भेटे । रिसर्च गरे । अध्ययन गरे । पुराना पत्रपत्रिकाहरु पढे । जनयुद्धका पीडितहरुलाई भेटे र उपन्यास तयार पारे ।
अहिले उपन्यासले पुरस्कार पाएपछि ती मेहनत सम्झिँदा ओझालाई कस्तो लाग्छ ?
ओझा भन्छन्, ‘कोही साथीहरु विदेश गएर घर बनाए । कसैले गाडी किने । वस्तुगत जीवनमा उनीहरुले फड्को मारे । मैले ती सबै कुरा त्यागें । मैले त्यो जीवन त्यागेर लेखनमा समय दिएँ । अहिले पुरस्कार पाउँदा मैले लिएको जोखिमले न्याय पायो जस्तो लागेको छ ।’
तर, संघर्षको कथा भने यही पुरस्कारले टुंग्याउन नसक्ने बताउँछन् ओझा ।
पुरस्कार एक प्रकारको उत्प्रेरणा भए पनि आगामी दिनमा अझै संघर्ष गर्नै बाँकी रहेको ओझाको भनाइ छ । हिजो एक तहको संघर्ष थियो । भोलि एक तहको संघर्ष हुनेछ । तर, त्यो संघर्षको रुप कस्तो हुन्छ ? त्यो भने हेर्नै बाँकी रहेको ओझा बताउँछन् ।
‘ऐँठन’लाई पूर्ण गर्नै ओझालाई पाँच वर्ष लाग्यो । पाँच वर्षमा पहिलो ड्राफ्ट तयार गर्न जति समय लगाए, त्योभन्दा तेब्बर समय पुनर्लेखनमा खर्चिए ।
ओझा भन्छन्, ‘मैले कति पटक पुनर्लेखन गरें भन्ने त गनिनँ । तर, दजनौं पटक पुनर्लेखन गरेको छु । मलाई चित्त नबुझेसम्म गरेको छु ।’
सबै लेखकको आआफ्नै लेख्ने तरिका हुन्छ । कसैले एक पटकमै लेखिसक्छन् । ओझा भने पुनर्लेखनमा बढी समय दिन्छन् । पुनर्लेखनले थुप्रो कमजोरीलाई सच्याउने समय दिने ओझाको अनुभव छ ।
ओझा सुनाउँछन्, ‘अनि सकभर अथेन्टिक र बढीभन्दा बढी पाठकको मन जित्ने मेसो मिल्नसक्छ ।’
ओझाको उपन्यास ‘ऐँठन’ बजारमा आएपछि जनयुद्ध अलि गलत तरिकाले देखाइयो, त्यसको उपलब्धिहरुलाई अलि नजरअन्दाज गरिएको हो कि भनेर पनि टिप्पणी आए । तर, ओझालाई भने त्यस्तो लाग्दैन ।
ओझाको मत छ, ‘कुनै एउटा पुस्तकमात्रै जनयुद्धको निचोड हुन सक्दैन । प्रत्येक पात्रको तर्फबाट त सिंगो उपन्यास लेख्न सकिन्छ । मैले चाहिँ न्युट्रल भएर बफर जोनको पात्रलाई लेख्ने कोसिस गरेको छु । के कति सफल भएँ, पाठकको जिम्मा । तर, सबैको आआफ्नै धारणा हुन्छन् । म सबैको धारणालाई सम्मान गर्छु ।’
लेखक ओझा अहिले नयाँ पुस्तक बजारमा ल्याउने तयारीमा पनि छन् । एउटा लघु उपन्यास र कथा संग्रहमध्ये अब एउटामा काम गर्ने मनसायमा छन् । तर, बजारमा कहिले आइपुग्छ भनेर चाहिँ यकिन नभएको उनी बताउँछन् ।
यस वर्ष मदन पुरस्कारको संक्षिप्त सूचीमा सुविन भट्टराईको ‘इजोरिया’, द्वारिकानाथ ढुंगेलको ‘चक्रव्युहमा नेपालको जलस्रोत’, प्रगति राईको ‘थाङ्ग्रा’, सञ्जय विष्टको ‘माटाको घर’ पनि समावेश थिए । यिनै किताबमध्ये ओझाको ‘ऐँठन’ले मदन पुरस्कार जितेको हो ।
सांग्रिला बुक्सले बजारमा ल्याएको यस उपन्यास गत चैतमा विमोचन भएको थियो ।
‘ऐँठन’ ओझाको तेस्रो कृति हो । उनको यसअघि ‘ऐलानी’ (२०७४) सँगै ‘एक पाइला आकाशमा’ (२०७०) गजल संग्रह प्रकाशित छन् । ओझा ‘ऐलानी’ उपन्यास सार्वजनिक भएपछि पूर्णकालीन रुपमा लेखनमा सक्रिय छन् ।
ताजा
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा
२०८३ जेष्ठ ५ गते, मंगलवार
नयाँ आइटी पाठ्यक्रम तयार हुँदै
२०८३ जेष्ठ ५ गते, मंगलवार
फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’
२०८३ जेष्ठ ३ गते, आईतवार
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ बैशाख २८ गते, सोमबार
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
२०८३ बैशाख २८ गते, सोमबार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार





















