गैँडा मार्न बिस दिनको योजना, निकुञ्जमै मचान बनाएर सबै बन्दोबस्त

वसन्त पराजुली

नारायणगढ,१५ मङ्सिर- चितवन राष्ट्रिय निकुञ्जभित्र खाडल खनेर दुई वटा गैँडा मार्न सिकारीलाई २० दिन लागेको अनुसन्धानबाट खुलेको छ । गत कात्तिक ३० गते मृत अवस्थामा भेटिएका दुवै पोथी गैँडा मार्न सिकारीहरू बन्दोबस्तसाथ निकुञ्जभित्रै बसेको थाहा भएको छ । 

१८ वर्षको पोथी गैँडा मारेको १० दिन र छ वर्षको पोथी मारेको तीन दिनपछि मात्रै मृत भेटिएका हुन् । अनुसन्धानमा संलग्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी उपरीक्षक नवराज अधिकारीले सिकारीले २० दिन लगाएर गैँडा मारेको जानकारी दिनुभयो । 

“सिकारीले मानवीय गतिविधि कम भएको निकुञ्जको पनि सुनसान क्षेत्र रोजेको देखियो,” सिआइबीका प्रवक्तासमेत रहनुभएका प्रउ अधिकारीले थप्नुभयो, “निकुञ्जभित्र एक किलोमिटरको फरकमा सात वटा खाडल खन्दा दुई वटामा गैँडा परेको देखिन्छ ।”

निकुञ्जको पूर्वी क्षेत्रमा चुरे पहाडको फेदीमा रहेको चपरचुली क्षेत्रस्थित निकुञ्जकै कोर इलाकामा गैँडा मारेर खाग लगेको अवस्थामा भेटिएपछि निकुञ्जसँगै नेपाली सेना र प्रहरीको विशेष टोलीले संयुक्त अनुसन्धान गरेको थियो । 

“सिकारीहरू २० दिनसम्म निकुञ्जभित्रै बन्दोबस्तसाथ बसेर गैँडा मारी खाग लिएर मात्र निकुञ्जबाहिर आएको देखिन्छ,” अधिकारीले भन्नुभयो । गैँडालाई खाडलमा हालिसकेपछि ठुलो चाहिँ आफैँ मरेको हो भने सानोलाई गोली हानेर मारिएको पनि भेटिन्छ । 

घटनाको अनुसन्धान गर्न वन तथा वातावरण मन्त्रालयले गठन गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले पनि आफ्नो प्रतिवेदन विभागलाई बुझाएको छ । 

विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुङ्गानाले भन्नुभयो, “दसैँ तिहार जस्ता चाडबाडका बेला सिकारीले निकुञ्जका सुरक्षाकर्मी र नेपाली सेनालाई पनि छलेर गैँडा मारेको अनुसन्धानमा देखियो ।” उहाँले अझै पनि अवस्था चुनौतीपूर्ण रहेको भन्दै विशेष सुरक्षा अवलम्बन गर्न प्रतिवेदनमा सुझाव दिइएको जनाउनुभयो ।

घटनामा संलग्न भएको अभियोगमा आठ जना पक्राउ परेका छन् । महानिर्देशक डा. ढुङ्गानाका अनुसार योजनाकार, घटनामा संलग्न व्यक्ति र मध्यस्थकर्तासहित आठ जनालाई पक्राउ परी अनुसन्धानका व्रmममा राखेको निकुञ्ज कार्यालय कसरामा बिहीबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिनुभयो । 

पक्राउ पर्नेमा मकवानपुर हेटौँडा उपमहानगरपालिका–३ लेबर्टका रमेश खाती, चितवन राप्ती नगरपालिका–११ ठाकलटारका पासाङ भन्ने आइते सिंह मोक्तान, मकवानपुर राक्सिराङ गाउँपालिका–९ घर भई हेटौँडा उपमहानगरपालिका–४ बस्ने शमशेर थिङ, मकवानपुर गाउँपालिका–६ नयाँ बस्तीका थिङ बाजे भन्ने सीताराम थिङ रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिनुभयो । 

यस्तै पक्राउ पर्ने अन्यमा रोल्पा सुन छहारी गाउँपालिका–६ फगाम घर भई हाल मकवानपुर हेटौँडा उपमहानगरपालिका–५ बस्ने अर्जुन रोका, गोरखा बारपाक घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका–११ लामा टोल बस्ने घले भन्ने धनबहादुर गुरुङ, चितवन कोराक गाउँपालिका–१ घर भई हाल चितवन राप्ती नगरपालिका–११ थाकलटार बस्ने उनबहादुर स्याङ्तान र मकवानपुर मनहरी नगरपालिका–७ ज्यामिरे घर भई चितवन माडी नगरपालिका–९ बाँदरझुला बस्ने स्याङ्बो भन्ने इन्द्रबहादुर तामाङ रहेको निकुञ्जले जनाएको छ । 

यसअघि पनि निकुञ्जको अनुसन्धानका दायरामा परी छुटेका खातीलाई मङ्सिर ९ गते निकुञ्जले पक्राउ गरेको हो । खातीलाई गैँडा मार्ने तथा खाग बिक्री वितरण गर्ने मुख्य योजनाकारको अभियोग लगाइएको छ । 

पक्राउ परेका पासाङ, स्याङ्बा र उनबहादुर मार्ने सिकारी, थिङ खाग बेच्न सहयोगी रहेको बताइएको छ । अन्य अभियुक्तलाई भने गैँडाको खाग ओसारपसार तथा बिक्री वितरणको अभियोग लगाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पक्राउ परेकाबाट १८ इन्च गोलाइ, छ इन्च उचाइ भएको ४८० ग्राम र ११.८ इन्च गोलाइ र दुई इन्च उचाइ भएको ६० ग्राम तौलको समेत दुई वटा खागसहित गैँडा मार्न प्रयोग गरिने भरुवा बन्दुक तथा अन्य सामान पनि बरामद गरेको छ । बरामद गरिएका अन्य सामानमा कालो झोला, बिँड नभएको बन्चरो, चक्कु, भरुवा बन्दुकमा प्रयोग हुने फलामको टुक्रा , गुलेली, टर्च लाइट, डेक्ची, पटाका बारुद, ब्ल्याङ्केट छन् । निकुञ्जले दिएको जानकारी अनुसार उनीहरूले प्रयोगमा ल्याएको ना. २४ प ४२३४ र ना. ३६ प ५५०१ का दुई वटा पल्सर मोटरसाइकल पनि बरामद गरिएको छ ।

ताजा

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal