पशुआहारका लागि पोषिलो ‘साइलेज’को प्रयोग

फाइल तस्वीरः

पाल्पा,२ भदौ– सीताराम गौतमले पहिलो पटक गाउँकै उद्योगमा उत्पादन भएको ‘साइलेज’ बाख्रालाई खुवाउन सुरु गर्नुभयो । साइलेज )मकै र घाँसलाई मेसिनबाट गुन्द्रुक बनाइएको पशुआहार) खुवाउन सुरु गरेपछि बाख्रा हृष्टपुष्ट हुँदै गए । 

रामपुर नगरपालिका–७ का गौतमले सुरुमा करिब तीन क्विन्टल साइलेज खरिद गर्नुभयो । बाख्रालाई पोषिलो आहार अति उत्तम ठानेपछि पुनः दोस्रो पटक दोब्बर खरिद गर्नुभयो । अहिले उहाँले नियमितरुपमा आफ्ना फार्ममा रहेका ७० बाख्रालाई साइलेज खुवाउनुुहुन्छ । 

“गत वर्षदेखि नियमितरुपमा बाख्रालाई साइलेज खुवाउने गरेको छु, बाख्राको तौल बढ्दै गएको छ, पोषिलो साइलेज पशुआहारका लागि अत्यन्तै राम्रो छ, यसको सेवनले पशुपालन गरेका कृषकले राम्रो फाइदा लिँदैछन्”, उहाँले भन्नुभयो ।

रामपुरमा नै साइलेज उत्पादन हुन थालेपछि पशु आहार आपूर्तिका लागि सहज भएको र यसप्रति सथानीयले उद्योगमा पुगेर जानकारी लिने गरेको अगुवा भैँसीपालक कृषक कृष्णकुमार अर्याल बताउनुहुन्छ । अर्यालले यसअघि प्रतिकिलो रु १५ का दरले भारतको पञ्जाबबाट साइलेज खरिद गरेर पशुुलाई खुवाउने गर्नुहुन्थ्यो । अहिले गाउँमै गुणस्तरीय साइलेज खरिद गर्न पाउँदा आर्थिक भार कम परेको उहाँको भनाइ छ ।      

यहाँ उद्योग सञ्चालन भएपछि स्थानीयले काम गर्ने अवसर पाएका छन् । उद्योग चलेको अवस्थामा दैनिक १५ देखि २० कामदारले काम गर्ने गरेका छन् । विष्णुमाया पौडेल गाउँमै रहेको उद्योगमा काम गर्ने अवसर पाउँदा खुसी हुनुहुन्छ । उहाँका श्रीमान् वैदेशिक रोजगारमा हुनुहुन्छ । उद्योगमा काम गरेपछि छोराछोरी र घरखर्च चलाउन समस्या नभएको उहाँ बताउनुहुन्छ । उहाँले यहाँको उद्योगमा बिहानदेखि साँझसम्म काम गर्नुहुन्छ ।

 पौडेलले मकै, नेपिएर घाँस काट्ने, बोक्नेलगायतका काम गरेबापत एक घण्टाको रु ७५ ज्याला बुझ्नुहुन्छ । उहाँ उद्योगमा काम चलेका बखत दैनिक १२ देखि १५ घण्टा काम गर्नुहुन्छ । “ उद्योगले रोजगार दिएको छ, दुई चार पैसा कमाउने माध्यम बनेको छ, यहाँ काम गर्न थालेपछि अरुसँग आश्रित हुनुपरेको छैन, आफूले जति धेरै समय काम गर्न सकियो त्यति नै धेरै पैसा कमाइन्छ”, उहाँले भन्नुभयो ।

फूलमाया कुमाल पनि घरायसी काम सकाएर श्रीमान्सँगै यस उद्योगमा खटिनुहुन्छ । उहाँले साइलेज उत्पादन नभएका समय भने भवन निर्माण सम्बन्धि काम गर्नुहुन्छ । समयको सदुपयोगका साथै आयआर्जन गर्न सकिएको कुमाल बताउनुहुन्छ । 

उद्योग सञ्चालन भएपछि मकै काट्ने, बोक्ने, मेसिनमा राख्ने, उत्पादित साइलेज भण्डारण गर्नेलगायत काम पाएपछि स्थानीय उत्साहित छन् । स्थानीयलाई रोजगार दिन सदरमुकामदेखि टाढाको रामपुरमा जिल्लामै ठूलो साइलेज उद्योग सञ्चालन गरेको सञ्चालक रामप्रसाद पोखरेल बताउनुहुन्छ । 

“पशुआहारका लागि साइलेज अति राम्रो छ,  बजारका ठूला फार्मबाट माग आउने गरेको छ, ढुवानी गर्न भने समस्या छ, पेट्रोलियम पदार्थको महँगीले अघिल्ला वर्षमा जस्तो बजार पाउन सकेको छैन”, उहाँले भन्नुभयो । उद्योग चलाउन रामपुरका विभिन्न स्थानमा गरी करिब चार सय ८० रोपनी जग्गा भाडामा लिएर मकै र नेपिएर घाँस लगाइएको छ । सदरमुकाम तानसेन, रुपन्देही, पोखरा, स्याङ्जा, तनहुँ, काठमाडौँ, चितवन, पर्सा, नवलपरासी, वीरगञ्जलगायत सहरमा साइलेज खपत हुने गरेको छ । मकैको प्रतिकिलो रु १४ र नेपिएर घाँसको रु ११ मा साइलेज उद्योगबाटै बिक्री हुन्छ ।

चार वर्ष अघि लुम्बिनी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको रु २५ लाख र कामधेनु गाईफार्मको  रु २५ लाखको लागतमा साइलेज उत्पादन थालिएको हो । उद्योगमा हालसम्म करिब रु एक करोड ५० लाखभन्दा बढी लगानी भएको सञ्चालकको भनाइ छ ।  

साइलेज उत्पादन थालेपछि अब यस क्षेत्रमा बाँझिएका जग्गाको सदुपयोग हुन थालेको छ । यहाँ उत्पादन भएको साइलेज लुम्बिनी प्रदेशभर खपत गर्ने लक्ष्यअनुरुप उत्पादन भइरहेको सञ्चालक बेदप्रसाद बञ्जाडे बताउनुहुन्छ । साइलेज भन्नाले पोषणतत्व कायमै रहने गरी हरियो घाँसलाई सुकाएर राख्ने प्रविधि हो । यो प्रविधिले बाह्रैमास हरियो घाँस पशुलाई उपलब्ध गराउन सहयोग पुग्नेछ । पशुआहारका लागि राम्रो मानिने साइलेज रामपुर नगरपालिकामा उद्योग नै सञ्चालन गरी उत्पादन थालिएको हो । 

 साइलेज पशुलाई खुवाएमा दूध उत्पादनमा वृद्धि हुने र पशुको नश्ल सुधार हुने बताइन्छ । सुक्खायाममा घाँसको अभावमा दूध उत्पादन घट्ने हुँदा पहिले नै तयार पारेर राखेको साइलेज पशुआहारका लागि अत्यन्त उपयुक्त हुने गरेकोले ठूला तथा साना पशु व्यवसायीका लागि सहज भएको छ । दैनिक दुई किलो साइलेज पराल, दानापानीमा मिलाएर पशुलाई खुवाउन सकिन्छ । सुक्खा मौसममा हरियो घाँसको अभाव हुने हुँदा साइलेज बनाएर राखियो भने पशु आहाराका लागि उत्तम मानिन्छ । यो उत्पादन गरिएको एक वर्षसम्म प्रयोग गर्न सकिन्छ ।

 दुई महिनासम्म प्लाष्टिकमा भण्डारण गरेर हावा नपस्ने गरी राखिएको साइलेज दुई महिनापछि मात्र पशुलाई खुवाउने गरिन्छ । घोगा लागेको मकैको बोट साइलेजका लागि उत्तम मानिन्छ भने टियो सेन्टी, नेपिएर नामक घाँसबाट पनि बनाउने गरिन्छ । 

साइलेज खुवाएको पशुबाट प्रशस्त दूध उत्पादन, पशु वृद्धि, पोषणयुक्त हुने हुँदा ठूला पशुफार्मले अनिवार्यजसो नै प्रयोग गरिरहेको सञ्चालकको भनाइ छ । आमाको दूध खाँदै गरेका बाच्छाबाच्छी तथा पाठापाठीबाहेक यो भेडा, बाख्रा, गाईभैँसीलाईसमेत खुवाउने गरिन्छ ।रासस

ताजा

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

२०८३ जेष्ठ ५ गते, मंगलवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal