बन्दीपुरको ‘मिनीग्रेटवाल’को प्रवद्र्धनमा जोड

कृष्ण न्यौपाने

दमौली,३० साउन – बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट शुरु भई मुकुन्देश्वरी डाँडासम्म निर्माण गरिएको करीब चार किलोमिटर मिनीग्रेटवालको प्रवद्र्धनमा गाउँपालिका लागिपरेको छ ।

प्राकृतिक दृश्य अवलोकन र सुन्दरताका कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्ध कमाएको बन्दीपुरमा निर्माण गरिएको ‘मिनीग्रेटवाल’ को प्रचारप्रसार र प्रवद्र्धनमा गाउँपालिका अग्रसर भएको हो ।

चीनको जस्तै झझल्को दिने गरी निर्माण गरिएको मिनिग्रेटवालको प्रचारप्रसार र प्रवद्र्धनका लागि सोही ठाउँमा गाउँपालिकाको कार्यपालिकाको बैठक नै आयोजना गरेको छ । मिनीग्रेटवालको प्रचारप्रसार र प्रवद्र्धन गर्दै बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले कार्यालयभन्दा बाहिर बैठक बसेको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो ।

“यस्ता कार्यले यस ठाउँको प्रचारप्रसारमा सहयोग पुग्ने विश्वास लिएका छौं”, उहाँले भन्नुभयो, “गाउँपालिकाले नयाँ–नयाँ गन्तव्य बनाउने उद्देश्य सहित यसमा लगानी गरेको छ ।”

चालु आर्थिक वर्षको बजेटमा मिनीग्रेटवालका लागि रु डेढ करोड बजेट विनियोजन गरेको छ । गत वर्षदेखि निर्माण शुरु भएको मिनीग्रेटवालको निर्माण नसकिँदै यो पर्यटकको रोजाइमा पर्न थालेको छ । बन्दीपुर घुम्न आएका सबैजसोले उक्त ठाउँको बारेमा चासो लिने गरेका छन् । “बन्दीपुरमा नयाँ–नयाँ पूर्वाधार थप गर्ने उद्देश्य बमोजिम मिनीग्रेटवाल निर्माण थालेका हौं, यसको निर्माणका लागि सङ्घीय सरकारले पनि यो वर्ष सहयोग गरेको छ,” उपाध्यक्ष गुरुङले भन्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बजेट विनियोजन भएपछि कामलाई अगाडी बढाउन सहज भएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो । उहाँका अनुसार गत वर्ष एक हजार एक सय मिटर पदमार्ग निर्माण सम्पन्न भएको छ भने चालु आर्थिक वर्षमा पनि ३५ मिटर पदमार्ग निर्माण सम्पन्न भइसकेको छ । गाउँपालिकाले मिनीग्रेटवालको थप काम गर्नका लागि रु पाँच करोडको टेण्डर गरिसकेको छ । कूल साढे दुई किलोमिटर दूरी रहने मिनीग्रेटवालसँगै यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना छ ।

गुरुयोजना अनुसारका पूर्वाधार निर्माणका लागि रु १९ करोड लागत इष्टमेट गरिएको छ । यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, ९ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्क लगायतका संरचना निर्माण गर्ने योजना छ ।

विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी निर्माण गरिएको पदमार्ग पर्खालले यहाँको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । मुकुन्देश्वरी डाँडा तत्कालिन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो । उक्त पदमार्गलाई पनि ‘मुकुन्देश्वरी पर्खाल’ को नामाकरण गरिएको छ । पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ । बन्दीपुरमा वार्षिक रु एक लाखभन्दा बढी पर्यटक भ्रमणका लागि पुग्ने गरेका छन् ।

गाउँपालिकाले टुँडिखेलमा सिसाको भ्युटावर निर्माणका लागि पनि रु एक करोड ५० लाख बजेट विनियोजन गरेको छ । जमिनको सतहबाट पाँच फिट अग्लो टावर निर्माण गरेर दृश्यावलोकनको केन्द्र निर्माण गर्ने लक्ष्य राखिएको छ । उक्त केन्द्रबाट एकपटकमा १५ जनाले अवलोकन गर्न मिल्नेछ । सिसाको दृश्यावलोकन केन्द्र निर्माणका लागि करिब रु तीन करोडभन्दा बढी रकम आवश्यक पर्ने देखिएको छ । टेण्डर निकाल्नका लागि बजेटको स्रोत सुनिश्चित हुनुपर्ने भएकाले स्रोत जुटाएर मात्रै टेण्डर निकाल्न खोजिएको अध्यक्ष थापाको भनाइ छ । “यो योजनाको बारेमा केही प्राविधिक समस्या थियो, त्यो हल भएको छ, विज्ञ समूह गठन गरेर यसको थालनी गर्ने सोच बनाएका छौ,” उहाँले भन्नुभयो ।

जग्गा एकीकरण आयोजना सञ्चालन
तनहुँको व्यास नगरपालिकाले बैरेनीमा जग्गा एकीकरण आयोजना सञ्चालन गर्ने भएको छ । शहरी विकास तथा भवन निर्माण विभागले आयोजना सञ्चालनका लागि स्वीकृति दिएपछि नगरपालिकाले वडा नं १० स्थित बैरेनीमा जग्गा एकीकरण आयोजना सञ्चालन गर्न लागेको हो ।

नगरपालिकाको महात्वाकाङ्क्षी योजनाको रुपमा रहेको यस आयोजनालाई विभागले स्वीकृति दिएको नगरपालिकाका वरिष्ठ इञ्जिनीयर रवीन्द्रलाल मूलले जानकारी दिनुभयो । उक्त जग्गा एकीकरण आयोजना नगरसभाले पारित गरिसकेको छ ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलको उपस्थितिमा भएको बैठकले उक्त आयोजना अगाडि बढाउने निर्णय गरेको हो । उक्त बैठकले नगरपालिकाले बुझाएको परिमार्जित मस्यौदालाई नै आयोजनाको रुपमा अध्ययन गरी काम अघि बढाउने निर्णय गरेको वरिष्ठ इञ्जिनीयर मूलले जानकारी दिनुभयो ।

वडा नं १० को बैरेनीस्थित २६० रोपनी जग्गालाई एकीकृत गरी नयाँ मोडलको शहर बसाउने योजना नगरपालिकाको छ । यसअघि उक्त आयोजना वडा नं ११ को रानीगाउँमा गर्ने योजना रहेपनि रानीगाउँका बासिन्दाको तीव्र विरोधपछि बैरेनी स्थानानन्तरण गरिएको थियो । बैरनीको दुई हजार रोपनी क्षेत्रफलमध्ये पहिलो चरणमा पाइलट प्रोजेक्टको रुपमा २६० रोपनी जग्गामा एकीकृत बस्ती बसाउने योजनाअनुसार जग्गा एकीकरण गर्न लागिएको छ । जग्गा एकीकरणपछि उक्त स्थानमा कालोपत्र सडक, उचित नाली तथा ढल, खानेपानी, विद्युतीकरण, सञ्चारलगायत सबै शहरी सुविधा पु¥याइनेछ ।

जग्गा एकीकरणपछि एउटा घडेरीको क्षेत्रफल न्यूनतम तीन आना हुनेछ । तीन आनाभन्दा कम क्षेत्रफल हुने जग्गाधनीले उक्त स्थानको जग्गा एकीकरणका लागि दिएर सोही मूल्य बराबरको अन्यत्र स्थानमा जग्गा प्राप्त गर्नेछन् ।

सङ्घीय सरकारले देशका केही क्षेत्रमा नयाँ शहरी योजना सञ्चालन गरिरहेको अवस्थामा व्यास नगरपालिकाले पहिलो पटक स्थानीयस्तरबाट नै जग्गा एकीकरण योजना सञ्चालन गर्न लागेको हो । उक्त योजना सफल भए भविष्यमा अन्य वडामा पनि यस्तै प्रकारको आयोजना सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले वडा नं ५ मानुङकोट, वडा नं ६ शिशाघाट, वडा नं ७ नरङ्गाफाँट र वडा नं १० बैरेनी क्षेत्रमा यो योजना सञ्चालन गर्ने तयारी गरेको थियो । सोही बमोजिम मानुङकोटमा जग्गा विकासका लागि अध्ययन गरिसकिएको छ । नगरपालिकाले मानुङकोटमा सार्वजनिक जग्गा, व्यक्तिको जग्गाको पहिचान गरिनुका साथै आगामी दिनमा कहाँ बस्ती निर्माण गर्ने, कहाँ बाटो बनाउने भन्ने विषयमा अध्ययन गरेको थियो ।

मानुङकोटको मौलिक चरित्रलाई यथावत राखी आधुनिक ढङ्गबाट विकासको अभियान सञ्चालनका लागि जग्गा विकास कार्यक्रम लागू गर्न लागिएको नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो । “मानुङकोटका मगर समुदायले जग्गा छोड्दै जाने र बाहिरबाट आएर जग्गा किने क्रम बढ्दै गइरहेको छ”, उहाँले भन्नुभयो, “त्यसैलाई मध्यनजर गर्दै मानुङकोट जग्गालाई व्यवस्थापन गर्न खोजेका हौ ।” नगरप्रमुख न्यौपानेका अनुसार मानुङकोटमा रहेका केही सार्वजनिक जग्गालाई पनि जग्गा विकास कार्यक्रममा समावेश गरेर लगिनेछ । रासस

ताजा

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

२०८३ जेष्ठ ५ गते, मंगलवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal