कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

हरिप्रसाद सुवेदी(सुशील)

 वालिङ,२असार- वि सं २०१७ सालमा गुठीका रूपमा स्थापना भएको स्याङ्जाको वालिङ नगरपालिका–१० स्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी यतिबेला जी–९ प्रजातिको केरा खेतीमा सक्रिय रूपमा जुटेका छन् । 

विद्यालय परिसरको बाँझो जमिनलाई उत्पादनशील बनाउँदै विद्यार्थी कृषि अभ्यासमा सहभागी भएका हुन् ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यान्वयन एकाइ, स्याङ्जाको प्राविधिक शिक्षा तथा व्यावसायिक सिप विकास कार्यक्रम अन्तर्गत ७५ प्रतिशत साझेदारीमा सञ्चालन गरिएको कार्यक्रममार्फत विद्यार्थीलाई शिक्षासँगै उत्पादन, उद्यमशीलता र संस्कारको ज्ञान प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक दीपक लम्सालले बताउनुभयो ।

लम्सालका अनुसार विद्यालयले बाँझो जमिनको सदुपयोग गर्दै वालिङ नगरपालिकाको सहयोगमा बहुकृषि प्रणाली अन्तर्गत अकबरे खुर्सानी, तरकारीका बेर्ना उत्पादन लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ । “सिक्दै कमाउँदै” अवधारणालाई व्यवहारमा उतार्दै आर्थिक वर्ष २०८२-०८३ को बजेट तथा कार्यक्रम अनुसार कृषि सम्बन्धी विभिन्न क्रियाकलाप अघि बढाइएको उहाँले बताउनुभयो । 

हिन्दु संस्कार अनुसार जन्मदेखि मृत्युसम्मका विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यमा केराको महत्त्वपूर्ण प्रयोग हुने भएकाले विद्यार्थीलाई यसप्रति आकर्षित गर्न खोजिएको प्रधानाध्यापक दीपक लम्सालले बताउनुभयो । उहाँका अनुसार केराको फल मात्र नभई बोट, पात तथा अन्य भागसमेत विभिन्न प्रयोजनमा उपयोग गर्न सकिने भएकाले यसको व्यावहारिक महत्त्वबारे विद्यार्थीलाई जानकारी गराइएको हो ।

“सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान प्रदान गर्न सकियो भने विद्यालय शिक्षा पूरा गरेपछि पनि विद्यार्थीको हातमा एउटा सिप रहन्छ,” लम्सालले भन्नुभयो । “त्यही सिपले भविष्यमा स्वरोजगार र उद्यमशीलताको आधार तयार गर्न सक्छ ।”

विगतका वर्षहरूमा विद्यालयले च्याउ खेती, तरकारीका बेर्ना उत्पादन लगायतका कार्यक्रम सञ्चालन गरेको थियो। कृषि प्रधान देश भए पनि ठुलो मात्रामा खेतीयोग्य जमिन बाँझै रहेको अवस्थालाई मध्यनजर गर्दै विद्यालयस्तरबाटै विद्यार्थीलाई कृषि सिप सिकाउन खोजिएको प्रधानाध्यापक लम्सालको बताउनुहुन्छ । आगामी दिनमा विद्यार्थीलाई कालो उखु खेती सम्बन्धी ज्ञान र अभ्यास प्रदान गर्ने योजना पनि विद्यालयले अघि सारेको छ ।

विद्यालयमा सञ्चालन गरिएको केराखेती कार्यक्रमले विद्यार्थीमा कृषि पेसाप्रतिको दृष्टिकोण परिवर्तन गर्न थालेको छ । शिक्षित व्यक्तिले कृषि गर्नु हुँदैन भन्ने समाजमा व्याप्त सोचलाई चुनौती दिँदै विद्यार्थीले वैज्ञानिक तथा व्यावसायिक कृषि अभ्यासमा रुचि देखाएका छन् ।

कक्षाकोठामा सिकेका सैद्धान्तिक विषयलाई खेतबारीमा प्रयोग गर्न पाउँदा सिकाइ थप प्रभावकारी बनेको विद्यार्थीको अनुभव छ । यस कार्यक्रमले कृषि पेसाप्रति सम्मानको भावना विकास गर्नुका साथै भविष्यमा कृषि उद्यमतर्फ लाग्न प्रेरणा मिलेको विद्यार्थीले बताएका छन् ।

“हाम्रो समाजमा पढेलेखेका मानिसले कृषि गर्नु हुँदैन भन्ने सोच अझै पनि पाइन्छ । तर विद्यालयमै वैज्ञानिक तरिकाले खेती गर्न सिक्दा कृषि पेसाको वास्तविक महत्त्व बुझ्ने अवसर पाएका छौँ ,” विद्यार्थी आशिका सुवेदी भन्नुहुन्छ , “कक्षाकोठामा पढेका कुरा व्यवहारमा प्रयोग गर्दा सिकाइ अझ सजिलो र प्रभावकारी भएको छ । केराखेतीबाट उत्पादन कसरी गर्ने, व्यवस्थापन कसरी गर्ने भन्ने सिप पनि सिकेका छौँ । यसले कृषि पेसाप्रति सम्मान बढाएको छ भने भविष्यमा कृषि क्षेत्रमा केही नयाँ र उदाहरणीय काम गर्ने प्रेरणा पनि दिएको छ ।”

कृषि व्यवसाय देशको आर्थिक विकासको महत्त्वपूर्ण आधार भएको बताउँदै वनस्पति विज्ञान संयोजक अर्जुन खड्काले कृषि क्षेत्रलाई सम्मान र प्रवर्धन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । कृषि नै उद्योग, व्यापार तथा खाद्य सुरक्षाको मुख्य आधार भएको उल्लेख गर्दै उहाँले विद्यालयस्तरबाटै विद्यार्थीलाई कृषि सम्बन्धी व्यवहारिक ज्ञान र सिप प्रदान गर्न सके भविष्यमा दक्ष, आत्मनिर्भर र उद्यमशील जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने बताउनुभयो । 

कृषि कच्चा पदार्थ उत्पादनको प्रमुख स्रोत भएकाले यसको महत्त्व बुझ्दै आधुनिक र वैज्ञानिक खेती प्रणालीतर्फ आकर्षित हुनुपर्ने उहाँको भनाइ छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, स्याङ्जाको प्राविधिक शिक्षा तथा व्यावसायिक सिप विकास कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न विद्यालय तथा कृषि समूहमा कृषि प्रवर्धनका कार्यक्रम सञ्चालन गरिएको कृषि प्राविधिक इन्द्र सुवेदी बताउनुहुन्छ । 

सोही कार्यक्रममार्फत भिरकोट नगरपालिका–६ स्थित भाग्योदय माविमा फलफूल तथा तरकारी खेती विस्तारका लागि सहयोग गरिएको छ भने पूर्णामृत भवानी माध्यमिक विद्यालयमा जी–९ प्रजातिको केराखेती सञ्चालनका लागि आवश्यक सिँचाइ सामग्री, कृषि औजार, मल तथा अन्य कृषि उपकरण उपलब्ध गराइएको हो । 

विद्यालयले सञ्चालन गरेको यो कार्यक्रमले विद्यार्थीलाई कक्षाकोठाको सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अनुभव दिलाउँदै भविष्यमा कृषि उद्यमतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।गाेप

ताजा

स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ

२०८३ असार ३२ गते, बिहीबार

पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु

२०८३ असार ३२ गते, बिहीबार

निजी मिडियालाई सरकारी विपज्ञापन प्रतिबन्ध लगाउने सरकारकाे निर्णय  सर्वोच्चद्वारा बदर

२०८३ असार ३० गते, मंगलवार

विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द

२०८३ असार ३० गते, मंगलवार

मानवअधिकार एलायन्स स्याङ्जाले मनायाे २७औँ स्थापना दिवस

२०८३ असार २९ गते, सोमबार

वालिङ नगरपालिकाको २०औँ नगरसभाबाट ८९ करोड बढीकाे बजेट पारित

२०८३ असार २८ गते, आईतवार

श्रमजीवी पत्रकारको करार नतोड्न  नेपाल पत्रकार महासंघको आग्रह

२०८३ असार २६ गते, शुक्रबार

मापदण्ड विपरीत पशुचौपाया ढुवानी गर्ने व्यक्ति पक्राउ

२०८३ असार २६ गते, शुक्रबार

विद्युत् सर्ट भई आगलागी हुँदा दुई बाख्रा र पाँच कुखुरा जले

२०८३ असार २६ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal