तरकारी बेचेर आत्मनिर्भर बन्दै महिला

गलेश्वर (म्याग्दी),२७ साउन– म्याग्दीको बेनी नगरपालिका–२ खबराकी ५४ वर्षीया पवित्रा कार्कीको दैनिकी दुई किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर बेनी बजारमा बेच्नमै व्यस्त हुन्छ । प्रत्येक साँझ बारीमा फलेको तरकारी टिपेर घरको छानामाथि शीतमा राख्ने र भोलिपल्ट बिहानै ती तरकारीलाई डोकोमा बोकेर बजारसम्म पुर्‍याएर बिक्री गर्ने उहाँको दैनिकी नै बनेको छ ।

उहाँले मौसमअनुसार तरकारी खेती गर्नुभएको छ । दैनिक कति किलो तरकारी बिक्री हुन्छ यसको कुनै हिसाब नै छैन उहाँसँग । “आफ्नो बारीमा फलाएको तरकारीको के हिसाब राख्नु र रु बारीबाट टिप्यो, डोकोमा हाल्यो, भोलिपल्ट बिहानै बजार ल्यायो, बेच्यो, सिद्धियो”, कार्कीले भन्नुभयो, “अन्तबाट खरिद गरेर बेच्ने भए पो यति किलो खरिद गरेँ भन्ने हिसाब हुन्छ । यी सबै आफ्नै बारीमा फलाइएका हुन् ।”

कार्कीले १० वर्षदेखि यसैगरी डोकोमा बोकेर तरकारी बेच्दै आउनुभएको छ । बेनी बजारमा उहाँलाई ‘तरकारी आमै’ भनेर चिन्ने र बोलाउने गरेका अनुभव सुनाउनुभयो । प्रत्येक बिहान बेनी बजारका घरघरमा तरकारी पुर्‍याउने कार्कीले दैनिक एक डोका तरकारी बिक्री गरेर रु दुई हजारदेखि रु तीन हजारसम्म कमाउने गरेको बताउनुभयो । उहाँका अनुसार गत जेठदेखि साउनको तेस्रो सातासम्म बर्खे तरकारी बेचेर रु दुई लाख बढी कमाइ भएको छ ।

मौसम अनुसारका तरकारी बढी बिक्री गरे पनि साग र धनियाँ भने कहिल्यै नछुट्ने कार्कीले बताउनुभयो । “दैनिक थोरै भनेको रु दुई हजार आम्दानी हुन्छ । प्रायः तीन हजार पाँचसयसम्म भइरहन्छ । बर्खे तरकारी बेचेर रु दुई लाख ६५ हजार कमाएछु”, उहाँले भन्नुभयो ।

तरकारीबाट कमाएको पैसाले कार्कीले म्याग्दीको पर्यटकीय स्थल लभ्लीहिलमा चारतले पक्की घर बनाउनुभएको छ । कार्कीका पति चन्द्रबहादुर र छोरा नारायणले गाउँमा नै तरकारी खेती गर्नुहुन्छ । चन्द्रबहादुर जिल्लाकै अगुवा कृषक हुनुहुन्छ ।

कार्कीले झैँ आफ्नै बारीमा फलेको तरकारी बेचेर विगत पाँच वर्षदेखि घर चलाउँदै आउनुभएको छ मङ्गला गाउँपालिकाकी चन्द्रमाया सापकोटाले पनि । ३८ वर्षिया सापकोटाको दैनिक रु सात सयदेखि एक हजारसम्म आम्दानी हुने गर्दछ । उहाँले बर्खे बालीभन्दा हिउँदे बालीबाट बढी आम्दानी गर्ने गरेको बताउनुभयो । 

“हिजोआजको समयमा फलेको तरकारीबाट भन्दा हिउँदे बाली चना, केराउ, साग, जाँतोमा पिसेको दाल र अन्य गेडागुडीबाट मैले दिनको रु एक हजार पाँच सयसम्म आम्दानी गरेको छु”, उहाँले भन्नुभयो ।

कार्की र सापकोटा जस्तै जिल्लाका धेरै महिला पछिल्लो समय तरकारी खेतीबाट आत्मनिर्भर बन्दै गएका छन् । जिल्लाका कृषकले अहिले गोलभेँडा प्रतिकिलो रु एक सय ५० सम्ममा बिक्री गर्दै आएका छन् । वर्षाको समयमा यहाँका किसानले आलु, प्याज, बर्खे खुर्सानी, भ्यान्टा रायोको सागलगायत हरियो तरकारी बेच्ने गर्दछन् । 

साथीले गरेको देखेर आफूले पनि सकिँदो रहेछ भनेर तरकारी खेती सुरु गरेको स्थानीय अप्सरा घिमिरेले बताउनुभयो । बारीमा फलेको तरकारीलाई नजिकको बजारसम्म ल्याएर बेच्न सुरुसुरुमा लाज लागेको भन्दै उहाँले अहिले त उमेरले साथ दिएसम्म यही व्यापार गर्ने बताउनुभयो ।

“बजारका घरघरमा डुलाएर बेच्न मलाई पहिला त लाज लागेको थियो । अहिले आफ्नो पेसा व्यापार हो भन्ने बुझेको छु । अब सकुञ्जेल यही काम गर्ने हो”, अप्सराले भन्नुभयो । उहाँका अनुसार बेनी बजारमा प्रत्येक बिहान अर्ग्यानिक तरकारी किन्ने ग्राहकको भीड देख्न सकिन्छ । प्रायः ‘मर्निङ वाक’ गर्नेले तरकारी किनेर लैजाने गर्दछन् ।रासस

ताजा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल

२०८२ बैशाख २३ गते, मंगलवार

पूर्वमन्त्री प्रदीप नेपालको निधन

२०८२ बैशाख २३ गते, मंगलवार

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

२०८२ बैशाख २१ गते, आईतवार

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

२०८२ बैशाख २१ गते, आईतवार

चालिसेमा महायज्ञ हुने

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

२०८२ बैशाख २० गते, शनिबार

यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

२०८२ बैशाख १९ गते, शुक्रबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८२ बैशाख १९ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal