अफगानिस्तानबाट अमेरिकी बहिर्गमन, अर्थात भियतनाम भाग- २

विराट अनुपम

बीस वर्षअगाडि अमेरिका काबुल छिर्‍यो, तालिवानको भागाभाग भयो । २० वर्षपछि तालिवान काबुल छिर्‍यो, अमेरिकाको भागाभाग भयो ।

सन् २००१ सेप्टेम्बर ७ मा अमेरिकी विमानले काबुलमा बम बर्साएका थिए । त्यसको दुई दशकको सेरोफेरोमा तालिवान काबुल फर्किए । अमेरिकाले आफ्ना नागरिक र कर्मचारीलाई हवाई उद्धार गरेर लग्यो ।

बीस वर्षअगाडि यस्तो होला भन्ने कल्पना कसैलाई थिएन । सायद यही कारण हुनसक्छ, तालिवान नेताहरू आफूहरूले अमेरिकालाई जितेको दावी गर्दैछन् । चार महिनाअगाडि नै बीबीसीसँग अफगानिस्तानको बाल्क जिल्लाका तालिवानी छायाँ मेयर हाजी सिक्मतले भनेका थिए, ‘हामीले युद्ध जित्यौँ । अमेरिकाले हार्‍यो ।’

सिक्मतले भनेका कुरा अमेरिकी तथ्यांकले पनि एक हदसम्म पुष्टि गर्छन् । हार्भर्ड विश्वविद्यालयको केनेडी स्कूलकी लिन्डा बिल्म्स र ब्राउन विश्वविद्यालयको कस्ट्स् अफ वार प्रोजेक्टको तथ्यांक हेरौँ । अमेरिकी समाचार एजेन्सी एपीले यही तथ्यांक साभार गरेर समाचार बनाएको छ । जसअनुसार सुरक्षा दस्ताको हताहती तथ्यांक यस्तो छ :-

अमेरिकी सैनिकहरूको मृत्यु संख्या : २४४८

अफगान सेना तथा प्रहरीको मुत्यु संख्या : ६६,०००

न्याटोलगायतका अन्य अमेरिकी साझेदारी सैनिकको मृत्यु संख्या : ११४४

तालिवान र अन्य विपक्षी लडाकुको मृत्यु संख्या : ५१,१९१

सैन्य तथा प्रहरीको मृत्यु संख्या हेर्दा अमेरिकी, युरोपेली तथा अफगान सरकारका तर्फबाट एकमुष्ट संख्या ६९ हजार ५ सय ९२ हुन्छ । तालिवान र अन्य विद्रोही लडाकुको संख्या ५१ हजार १ सय ९१ मात्रै छ । यो आँकडाले पनि तालिवान तथा अन्य विद्रोहीको मृत्यु संख्या सत्ताधारीको भन्दा १८ हजार ४ सय १ थोरै देखिन्छ । अर्थात सैन्य मोर्चामा अमेरिकी तथा अफगानी सत्ताधारीको धेरै क्षति भएको छ ।

७२ जना पत्रकार, ४४४ सहायताकर्मीहरू, ३८४६ अमेरिकी ठेकेदारदेखि ४७,२४५ अफगान नागरिक मरेका छन् । यो आँकडाले गैरसैन्य पक्षको मृत्यु संख्या ५१ हजार ६ सय ७ देखिन्छ । यो हताहतीको मुख्य नोक्सानी सत्तापक्षकै मान्नुपर्छ । किनभने नागरिकहरूको जीउधन रक्षाको प्रमुख नेतृत्व राज्यकै हो । सत्ताकै हो ।

अब आर्थिक पक्षको कुरा गरौँ । करिब दुई दशक लामो युद्धमा अमेरिकाको प्रत्यक्ष खर्च २ ट्रिलियन अमेरिकी डलर भनिएको छ । यो भनेको २० खर्ब अमेरिकी डलर हो । यो सानो रकम होइन । अहिलेको सटही दर ११८.८१ ले नेपालीमा रूपान्तरण गर्दा यो २३७६.२ खर्ब नेपाली रूपैयाँ हुन आउँछ । साढे १६ खर्बमात्रै वार्षिक बजेट भएको नेपालका लागि यो १४४ बर्ष पुग्ने रकम हो ।

हुन त बालमृत्यु दर घटाएर ५० प्रतिशत पुर्‍याएको देखि अफगानिस्तानका ३७ प्रतिशत महिलाहरू पढ्नसक्ने हुनु आफ्नो उपलब्धी भएको अमेरिकी दावी छ ।

भियतनाम भाग- २

दोस्रो विश्वयुद्धपछि एसियाका विभिन्न युद्ध मोर्चामा सहभागी भयो अमेरिका । सन् १९५० देखि १९५३ सम्म भएको कोरियाली युद्ध, सन् १९५५ देखि १९७५ सम्मको भियतनाम युद्ध, सन् २००१ को अफगानिस्तान युद्ध र सन् २००३ को इराक युद्धमा अमेरिका सहभागी थियो ।

यी चार मुख्य युद्धमध्ये दुई युद्धमा अमेरिका विजयी भयो । कोरियाली युद्धमा उसले आफ्नो लाइनको दक्षिण कोरिया बनाउन चाहेको थियो । बनायो । इराक युद्धमा सद्दाम हुमेनको सत्ता ढाल्न खोजेको थियो । ढाल्यो ।

भियतनाम र अफगानिस्तानमा भने अमेरिकी मिसन सफल हुन सकेन । ओसामा बिन लादेन मारिए पनि तालिवानलाई निमिट्यान्न पार्न अमेरिका असफल भयो । ठीक यसैगरी भियतनाममा दक्षिणी भियतनाम दक्षिण कोरियाजस्तै बनाउने अमेरिकी अभियान असफल भयो ।

भ्वाइस अफ अमेरिकाका अनुसार सन् १९७३ को मार्च २९ मा अमेरिकाले लडाकु दस्ता फिर्ता लगेको थियो । त्यसको ठीक दुई वर्षपछि सन् १९७५ मा उत्तर र दक्षिण भियतनाम एक भयो । एक भयो भन्दा पनि कम्युनिष्ट उत्तरको कब्जामा आयो । र, सन् १९७५ को अप्रिल ३० मा बाँकी रहेका अमेरिकिलाई सैगुन क्षेत्रबाट हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

सन् १९७५ अप्रिल ३० मा अमेरिकी नागरिकलाई सैगुन (अहिलेको हो चि मिन्ह्) शहरबाट नागरिकलाई हेलिकप्टरबाट उद्धार गरिएको र आइतबार काबुलबाट गरिएकोलाई अमेरिकीहरूले एकै भएको तुलना गरेका छन् । ४६ वर्षअगाडि सैगुनबाट जस्तै आइतबार काबुलबाट उद्धार हुनेहरूको तस्बिर एकैजस्तो देखिएकोले यस्तो तुलना भएको हो ।

सैगुन र काबुलको व्यापक तुलना भएपछि अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिङ्कनले आइतबार अमेरिकी च्यानल एबीसीको ‘दिस विक’ कार्यक्रममा बोल्दै खण्डन गरेका थिए । दी गार्जियनका अनुसार ब्लिङ्कनले २० वर्षअगाडिको ९/११ आक्रमण गर्नेलाई तह लाउने लक्ष भएकोले त्यो लक्ष भेटेको भन्दै बचाउ गरेका थिए ।

अमेरिकाको भियतनामा युद्ध धेरै अलोकप्रिय युद्ध हो । यूएसए टुडेको एक तथ्यांकअनुसार ५८ हजार २ सय २० अमेरिकी सैनिकहरूको मृत्यु भएको थियो । आर्थिक क्षेत्रमा समेत ठूलो क्षति भएको थियो । सन् १९६८ को कुल गार्हस्थ उत्पादनको २.३ प्रतिशत खर्च भएको सन् २०१९ मा सार्वजनिक भएको यूएसए टुडेको तथ्यांक छ ।

यसरी झन्डै बीस बर्षको अफगानिस्तान युद्ध र साँढे उन्नाइस बर्षको भियतनाम युद्ध अमेरिकाले एसियामा पाएको ठुलो झट्का हो । ४६ बर्षअगाडि कम्युनिष्टसँग युद्धबाट बाहिरिएको अमेरिकाले ४६ बर्षपछि धार्मिक कट्टरपन्थीहरूसँगको युद्धबाट पनि विश्राम लिएको छ ।

यसरी जत्ति नै तर्क गरेपनि अफगानिस्तान युद्ध अमेरिकाको लागी भियतनाम युद्ध भाग २ भएको छ । र, यही खालको तर्क अमेरिकीहरूले आफैं गर्न थालेका छन् । विदेश मन्त्रीले बचाउ गर्न एबीसी च्यानलमा बोल्नु परेको छ ।स्राेत:नेपालप्रेस

ताजा

माघे सङ्क्रान्तिमा सेतीवेणीमा भक्तजन

२०८१ माघ १ गते, मंगलवार

माघे सङ्क्रान्तिमा सेतीवेणीमा भक्तजन

२०८१ माघ १ गते, मंगलवार

विरुवा गाउँपालिकामा जनतासँग जनप्रतिनिधी, जेष्ठ नागरिकलाई सम्मानमा

२०८१ माघ १ गते, मंगलवार

विरुवामा छातीरोग सम्बन्धी शिविर

२०८१ पुष २९ गते, सोमबार

भूमि समस्या समाधान आयाेग स्याङ्जाकाे अध्यक्षमा तारा शर्मा

२०८१ पुष २९ गते, सोमबार

प्रेस सेन्टर स्याङ्जाको अधिवेशन सम्पन्न, अध्यक्षमा केपी खनाल

२०८१ पुष २९ गते, सोमबार

हरिनास गाउँपालिकाद्वारा स्थानीय मदिराको ब्राण्डीङ संगै एकल पुरुषलाई भत्ता

२०८१ पुष २९ गते, सोमबार

एमाले वालिङद्वारा अभिमुखिकरण कार्यक्रम सम्पन्न

२०८१ पुष २८ गते, आईतवार

‘उच्च शिक्षा मापदण्ड ऐन ल्याएर मात्र थप विश्वविद्यालय’

२०८१ पुष २५ गते, बिहीबार

रास्वपाका सभापति लामिछानेसहित छ प्रतिवादीले बुझाए धरौटी

२०८१ पुष २५ गते, बिहीबार

चलचित्र ‘गुरु आमा’को पहिलो पोस्टर सार्वजनिक

२०८१ पुष २५ गते, बिहीबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal