भिण्डीले बजार नपाएपछि किसान समस्यामा
पाल्पा,१४ असोज-व्यावसायिक उत्पादन गरिएको भिण्डी (रामतोरियाँ) ले बजार नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । घरायसी प्रयोजनका लागि मात्रै भिण्डी लगाउँदै आएका किसानले यसपटक व्यावसायिकरूपमा खेती गरेका थिए ।
पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुकमा करिब १२ रोपनी जग्गा भाडामा लिएर स्थानीय गङ्गाप्रसाद बस्याल, राधिका बस्याल र सिर्जना आचार्यले सामूहिकरूपमा भिण्डीखेती गर्नुभएको थियो । अहिले उत्पादित भिण्डीले बजार नपाएकोे गङ्गाप्रसादले बताउनुभयो ।
“रामपुरको बजारलाई मध्यनजर गर्दै व्यावसायिक रामतोरियाँ खेती सामूहिकरूपमा सुरु गरियो, उत्पादन असाध्यै राम्रो छ, तर बिक्रीका लागि बजार छैन, बजार अभावमा टिपेर त्यसै फाल्नुपरेको छ”, उहाँले भन्नुभयो ।
हाल दैनिक न्यूनतम ५० किलोदेखि बढीमा एक सय ५० किलोसम्म भिण्डी उत्पादन भइरहेको उहाँले बताउनुभयो । स्थानीय बजारमा बिक्री नभएपछि स्याङ्जाको वालिङ बजारमा सस्तो मूल्यमा ढुवानी खर्चेर पठाउन बाध्य भएको आचार्य बताउनुभयो ।
“दिनहुँ भिन्डी उत्पादन भइरहेको छ, स्थानीय बजारका व्यापारीले यहाँको उत्पादन खरिद गर्दैनन्, सस्तो मूल्यमा बाहिर पठाउँदा लागत पनि उठाउन धौधौ परेको छ”, उहाँले भन्नुभयो, “बजारीकरणको राम्रो प्रबन्ध नहुँदा हामी किसानलाई मार खेप्नु परिरहेको छ ।”
गत जेठदेखि उत्पादन दिन थालेको भिन्डी हालसम्म ७५ क्विन्टलभन्दा बढी उत्पादन भइसकेको छ । यस क्षेत्रमा उत्पादन भएको भिण्डीको बजार मूल्य सरदरमा न्यूनतम प्रतिकिलो रु ४० देखि बढीमा रु एक सयसम्म रहेको छ । उत्पादन भएको भिण्डीमध्ये सात क्विन्टल भिण्डी रामपुर बजारमा खपत नभएको किसान बताउँछन् । बोटमा अझै पनि उत्पादन दिइरहेको छ ।
दैनिक भिण्डी टिपेर बाहिरका बजार खोज्दै पठाउनुपर्दा किसानलाई खेती गरेर लागत उठाउन समस्या परिरहेको छ । अहिलेसम्म भिण्डी बिक्रीबाट करिब रु तीन लाखसम्मको आम्दानी भएको राधिकाले बताउनुभएको छ । बजार अभावमा दुई क्विन्टलभन्दा बढी भिण्डी घरमै कुहाएर फाल्न बाध्य भएको उहाँले गुनासो गर्नुभयो ।
अहिले भिण्डीको मूल्य बजारमा प्रतिकिलो रु ५० देखि ५५ रहेको किसान बताउँछन् । किसानले लागतअनुसारको मूल्य पनि पाउँदैनन् भने भनेको समयमा बजार सहज नहुँदा उत्पादन बेला–बेलामा त्यसै खेर फाल्नु परिरहेको छ । भिण्डीबाट राम्रो उत्पादन लिन सकिने सम्भावना छ । बजारीकरणको झन्झटले किसानले भरसक यसको व्यावसायिक खेती गर्न मन पराउँदैनन् । टिपेर धेरै दिनसम्म राख्न नमिल्ने भएकाले यसका लागि फल टिप्नेबित्तिकै बजार चाहिन्छ ।
रामपुरको बजारमा बुटवल, तराईलगायतका बाहिरका बजारबाट कृषि उपज भित्रिने गरेकाले व्यापारीले स्थानीय उत्पादनलाई महत्व दिँदैनन् । विषादी प्रयोग गरिएका सस्ता कृषि उपज खरिद गरी बिक्री गर्ने आदत परेका व्यापारीले स्थानीय उत्पादन भरसक खरिद गर्न खोज्दैनन् । कालीगण्डकीबेँसीको मुख्य केन्द्रका रूपमा रहेको पाल्पाको रामपुर सहरीकरणका रूपमा विकास भइरहेको छ । यहाँ जनघनत्व बढ्दै गए पनि बाहिरबाट ठूलो परिमाणमा उपभोग्य सामग्री आयात भइराखेको छ । बाहिरी उत्पादनका वस्तुसँग स्थानीय वस्तुले प्रतिस्पर्धा गर्न नसक्दा बजार समस्या निम्तिएको छ ।रासस
ताजा
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार
बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
२०८३ श्रावण २१ गते, बिहीबार





















