रामपुरको शीतभण्डार पुनः मर्मत गरी सञ्चालनको तयारी

पाल्पा,१८ भदौ– ग्रामीण भेगमा ठूलो क्षमताको शीतभण्डार बनेपछि व्यावसायिक उत्पादनमा कृषक उत्साहित बने । सदरमुकामदेखि टाढा रहेको रामपुर नगरपालिकामा तीन सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणले कृषकमा औधी खुसी छायो ।

परीक्षणका लागि गत वर्ष करिब दुई हजार नौ सय बोरा आलु भण्डारण गरियो । भण्डारण गृहमा राखिएको आलु कुहिने र उम्रने भएपछि यस वर्ष भने कृषकले यहाँ भण्डारण गर्न आलु राख्न चाहेनन् । पहिलो वर्षमा नै आलु बिग्रिएपछि भण्डारण गृह  व्यवस्थापन गर्न अहिले मर्मत तथा सम्भारको काम गरेर व्यवस्थित बनाउन थालिएको छ । भण्डारण गृहमा केही प्राविधिक समस्या भएपछि त्यसलाई पुनः मर्मतसम्भारको काम गरेर सञ्चालनको तयारी गरिएको नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।

नगर प्रमुख थापाका अनुसार मर्मत गर्न यस वर्ष नगरपालिकाले रु १० लाख रकम विनियोजन गरेर काम भइरहेको छ । गत वर्ष राखिएको आलु निकालेपछि गएको वैशाखदेखि नै यहाँको भण्डारण कक्ष प्रयोगविहीन रहेको कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउनुहुन्छ ।

“यहाँ बनाइएको भण्डारण गृहको संरचना आलुबालीलाई लक्षित गरेर तयार पारिएको छ, रामपुरमा धेरै उत्पादन हुने भनेको आलु (खाद्यान्न बालीबाहेक) हो, अन्य तरकारी, फलफूल भण्डारण गृहमा नै राख्नुपर्ने गरेर उत्पादन अहिले छैन, पहिलो वर्ष राखेको केही आलु टुसाएपछि यस वर्ष भण्डारण गृहमा केही सामग्री राखिएको छैन ।”

विसं २०७८ को वैशाखमा निर्माणको काम सम्पन्न गरी शीतभण्डार प्रयोगमा ल्याइएको हो । यहाँ पहिलोपटक रामपुरमा उत्पादन भएको आलु भण्डारण गरिएको थियो । पाल्पा जिल्लाकै सबैभन्दा ठूलो क्षमताको शीतभण्डार निर्माण भएपछि सुरुका समय कृषक उत्साहित भए पनि सुरक्षित भनेर राखिएको ठाउँमा आलु बिग्रन थालेपछि हौसिएका कृषक अहिले निराश बनेका छन् ।

बुटवल, भैरहवालगायतका बाहिरी बजारबाट रामपुरमा भित्रिएका तरकारी निरुत्साहित गर्न र स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै कृषकको लागि बनाइएको संरचना भए पनि राम्रोसँग प्रयोग गर्न नपाएको कृषक धर्मराज ढकालले बताउनुभयो ।

“नेतालाई भाषण गर्ने काम मात्रै भयो, कृषकले उपयोग गर्न पाएनन्, स्थानीय सरकारले यसको रेखदेख र सञ्चालनलाई व्यवस्थित बनाउनुपर्ने हो, संरचना तयार पारेपछि गुणस्तरको छ कि छैन त्यसको परीक्षण नगरिकन प्रयोगमा ल्याउँदा हामीले नराम्रोसँग धोका बेहोर्नुपर्‍यो, कषकले राम्रोसँग प्रयोग गर्न नपाउने भएपछि देखावटीकै लागि मात्रै रामपुरमा राख्नभन्दा अन्यत्र स्थानान्तरण गरेमा प्रयोगमा त आउँला”, उहाँले गुनासो पोख्नुभयो ।

भण्डारगृहभित्रै बिग्रिएको आलुको क्षतिपूर्ति दिने क्रममा पनि सम्बन्धित पक्षले न्यायोचित काम नगरेको उहाँ बताउनुहुन्छ । गत वर्ष भण्डारण गरिएको आलु बिग्रिएपछि आफूले पाउनुपर्ने क्षतिपूर्ति रकमबाट ठगिनुपरेको बताउनुभयो । साढे पन्ध्र क्विन्टल आलु राख्नुभएका ढकालले एक क्विन्टल बिग्रिएकै भए पनि आलु झिक्नुभयो । अन्य आलु सबै बिग्रिएपछि प्रतिबोरा रु दुई हजारका दरले क्षतिपूर्ति दिने भने पनि आफूले साढे १४ क्विन्टलको रु ५६ हजार मात्रै रकम बुझेको ढकाल बताउनुहुन्छ । उहाँले ठेकेदार पक्ष र नगरपालिकाबीच भएको समझदारीअनुसार पाउनुपर्ने रकम रु ५८ हजार पाउनुपर्ने भए पनि दुई हजार रकम कम पाएको बताउनुभयो ।

कृषकको हितका लागि नभई सस्तो लोकप्रियता कमाउन संरचना तयार पारिएको विजयपुर कृषि सहकारी रामपुरका अध्यक्ष ओमप्रकाश रेग्मीले बताउनुभयो । “गत वर्ष राखिएको आलु अस्तव्यस्त बनेपछि मर्मतसम्भार तत्कालै गरेको भए यस वर्ष आलु भण्डारण कार्य हुन्थ्यो, कृषि बाली उत्पादनको समयलाई मध्यनजर गरेर संरचना व्यवस्थित बनाउनुपर्छ, अहिले आएर बल्ल मर्मतको काम भएको भन्ने सुनिएको छ, अर्कोतर्फ कृषकलाई केही सहुलियत पनि छैन, देखाउनकै लागि मात्रै संरचना बनेजस्तो भयो”, उहाँले भन्नुभयो ।

नारायण ढकालले शीतभण्डारमा राखिएको आलु उम्रने र कुहिने भएपछि आफूले पाउनुपर्ने क्षतिपूर्तिबापतको रु २६ हजार रकम नपाएको गुनासो सुनाउनुभयो । उहाँले राखेको १३ बोरा आलुको अहिलेसम्म पाउनुपर्ने रकम नपाएपछि सम्बन्धित निकाय, जनप्रतिनिधि, राजनीतिक दलका अगुवासमक्ष गुनासो राखेकोमा त्यसको सुनुवाइ नभएको बताउनुभयो । शीतभण्डारणको पूर्वाधार तयार भए पनि राम्रोसँग सञ्चालन नभएको, यसको रेखदेख नगरपालिकाले गर्नुपर्ने हो र निर्माणमा ठेकेदारले लापर्बाही गरेको बताउनुहुन्छ, लुम्बिनी प्रदेशसभा सदस्य युवराज खनाल । जुन प्रयोजनका लागि बनाइएको हो त्यसको सही सदुपयोग हुनुपर्ने र तत्काल अनुगमन गरेर नियमितरुपमा सुचारु गर्न सम्बन्धित निकायलाई जानकारी गराउने प्रदेशसभा सदस्य खनालको भनाइ छ ।

कृषि शाखाको परिसरमा लुम्बिनी प्रदेश सरकारको सर्शत अनुदानमा रविना र अभिसा जेभी कन्ट्रक्सन प्रालिले संयुक्तरुपमा रु तीन करोड २६ लाख ७६ हजार पाँच सय ६६ मा ठेक्का सम्झौता गरी निर्माण गरिएको हो यो संरचना । यसमा फरक फरक क्षमताका पाँच कोठा रहेका छन् । साथै दुईतले दशकोठासहितको प्रशासनिक भवन, अपाङ्गतामैत्री शौचालय छ ।

बीउका लागि एक सय क्विन्टल आलु राखेकोमा व्यवस्थापन राम्रो नहँुदा लगानी र मेहनत सबै खेर गएको यमकान्ति गौतम बताउनुहुन्छ । महँगो मूल्यमा उन्नत जातको बीउ खरिद गरेर उत्पादन गरिएको बीउ आलु सबै कुहिएपछि यस वर्ष खायन आलु मात्रै उत्पादन गर्नुभएको छ । उहाँले बर्सेनि भैरहवाको शीतभण्डारमा बीउ आलु भण्डारणका निम्ति लैजाने गर्नुहुन्थ्यो । आफ्नै गाउँमा संरचना भए पनि राम्रो व्यवस्थापन नहुँदा भण्डारणमा कृषक मारमा परेको गौतमले बताउनुभयो । पहिलो वर्ष नगरपालिकाले शीतभण्डार सञ्चालनका लागि बोलपत्रमार्फत रम्भा गाउँपालिका–१ हुँगीका भगवती अधिकारी न्यौपानेलाई रु दुई लाख पाँच हजारमा एक वर्षको लागि सम्झौता गरेको थियो ।रासस

ताजा

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal