पिङ हाल्न अनुदान !

नवलपुर,१७ असोज– दशैँँ र पिङ एकअर्कामा पर्यावाची जस्तै बनेका छन् । दशैँँमा टीकाको दिन भुइँ छोड्नुपर्ने (पिङ चढ्नुपर्ने) परम्परागत मान्यताका कारण पनि गाउँघरमा पिङ संस्कृतिको महत्व छ । पछिल्लो समय गाउँघरबाट लिङ्गे पिङ हराउँदै जान थालेपछि यसको संरक्षणका लागि यहाँको एक वडाले पिङ बनाउन सहयोग गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–३ ले आफ्नो वडामा पिङ बनाउन प्रोत्साहन गर्दै प्रतिपिङ रु पाँच हजार दिने निर्णय गरेको छ ।

“दशैँँ तिहारमा पिङ राख्नु खेल्नु परम्परा नै हो तर, पछिल्लो समयमा प्राविधिको विकाससँगै यस्ता मौलिकता हराउँदै छन्”, वडाध्यक्ष शिवकान्त तिवारीले भन्नुभयो, “फूलपातीको अघिल्लो दिनसम्म गाउँमा कहीँ कतै पिङ हाल्ने सुरसार नदेखेपछि वडाले पिङ बनाउन रु पाँच हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।” 

गैँडाकोट वडा नम्बर ३ मा रहेका प्रत्येक टोल सुधार संस्थामा एक÷एक वटा पिङ निर्माण गर्न पनि उहाँले अनुरोध गर्नुभयो । “पिङ रोको प्रमाणसहित वडा कार्यालयमा पुगेपछि कार्यालयले टोल सुधारलाई पाँच हजार रुपैयाँ सहयोग गर्नेछ”, उहाँले भन्नुभयो, “यो हाम्रो परम्परादेखि चलेको संस्कृति संरक्षणका लागि वडा कार्यालयले सानो प्रयास गरेको हो ।” दशैँँको पर्यायवाचीजस्तै बनेको पिङ गाउँघरबाट हराउन नदिनका लागि सबै समुदाय लाग्नुपर्ने तिवारीको भनाइ छ । 

“हाम्रो वडामा मात्रै नभएर धेरै ठाउँमा दशैँँको सातौँ दिन फूलपातीसम्म पनि पिङ राख्ने सुरसार देखिएन”, वडाध्यक्ष तिवारीले भन्नुभयो, “पहिले दशैँँ आउनु एक साताअघि पिङका लिङ्गा खोज्ने, बाँस काट्ने, बाबियो काटी डोरी बाट्ने चटारो हुने गथ्र्यो ।”

गाउँघरका चोक, चौर, चौतारामा दशैँँ लाग्नुअघिनै पिङ राख्ने चहलपलसँगै सबै भेट्ने थलो बन्ने गरेको भन्दै वडाध्यक्ष तिवारीले टीकाको एक दिन भए पनि पिङमा खुट्टा राख्नुपर्ने बूढापाकाको भनाइ रहेको बताउनुभयो । पछिल्ला आठ÷दश वर्षमा समुदायबाट लिङ्गे पिङसँगै दशैँँको रमाइलो पनि हराएकोजस्तै भइरहेको उहाँको भनाइ छ । 

गाउँघरमा पिङ निर्माण गरिने बाँसको लिङ्गो पाउन गाह्रो हुन थालेपछि पिङ निर्माणमा समुदायले बेवास्ता गरेको हुनसक्ने मध्यविन्दु–३ का भानुभक्त पौडेलले बताउनुभयो । बह्मदीप युवा क्लबका निवर्तमान अध्यक्षसमेत रहनुभएका पौडेलले विगतका वर्षहरुमा आफ्नो गाउँम पिङ निर्माण गर्ने गरिएको भए पनि यस वर्ष गाउँमा पनि पिङ निर्माण नभएको बताउनुभयो ।

“पहिला पहिला गाउँमा युवा जनशक्ति टन्नै हुने गर्दथे”, उहाँले भन्नुभयो, “अहिले वैदेशिक रोजगार र विभिन्न कारणले युवा विदेश पलायन हुँदा गाउँमा युवा देख्न मुस्किल भएको छ ।” 

पिङ निर्माणमा युवाहरुको सहभागिता आवश्यक भए पनि युवा नभेटिँदा पिङ बनाउन कठिन भएको उहाँले बताउनुभयो । “कोरोना कालभन्दा अघिसम्म हामी युवाहरु गाउँमा भेला भएर प्रत्येक घरघरबाट बाबियो तथा सुनपाट सङ्कलन गरेर पिङको लठ्ठा बाट्ने गर्दथ्यौँ”, उहाँले भन्नुभयो, “घटस्थापनाको दिनसम्म सबै तयारी सकेर पिङ ठड्याएर खेल्न सुरु हुन्थ्यो ।” दशैँँमा हालिएको पिङ हरिबोधनी एकादशीपछि मात्रै निकाल्ने गरिएको उहाँले स्मरण गर्नुभयो । 

विदेश गएका युवा दशैँँमा घर फर्किने क्रम न्यून हुने तथा अध्ययनका लागि जिल्ला बाहिर रहेका युवा ढिला गरी घर फर्किने गर्दा गाउँघरबाट पिङ हराउने अवस्थामा पुगेको उहाँले बताउनुभयो ।

“हामीले अझै पनि पिङ निर्माण गर्ने तयारी भने गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “आवश्यक स्रोत र साधन जुट्यो भने अष्टमीको साँझसम्म गाउँमा पिङ तयार हुन्छ ।” पिङ निर्माण भएपछि मात्रै दशैँँ आएको जस्तो लाग्ने स्थानीय बताउँछन् । 

पिङ निर्माणका लागि आवश्यक पर्ने बाँसको लिङ्गो पाउनै कठिन हुन थालेपछि पिङ बनाउने उत्साह हराएको मध्यविन्दु–३ का शिखाराम थनेतले बताउनुभयो । “पहिले पिङ हाल्ने भनेपछि हामीले अनुमति लिएर नारायणी पारी निकुञ्जको पहाडमा पुगेर बाबियो काटेर ल्याउने गरेका थियौँ”,उहाँले भन्नुभयो, “बाबियो काट्न नजाने गाउँमा बाँसको लिङ्गो खोज्न हिँड्ने गर्दथे ।”

सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेका अहिलेका युवा पुस्ताले पिङ निर्माणमा चासो नदिँदा आफूहरुको संस्कृति नै हराउने पो हो कि भन्ने चिन्ता लाग्ने गरेको उहाँको भनाइ छ । 

आधुनिक प्रविधिको प्रयोग र सुख सुविधाले हाम्रा पुराना संस्कृति नै हराउँदै जान थालेका छन् । अहिलेका युवापुस्ताले पिङप्रति त्यति चासो दिँदैनन् । कामको व्यस्तता, बाह्य संस्कृतिको प्रभाव, पिङप्रतिको मोह कम हुँदै जाँदा अहिले गाउँघरबाट परम्परागत हाम्रा चाडपर्व झल्किने संस्कृति लोप हुँदै गएका हुन् ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal