रामपुरमा खानेपानी महसुल दर घट्यो
पाल्पा,१७ साउन-रामपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गतका उपभोक्ताका निम्ति खानेपानी महसुल दरमा छुट हुने भएको छ । ९ देखि २० युनिट सम्म खपत गर्ने उपभोक्ताले यस अघि प्रतियुनिट ४० रुपैँयाका दरले तिर्दै आएकोमा महसुल दर घटाएर प्रति युनिट ३० रुपैँया कायम गरिएको छ भने २१ युनिट भन्दा माथि खपत गर्ने उपभोक्ताहरुले यस अघि ६३ रुपैँया प्रतियुनिट तिर्दै आएकामा छुट गरी ५३ रुपँैया कायम गरिएको आयोजनाले जनाएको छ ।
रामपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजनाले मंगलबार पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरेर रामपुर नगरपालिकामा वितरण गरिएको खानेपानीको महसुल घटाएको जानकारी गराएको हो ।
कार्यक्रममा आयोजनाका अध्यक्ष राजुप्रसाद श्रेष्ठले आयोजनाका गतिविधि, भावी योजनाबारे प्रष्टयाउनुभएको थियो । २०६७ सालमा स्थापना भएको आयोजना अन्तर्गत रामपुर नगरपालिकाको वडा नम्बर ४, ५, ६ र ७ मा करिब १३ सय घरपरिवारलाई खानेपानी सुविधा पुगेको जानकारी अध्यक्ष श्रेष्ठले दिनुभयो । साढे ४ लाख लिटर, साढे २ लाख लिटर तथा साढे १ लाख लिटर पानी संकलित टंयाङकीमार्फत पानी वितरण भएको र नगरपालिकाबाट प्राप्त १५ लाख रुपैँयाको लागतमा रामपुर ५ राम्चे बाङ्गेवारीमा अर्को टंयाङ्की निर्माणको काम भइरहेको कार्यक्रममा जानकारी गराइएको छ ।
आयोजनाका अध्यक्ष तथा लुम्बिनी प्रदेशसभा सदस्य श्रेष्ठले करिब ३४ सय ९३ धारा मार्फत खानेपानी उपभोक्ताले प्रयोग गर्दै आएको र अहिलेसम्म ३ हजार ९ सय २३ धारा जडान गरिएको जानकारी दिनुभयो । उहाँले १ सय ८० किलोमिटर पाइप बिच्छ्याइएको र आगामी दिनमा उपभोक्तालाई करिब ७ हजार धारा पुग्ने र प्रतियुनिट १० रुपैैँया छुट दिने योजना रहेको बताउनुभयो ।
करिब ४ सय ४२ घरधुरी विपन्न परिवारलाई निशुल्क खानेपानी उपलब्ध गराएको आयोजनाले जनाएको छ । घटाइएको महसुल दर यही साउन १ गते देखि लागू हुने जनाइएको छ ।