राजनीतिमा युवा चुनौती

नागरिकले राजनीतिमा युवाको बाहुल्य चाहेको छ। राजनीतिको नेतृत्वसम्म आइपुग्न युवालाई कस्ता चुनौती छन् भन्ने विषयमा बहस गर्न भने कोही तयार छैनन्। राजनीतिक नेतृत्व आफँैमा असल कामको श्रेय र खराब कामको अपनत्व लिन सक्ने चुनौतीपूर्ण जिम्मेवारी हो । त्यस्ता चुनौतीपूर्ण जिम्मेवारी हासिल गरी उपलब्धिमूलक कार्यसम्पादन गर्न सक्ने काविल युवा राजनीतिमा कसरी प्रवेश गर्न सक्छन् भन्ने चासो र चिन्ता सर्वव्यापी छ। 

बदलिँदो समय–परिवेशको राजनीतिक र शासकीय परिदृश्य, विकसित नयाँ प्रविधि, नयाँ ऊर्जा, उदार भावनाको प्रतिनिधित्व गर्न सक्ने युवा राजनीति हुँदै शासन प्रक्रियामा आउँदा सकारात्मक परिवर्तनको अपेक्षा गर्न सकिन्छ । नेपालमा त्यो व्यवहारमा देखिन सकिरहेको छैन । राज्यका हरेक अङ्गमा युवाको हस्तक्षेपकारी भूमिकाको आवश्यकतामाथि बहस जारी छ । क्षमता, योग्यता, ऊर्जा सबै हिसाबले तयार भए पनि युवाले उपयुक्त भूमिका पाउन नसकेको आमगुनासो छ । स्थानीय तहको निर्वाचनमा ४२ प्रतिशत जनप्रतिनिधि ४० वर्षमुनिका युवा उम्मेदवार थिए, कुल निर्वाचित मध्येबाट (२१ देखि ४० वर्ष उमेर समूह) करिब ४१ प्रतिशत युवा निर्वाचित भएका छन् । यो सकारात्मक पक्ष हो तर यही अनुपातमा प्रदेश र सङ्घीय निर्वाचनमा समेत उम्मेदवारी र निर्वाचित हुन युवामाझ धेरै चुनौती छन्। 

समयानुकूल वैचारिक चुनौती 

समयानुकूल राजनीतिक परिदृश्यलाई सूक्ष्म ढङ्गले अध्ययन, अनुगमन र मूल्याङ्कन गरी सैद्धान्तिक र व्यावहारिक पक्षको विश्लेषणबाट दिगो र सार्थक रूपान्तरणमा प्रभाव पार्न सक्ने वैचारिक धारणा बनाउन नसक्नु युवामा देखिएको मुख्य चुनौती हो। राजनीतिमा लागेका पछिल्ला युवा पुस्तामा अध्ययन, अनुसन्धान र विश्लेषण गरी वैचारिक स्वच्छ बहस गर्ने बानीको अभाव छ। डिजिटल पुस्ताका रूपमा परिचित रहेका युवा लिटरल विधामा भने खासै पोख्त देखिँदैनन्। विचारविहीन युवाको त्यो झुण्ड कतातिर होमिने हो भन्ने कुनै सुस्पष्ट मार्ग देखिँदैन।

सन् १९६५ मा मलेसियाबाट छुट्टिएर स्वतन्त्र हुँदा सिङ्गापुरका प्रधानमन्त्री लि क्वान यु ३५ वर्षका थिए। कठिन परिस्थितिका माझ नेतृत्वदायी भूमिका लिँदै भू–राजनीतिक, सामरिक, सैन्य रणनीति, शासकीय चुनौतीपूर्ण अवस्थामा देशलाई अगाडि बढाएका थिए। जसकारण अहिले समृद्ध र सु–सम्पन्न मुलुकका रूपमा 

सिङ्गापुर देखिएको हो। नेपालकै सन्दर्भमा समेत बीपी कोइराला र मदन भण्डारीले युवा अवस्थामै राजनीतिक चेतनासहितको विचार विकसित गर्नुभएको थियो। त्यही विचारको प्रचार, प्रसार, बहस, मन्थन साथै कार्यान्वयनमा लाग्नुभयो। त्यसैले त आज पनि उहाँहरू सम्मानित र सर्वमान्य हुनुहुन्छ। उहाँहरूले त्यही विचारको सिद्धान्तलाई जनतासँग राजनीति र शासन व्यवस्थालाई जोड्नुभयो, त्यो जीवन्त पनि देखियो। 

एकातर्फ युवामा समयअनुसारको विचार बनाउन अझै चुनौती देखिन्छन्। अर्कातर्फ, आफ्ना अग्रज नेताले प्रतिपादन गरेका विचार पनि अङ्गीकार गर्न सकेका छैनन्। आजका युवा वैचारिक दृष्टिकोणबाट पिल्सिएका छन्। बीपी कोइरालाले प्रत्युत्पादन गरेको नेपाली मोडेलको मौलिक समाजवाद नेपाली कांग्रेसले आफ्नो मूल नीतिका रूपमा अङ्गीकार गर्न खोजे पनि युवा अझै उक्त वैचारिक विषयबारे गहन मन्थन गरी दीक्षित हुन सकिरहेको छैन। त्यस्तै, मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई नेकपा एमालेले पनि अर्थपूर्ण रूपमा अभ्यास गर्दै युवालाई यसमा समावेश गर्न सकिरहेको छैन।   

नेतृत्वदायी भूमिकामा चुनौती

नेपालको राजनीतिको मियोका रूपमा लामो समयदेखि नै छ दशक पार गरेका व्यक्तिकै हालिमुहाली छ। समयक्रमअनुसार युवा नेतृत्वको परिकल्पना आम नागरिकले गरे पनि चाहनाअनुकूल हुन सकेका छैनन्। राजनीतिमा लागेका युवाको चुनौतीका चाङ थपिँदै गए पनि युवा आफैँले हस्तक्षेपकारी भूमिका भने खेल्न नसकेको आरोप पनि उत्तिकै चर्को बहसका रूपमा सुनिन्छन्। राजनीतिक इतिहासमा ३० वर्षे पञ्चायत र एक दशकको ‘जनयुद्ध’ साथै बाँकी शान्ति प्रक्रियाको सङ्क्रमणकालीन अवस्था, राजनीतिक र प्रशासनिक रूपान्तरणको ढिलासुस्तीका कारण समयक्रमअनुसार पुस्तान्तरणमा केही उल्झन भने थपिएकै हुन्। जसको प्रत्यक्ष प्रभाव अहिलेका युवापुस्ताका राजनीतिकर्मीमा परेको देखिन्छ। 

राजनीतिक दलका भातृ सङ्गठनमा युवाका नेतृत्व र सक्रियता बढेको देखिन्छ। नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुु, नेकपा माओवादीबाट अखिल क्रान्तिकारीमा महिला नेतृत्व आएका छन्। नेपाली कांग्रेसका भातृ सङ्गठन नेविसङ्घ र तरुण दलको सभापतिमा भने युवा मनोनित भएका छन् तर पनि उनीहरूको नेतृत्वदायी भूमिका भने रचनात्मकता भन्दा पनि आन्दोलनको अग्रमोर्चा सम्हाल्ने मात्र देखिन्छ। युवाले समाज रूपान्तरणमा कलात्मक भूमिका निर्वाह गर्न सक्छन् भन्ने स्वयं उनीहरूले जान्दाजान्दै पनि गर्न सकिरहेका छैनन् भने अग्रज नेताले उनीहरूलाई त्यसतर्फ परिचालन गर्न पनि सकिरहेका छैनन्। 

राजनीतिमा अस्वाभाविक अस्थिर क्रिया, अप्रत्याशित परिवर्तन र भविष्यको अनिश्चिताका चुनौतीका कारण अझै पनि मेधावी युवा राजनीतिमा आकर्षित हुन सकेको छैनन्। एकातर्फ, प्राय लास्ट वेन्चर्सले, फ्रस्ट र समग्र व्यवस्थाको नेतृत्व गर्नुपर्ने अवस्थामा समयानुकूल नेतृत्वको विकास, निर्णयात्मक क्षमता, राजनीति र समसामयिक कुशलता, आधुनिक युवा मानसिकताको क्रिया, स्पष्ट कार्ययोजनाको अभाव देखिन्छ अहिलेका पुस्तामा। अर्कोतर्फ, समयमा वैधानिक रूपमा पार्टी र तिनका भ्रातृ सङ्गठनका अधिवेशन नहुनाले पनि विगतका दशकदेखि नै पाका पुस्ताकै हालिमुहाली युवाले खेप्नुपरेको छ। 

व्यक्तित्व र आर्थिक चुनौती 

राजनीतिमा इमानदार, नैतिक र सक्षम व्यक्तिभन्दा धेरै सामाजिक इज्जतबाट स्खलित र मूल्यमान्यताभन्दा बाहिरका व्यक्तिका कारण राजनीतिलाई सेवाको भाव ठान्नेहरूलाई बाधा परेको देखिन्छ। सेफर वल्डको केही वर्षअघि प्रकाशित प्रतिवेदनमा विश्वभरि नै इमानदार राजनीतिको खडेरी र सौदावाजपूर्ण राजनीति हाबी भएको, युवामा पनि त्यस्तै छाप परेका कारण भावी राजनीतिमा समेत त्यस्ता लक्षण देखिन सक्ने प्रारम्भिक अनुमान गरेको थियो। 

नेपालको राजनीतिमा युवाको सहभागिताका सन्दर्भमा युएनका पछिल्ला प्रतिवेदमा गरिएका विश्लेषणका अनुसार पनि नीति निर्माण, निर्णयात्मक भूमिका, निर्णय कार्यान्वयन, प्रतिफलको न्यायोचित वितरणमा युवाको क्रमिक रूपमा प्रतिनिधित्व सुनिश्चित हुँदै गए पनि त्यसले अपेक्षित नतिजा भने ल्याई नसकेको र अझै चुनौतीपूर्ण अवस्था रहेको उल्लेख छ। सरकार, संसद् र राजनीतिक दलका केन्द्रीय कमिटीमा निवार्चित युवा प्रतिनिधि जनसङ्ख्याको अनुपातमा अझै पनि निकै कम छन्। सकसपूर्ण आरोह अवरोहका बीच नेतृत्वमा पुगेकाहरूले पनि सन्तोषजनक कार्यसम्पादन गर्न सकिरहेका छैनन्। 

राजनीतिमा युवाको प्रतिनिधित्वमा नब्बेको दशकदेखि नेपालले जस्तै राजनीतिक आरोह अवरोह खेपेका सार्क मुलुकमा बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, अफगानस्तान राजनीतिक अस्थिरतालाई अध्ययन गर्दा आर्थिक पक्ष, युवाको आत्मनिर्भरता र निरन्तरता मुख्य चुनौतीका रूपमा रहेको देखिन्छ। युद्धग्रस्त मुलुक यमनलगायत अफ्रिकन मुलुकमा समेत युवा राजनीतिको शीर्ष तहमा पुग्नका लागि आर्थिक पक्षले मुख्य भूमिका निर्वाह गरेको अध्ययनहरूले देखाएका छन्। विगतका दशकको ‘जनयुद्ध’ हँुदै सङ्क्रमणकालीन परिस्थितिबाट शान्ति प्रक्रिया, संविधान सभाबाट सङ्घीय संरचनासम्म आइपुग्दा नेपालमा पनि युवा राजनीतिका केही सीमित तहमा आइपुग्न चुनौतीपूर्ण अवस्थाको सामना गर्नुपरेको छ। 

राजनीति, समाज र अर्थतन्त्र परिपूरक हुन्छन्, अहिलेको समाजमा युवाको बाहुल्यता छ। राजनीतिमा पनि क्रमिक रूपमा युवा सहभागिता बढ्दै जानु नेपाली समाजले विकल्पको खोजी गरिरहेको प्रतीत हुन्छ। राजनीति र समाजपछि अर्थतन्त्रलाई चलायमान गराउन पनि सक्रिय युवाको भूमिका पृथक् नै छ। त्यो मुलुकभित्रै उद्यमशीलता, रोजगारीमार्फत राष्ट्रिय आयमा होस् अथवा वैदेशिक रोजगारीमार्फत रेमिटेन्स होस्। युवामा राजनीतिलाई गरिखाने बाटोभन्दा पनि अन्य व्यवसायसँगै राजनीतिलाई निरन्तरता दिनु अत्यावश्यक छ। यसले एउटा सकारात्मक सन्देश पनि प्रवाह गर्न सक्छ कि युवा आर्थिक रूपमा आफैँ आत्मनिर्भर छन् भन्नेमा। यो अभ्यास ज्यादै कममा मात्र देखिन्छ। 

पुस्तान्तरणको चुनौती

विश्वको पछिल्लो राजनीतिक परिदृश्य हेर्ने हो भने सन् २०१९ को अन्त्यतिर फिनल्यान्डको प्रधानमन्त्रीमा सबैभन्दा कान्छी सान्ना मरिन ३३ वर्षको उमेरमा पहिलो महिला र देशको छयालीसौँ प्रधानमन्त्री भएर विश्व जगत्मै सकारात्मक ऊर्जा थपिन। न्युजिल्यान्डमा ३९ वर्षको उमेरमा जेसिण्डा अर्डेनले दोस्रो पटक पनि प्रधानमन्त्री पद समालेर देशलाई सुशासन, खुसी साथै व्यवसाय र बसोवासको सुरक्षित देशका रूपमा विश्वको पहिलो नम्बरमा ल्याउन सफल छिन्। साउथ अफ्रिकाको संसद्मा आधाजसो प्रतिनिधि महिला निर्वाचित भएका छन्। 

नेपालमा पनि युवाहरू राजनीतिक नेतृत्वको शीर्ष तहमा पुग्न नसके पनि संवैधानिक र नीतिगत परिवर्तन तथा युथ भिजनको परिकल्पनाले राजनीति, शासन प्रक्रिया, नीति निर्माण तहमा युवाको उपस्थिति बढ्न थालेको सकारात्मक सङ्केत भने देखिन्छ। २०७४ को आम निर्वाचनबाट प्रतिनिधि सभामा १३.०९ प्रतिशत, प्रदेश सभामा २३.६३ प्रतिशत, राष्ट्रिय सभामा ६.७७ प्रतिशत र स्थानीय तहमा ३९.६४ प्रतिशत युवाको प्रतिनिधित्व भएको छ। स्थानीय तह निर्वाचन २०७९ मा करिब ४२ प्रतिशत युवा ४० वर्षमुनिका छन्। विगतको सहभागिता र हालै सम्पन्न स्थानीय तहको निर्वाचनको नतिजाले आगामी सङ्घीय र प्रदेशको निर्वाचनमा समेत युवाको उम्मेदवारी बढ्ने र विजय हुनसक्ने सम्भावना पनि बढेको छ। 

नयाँ पुस्तालाई नेतृत्व पुस्तान्तरण गरी आफ्नो विज्ञता र अनुभवलाई युवा पुस्तामा हस्तान्तरण गर्नुको सट्टा अझै पनि गुटगत, व्यक्तिगत स्वार्थ, पद र शक्तिका पछाडि लागिरहनु पाका र अग्रज नेतागणको क्रियाकलाप नागरिकलाई पनि मन परेको छैन। अर्कातर्फ, यो समय युवा पुस्ताको समय, अवसर र जिम्मेवारी हो भन्ने नारा सबैतिर सुनिन्छ। त्यो भनाइलाई सार्थक रूप दिन युवाका हस्तक्षेपकारी भूमिका कमै देखिन्छ। यसर्थ, राजनीतिक मियोले समग्र मुलुकको रूपान्तरणको रूपरेखा कोरेको हुन्छ। भावी समयका लागि सुशासन र समुन्नतिको रूपरेखा कोर्न अहिले नै राजनीतिमा युवाले उल्लिखित चुनौती सामना गर्ने सामथ्र्य जुटाउनैपर्छ।स्रोतः गोरखापत्र

ताजा

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

२०८३ जेष्ठ ५ गते, मंगलवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal