अफगानिस्तानबाट अमेरिकी बहिर्गमन, अर्थात भियतनाम भाग- २

विराट अनुपम

बीस वर्षअगाडि अमेरिका काबुल छिर्‍यो, तालिवानको भागाभाग भयो । २० वर्षपछि तालिवान काबुल छिर्‍यो, अमेरिकाको भागाभाग भयो ।

सन् २००१ सेप्टेम्बर ७ मा अमेरिकी विमानले काबुलमा बम बर्साएका थिए । त्यसको दुई दशकको सेरोफेरोमा तालिवान काबुल फर्किए । अमेरिकाले आफ्ना नागरिक र कर्मचारीलाई हवाई उद्धार गरेर लग्यो ।

बीस वर्षअगाडि यस्तो होला भन्ने कल्पना कसैलाई थिएन । सायद यही कारण हुनसक्छ, तालिवान नेताहरू आफूहरूले अमेरिकालाई जितेको दावी गर्दैछन् । चार महिनाअगाडि नै बीबीसीसँग अफगानिस्तानको बाल्क जिल्लाका तालिवानी छायाँ मेयर हाजी सिक्मतले भनेका थिए, ‘हामीले युद्ध जित्यौँ । अमेरिकाले हार्‍यो ।’

सिक्मतले भनेका कुरा अमेरिकी तथ्यांकले पनि एक हदसम्म पुष्टि गर्छन् । हार्भर्ड विश्वविद्यालयको केनेडी स्कूलकी लिन्डा बिल्म्स र ब्राउन विश्वविद्यालयको कस्ट्स् अफ वार प्रोजेक्टको तथ्यांक हेरौँ । अमेरिकी समाचार एजेन्सी एपीले यही तथ्यांक साभार गरेर समाचार बनाएको छ । जसअनुसार सुरक्षा दस्ताको हताहती तथ्यांक यस्तो छ :-

अमेरिकी सैनिकहरूको मृत्यु संख्या : २४४८

अफगान सेना तथा प्रहरीको मुत्यु संख्या : ६६,०००

न्याटोलगायतका अन्य अमेरिकी साझेदारी सैनिकको मृत्यु संख्या : ११४४

तालिवान र अन्य विपक्षी लडाकुको मृत्यु संख्या : ५१,१९१

सैन्य तथा प्रहरीको मृत्यु संख्या हेर्दा अमेरिकी, युरोपेली तथा अफगान सरकारका तर्फबाट एकमुष्ट संख्या ६९ हजार ५ सय ९२ हुन्छ । तालिवान र अन्य विद्रोही लडाकुको संख्या ५१ हजार १ सय ९१ मात्रै छ । यो आँकडाले पनि तालिवान तथा अन्य विद्रोहीको मृत्यु संख्या सत्ताधारीको भन्दा १८ हजार ४ सय १ थोरै देखिन्छ । अर्थात सैन्य मोर्चामा अमेरिकी तथा अफगानी सत्ताधारीको धेरै क्षति भएको छ ।

७२ जना पत्रकार, ४४४ सहायताकर्मीहरू, ३८४६ अमेरिकी ठेकेदारदेखि ४७,२४५ अफगान नागरिक मरेका छन् । यो आँकडाले गैरसैन्य पक्षको मृत्यु संख्या ५१ हजार ६ सय ७ देखिन्छ । यो हताहतीको मुख्य नोक्सानी सत्तापक्षकै मान्नुपर्छ । किनभने नागरिकहरूको जीउधन रक्षाको प्रमुख नेतृत्व राज्यकै हो । सत्ताकै हो ।

अब आर्थिक पक्षको कुरा गरौँ । करिब दुई दशक लामो युद्धमा अमेरिकाको प्रत्यक्ष खर्च २ ट्रिलियन अमेरिकी डलर भनिएको छ । यो भनेको २० खर्ब अमेरिकी डलर हो । यो सानो रकम होइन । अहिलेको सटही दर ११८.८१ ले नेपालीमा रूपान्तरण गर्दा यो २३७६.२ खर्ब नेपाली रूपैयाँ हुन आउँछ । साढे १६ खर्बमात्रै वार्षिक बजेट भएको नेपालका लागि यो १४४ बर्ष पुग्ने रकम हो ।

हुन त बालमृत्यु दर घटाएर ५० प्रतिशत पुर्‍याएको देखि अफगानिस्तानका ३७ प्रतिशत महिलाहरू पढ्नसक्ने हुनु आफ्नो उपलब्धी भएको अमेरिकी दावी छ ।

भियतनाम भाग- २

दोस्रो विश्वयुद्धपछि एसियाका विभिन्न युद्ध मोर्चामा सहभागी भयो अमेरिका । सन् १९५० देखि १९५३ सम्म भएको कोरियाली युद्ध, सन् १९५५ देखि १९७५ सम्मको भियतनाम युद्ध, सन् २००१ को अफगानिस्तान युद्ध र सन् २००३ को इराक युद्धमा अमेरिका सहभागी थियो ।

यी चार मुख्य युद्धमध्ये दुई युद्धमा अमेरिका विजयी भयो । कोरियाली युद्धमा उसले आफ्नो लाइनको दक्षिण कोरिया बनाउन चाहेको थियो । बनायो । इराक युद्धमा सद्दाम हुमेनको सत्ता ढाल्न खोजेको थियो । ढाल्यो ।

भियतनाम र अफगानिस्तानमा भने अमेरिकी मिसन सफल हुन सकेन । ओसामा बिन लादेन मारिए पनि तालिवानलाई निमिट्यान्न पार्न अमेरिका असफल भयो । ठीक यसैगरी भियतनाममा दक्षिणी भियतनाम दक्षिण कोरियाजस्तै बनाउने अमेरिकी अभियान असफल भयो ।

भ्वाइस अफ अमेरिकाका अनुसार सन् १९७३ को मार्च २९ मा अमेरिकाले लडाकु दस्ता फिर्ता लगेको थियो । त्यसको ठीक दुई वर्षपछि सन् १९७५ मा उत्तर र दक्षिण भियतनाम एक भयो । एक भयो भन्दा पनि कम्युनिष्ट उत्तरको कब्जामा आयो । र, सन् १९७५ को अप्रिल ३० मा बाँकी रहेका अमेरिकिलाई सैगुन क्षेत्रबाट हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

सन् १९७५ अप्रिल ३० मा अमेरिकी नागरिकलाई सैगुन (अहिलेको हो चि मिन्ह्) शहरबाट नागरिकलाई हेलिकप्टरबाट उद्धार गरिएको र आइतबार काबुलबाट गरिएकोलाई अमेरिकीहरूले एकै भएको तुलना गरेका छन् । ४६ वर्षअगाडि सैगुनबाट जस्तै आइतबार काबुलबाट उद्धार हुनेहरूको तस्बिर एकैजस्तो देखिएकोले यस्तो तुलना भएको हो ।

सैगुन र काबुलको व्यापक तुलना भएपछि अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिङ्कनले आइतबार अमेरिकी च्यानल एबीसीको ‘दिस विक’ कार्यक्रममा बोल्दै खण्डन गरेका थिए । दी गार्जियनका अनुसार ब्लिङ्कनले २० वर्षअगाडिको ९/११ आक्रमण गर्नेलाई तह लाउने लक्ष भएकोले त्यो लक्ष भेटेको भन्दै बचाउ गरेका थिए ।

अमेरिकाको भियतनामा युद्ध धेरै अलोकप्रिय युद्ध हो । यूएसए टुडेको एक तथ्यांकअनुसार ५८ हजार २ सय २० अमेरिकी सैनिकहरूको मृत्यु भएको थियो । आर्थिक क्षेत्रमा समेत ठूलो क्षति भएको थियो । सन् १९६८ को कुल गार्हस्थ उत्पादनको २.३ प्रतिशत खर्च भएको सन् २०१९ मा सार्वजनिक भएको यूएसए टुडेको तथ्यांक छ ।

यसरी झन्डै बीस बर्षको अफगानिस्तान युद्ध र साँढे उन्नाइस बर्षको भियतनाम युद्ध अमेरिकाले एसियामा पाएको ठुलो झट्का हो । ४६ बर्षअगाडि कम्युनिष्टसँग युद्धबाट बाहिरिएको अमेरिकाले ४६ बर्षपछि धार्मिक कट्टरपन्थीहरूसँगको युद्धबाट पनि विश्राम लिएको छ ।

यसरी जत्ति नै तर्क गरेपनि अफगानिस्तान युद्ध अमेरिकाको लागी भियतनाम युद्ध भाग २ भएको छ । र, यही खालको तर्क अमेरिकीहरूले आफैं गर्न थालेका छन् । विदेश मन्त्रीले बचाउ गर्न एबीसी च्यानलमा बोल्नु परेको छ ।स्राेत:नेपालप्रेस

ताजा

नेकपा एमाले स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ द्वारा संकल्प पत्र सार्वजनिक, सुशासन देखि आँधिखोला हाईड्म–कालीगण्डकी नदिमा जल यातायात सम्म

२०८२ फाल्गुन ५ गते, मंगलवार

नेकपा एमाले स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ द्वारा संकल्प पत्र सार्वजनिक, सुशासन देखि आँधिखोला हाईड्म–कालीगण्डकी नदिमा जल यातायात सम्म

२०८२ फाल्गुन ५ गते, मंगलवार

नेपाली कांग्रेस स्याङ्जाको चुनावी संकल्प पत्रमा सडक विस्तार देखि पर्यटन र प्राविधिक शिक्षा सम्म

२०८२ फाल्गुन ५ गते, मंगलवार

राष्ट्रपति रनिङ शिल्डको उपाधि गल्याङलाई

२०८२ फाल्गुन ५ गते, मंगलवार

कोटेश्वरको ट्राफिक व्यवस्थापन गर्न,अत्याधुनिक संरचनाको तयारी

२०८२ फाल्गुन ५ गते, मंगलवार

नेल्टाद्वारा आयाेजित हिज्जे रनिङ शिल्डको उपाधि त्रिभुवन आदर्श माविलाई

२०८२ फाल्गुन २ गते, शनिबार

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

२०८२ फाल्गुन १ गते, शुक्रबार

एकासी अर्ब घनमिटर ग्यास भण्डारण पुष्टि

२०८२ फाल्गुन १ गते, शुक्रबार

वालिङमा सिप प्रमाणीकरणः ३९ जनाले पाए सिटीभिटी लेभल–२ प्रमाण पत्र

२०८२ फाल्गुन १ गते, शुक्रबार

पूर्ण शिक्षाको जिम्मा निजी विद्यालयले लिन तयार हुनुपर्ने–अध्यक्ष अधिकारी

२०८२ फाल्गुन १ गते, शुक्रबार

कार्य सम्पादन  मूल्याङ्कनमा गण्डकी प्रदेशमा पहिलो बन्याे कालीगण्डकी गाउँपालिका

२०८२ फाल्गुन १ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal