बुढ्यौलीलाई जितेका १०५ वर्षीय पुर्जा

धु्रवसागर शर्मा

गलेश्वर,१० साउन– दार्शनिक रुसोले ‘प्रकृतिमा आश्रित मानिस कहिल्यै बुढो हुँदैन, प्रकृतिले मानिसलाई सधैँ जवान बनाइरहन्छ’ भनेका थिए । नभन्दै उनको यो उक्तिलाई म्याग्दीको धवलागिरि गाउँपालिका–४ को दुर्गम गाउँ बगरा गाउँका १०५ वर्षीय पनाजु पुर्जाको दैनिकीले पनि सत्य साबित गरिदिनुभएको छ ।

मानिसले भौतिक क्षेत्रमा जति नै ठूलो उन्नति गरेको भए पनि मानसिक शान्ति र शारीरिक स्फुर्तिलाई भने गुमाउँदै गएको वर्तमान समयमा कुनै रोग नलागी ६० वर्ष पार गर्न सक्यो भने ‘धन्य’ मान्नुपर्ने अवस्था छ । तर बगरा गाउँमा धवलागिरि हिमालको जस्तै आभा लिएर बिहान ५ बजे नै घरको आँगनमा निस्केर हिमाल हेर्दै मुसुक्क मुस्कुराउनुहुन्छ पनाजु ।

शौचादी नित्यकर्मपछि घर नजिकै छङ्छङ् गर्दै बगेको अर्जे खोलामा गएर चिसो पानीले मुख धोई घरमा आएर बुहारीले दिएको तातोपानी र चिया पिएपछि एउटा हँसिया खुर्पेटोमा भिरेर जङ्गलतर्फ लाग्नुहुन्छ उहाँ । वल्लोपल्लो घरका छोरा, भतिजा र बटुवाहरुसँग हालखबर बुझ्दै सुस्तसुस्त पाइला अघि बढ्छन् वृद्ध पुर्जाका ।

गाउँ परको खोरियामा बुट्यान र झाडीलाई छिचोल्दै निगालो काटेर भारी बाँध्नुहुन्छ । निगालो काट्दा, भारी बाँध्दा र थकाइ मेटाउँदा करिब तीन घण्टा बित्छ । भारी बोकेर विस्तारै गाउँतिर झर्नुहुन्छ र घरमा पुगेर भारी बिसाएपछि आँगनमा रहेको ठूलो लाम्चो ढुङ्गामा एक छिन सुस्ताएपछि खाना खान घरभित्र पस्नुहुन्छ । दिनभर जङ्गलबाट ल्याएको निगालोको चोया बनाउन सुरु गर्नुहुन्छ ।

पुर्जाले चोयाबाट भकारी, मान्द्रो, डोकोलगायत घरायसी कृषि सामग्रीहरु बुनेर उनले बुढ्यौलीलाई भुलाइरहनुभएको मात्र छैन केही आम्दानी पनि गरिरहनुभएको नाति होमबहादुर बताउनुहुन्छ । पुर्जाको दैनिकी देखेर यहाँ पुग्ने पर्यटकहरुले उहाँको तस्वीर लिन्छन् । उपहार दिन्छन् र उहाँको प्रशंसासहित सुस्वास्थ्यको कामना गर्ने गर्छन् ।

 बिहानको खानामा उहाँले सधैँ कोदो, मकै, गहुँ, जौको पीठोबाट बनाइएको ढिँडो उहाँको आहारा हो । ढिँडोसँगै उहाँलाई गेडागुडीको झोल र मोही अनिवार्य चाहिने पुर्जाका नाति होमबहादुर पुर्जाले बताउनुभयो । पुर्जा अझै पनि उकालो बाटो ठमठम हिँडेर जङ्गल र गाउँ बेँसीमा गर्नुहुन्छ । उहाँ एकछिन पनि बेफुर्सद हुन चाहनु हुन्न ।

आज बिहान रासससँग मोबाइलमा कुरा गर्दै १०५ वर्षीय पनाजुले भन्नुभयो, “उमेर ढल्के पनि अझ धेरै बाँचुम्बाँचुम् लाग्दो रै छ ।” उमेरले ६० वसन्त पार गरेपछि मानिसहरु बुढ्यौली लाग्यो भनेर आफूले गर्दै आएका कामप्रति रुचि घटाउँछन् र विस्तारै निष्क्रिय जीवनतिर लाग्छन् । तर उहाँले आफ्नो बुढ्यौलीलाई जितेर ढिकीजाँतो, मेलापात गर्नाका साथै वनजङ्गलबाट निगाला ल्याई घरायसी कृषि सामग्रीहरु बनाउने काममा व्यस्त रहनुहुन्छ ।

आफूलाई भेट्न आएका मानिससँग कुरा गर्दै काम गरिरहने पुर्जा कसैसँग कहिल्यै पनि नरिसाउने र रुखो नबोल्ने त्यसै गाउँका देवान छन्त्यालको भनाइ छ । उहाँलाई आफ्नो जीवन गोठ, जङ्गल र खर्कमा नै बितेकाले यसैमा आनन्द लाग्दछ । नाति होमबहादुरले भन्नुभयो, “नपुग्दो केही छैन, सबै चीज छ । तर हातखुट्टा चलुन्जेलसम्म काम गर्न छोड्नु हुँदैन भनेर काम गरिरहनुहुन्छ ।”

उहाँलाई अहिलेसम्म सामान्य रुघाखोकीबाहेक अरू जटिल कुनै रोग छैन । पछिल्लो समय कान अलि कम सुन्ने गर्नुभएका उहाँलार्ई अरू कुनै स्वास्थ्य समस्या छैन । उहाँले भन्नुहुन्छ, “जहिलेसम्म शरीर चल्छ, त्यतिबेलासम्म काम गर्न छोड्दिन, शरीर चल्नै छोड्यो भने त के गरी काम गर्ने हो र रु” कहिलेकाहीँ अलि दम बढेको जस्तो भयो भने उहाँ आफैँ जङ्गली लहरालाई थिचेर झोल बनाई पिउने गर्नुहुन्छ ।

गत जेठदेखि १०५ वर्षमा प्रवेश गर्नुभएका पनाजुको बालापन, युवावस्था र ८५ वर्षसम्मको वृद्धवय गाई भैँसीसँग गोठ बसेर धवलागिरि हिमालको फेदीमा रहेका खर्कहरुमा बित्यो । जङ्गली कन्दमूल, आँटो पीठो र दूध, दही, घीउ खाएको तन्दुरुस्त जीउ भएका पुर्जाको अनुहार चाउरिएर बुढ्यौलीको परिचय दिए पनि उहाँको जोस, मिजासिलो स्वभाव, हँसिलो व्यक्तित्व र जाँगरिलो आनीबानीले युवापनको आभास दिलाइरहने उहाँलाई चिन्नेहरु बताउँछन् । पचासी वर्षको उमेरसम्म खादीका कपडा मात्रै लगाउनुभएका पुर्जाले अहिले भने छोरा नातिले ल्याइदिएका न्याना कपडा लगाउने गर्नुभएको छ ।

पाँच छोरी र तीन छोराका पिता पनाजुकी श्रीमती ओममती अहिले ८६ वर्षकी हुनुभयो । लोग्नेभन्दा १९ वर्षले कान्छी ओममती घरको सबै काम गर्नुहुन्छ । खाना पकाउने, खुवाउने, भाँडा सफा गर्ने, श्रीमान्का कपडा धोइदिने सबै काम गर्न सक्नुहुन्छ । उहाँका छोरातर्फका १२ नातिनातिनी छन् । उनीहरु कोही अध्ययनका लागि सहरमा छन् त कोही रोजगारीका लागि विदेशमा ।रासस

ताजा

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal