गण्डकी र लुम्बिनी प्रदेशका प्रमुख गुरुङ र शेरचन एउटै गाउँवासी

नारायण अधिकारी  

चितवन, १३ साउन– फरक विचारको राजनीति जीवनयात्रामा रहनुभएका अमिक शेरचन र पृथ्वीमान गुरुङ एउटै गाउँवासी हुनुहुन्छ । सरकारले मङ्गलबार उहाँहरु दुवैलाई लुम्बिनी र गण्डकी प्रदेशको प्रमुखमा नियुक्त गरेको हो । शेरचन लुम्बिनी र गुरूङ गण्डकी प्रदेश प्रमुखमा नियुक्त हुनुभएको छ ।

दुवै जना भरतपुर महानगरपालिका–२६ दिव्यनगर गाउँका हुनुहुन्छ । भरतपुर–मेघौली सडकमा पर्ने थकाली चोकमा शेरचनको र धर्मभकारी चोकमा गुरूङको घर पर्दछ ।

वामपन्थी राजनीतिबाट अघि बढ्नुभएका शेरचन र काँग्रेसको राजनीतिमा अघि बढ्नुभएका गुरुङ दुवैले इमान्दार नेताको छवि बनाउनुभएको छ । विसं २०४८ को प्रतिनिधिसभा निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं ३ बाट दुवै जना उम्मेदवार हुनुहुन्थ्यो । त्यतिबेला शेरचनले जित्नुभयो भने गुरुङ निकटतम प्रतिद्वन्द्वी बन्नुभयो ।

को हुनुहुन्छ शेरचन ?
इमान्दार, सदाचार र सादगी जीवन जिउने थोरै व्यक्तित्वमध्येमा पर्नुहुन्छ शेरचन । जीवनको लामो समय भूमिगत र अर्धभूमिगत बिताउनुभएका उहाँ निर्भीक, निडर र इमान्दार मानिनुहुन्छ । विसं २००६ मा म्याग्दी जिल्लाको ओखरबोटखानी–९ मा बडिबहादुर र उमादेवीका पुत्रका रूपमा जन्मनुभएका उहाँ हाल भरतपुर महानगरपालिका–२६ का स्थायी बासिन्दा हुनुहुन्छ ।

युवावस्थादेखि नै वामपन्थी राजनीतिमा झुकाव राख्दै आउनुभएका शेरचन विसं २०३५ मा निर्मल लामाले नेतृत्व गरेको नेकपा (चौथो महाधिवेशन)को केन्द्रीय सदस्य एवं चितवन जिल्ला सचिव हुनुभएको थियो । तत्कालीन समयमा पञ्चायतविरोधी अभियानमा सक्रिय उहाँले विभिन्न समयमा कारागार जीवन बिताउनुभएको छ ।

विसं २०४७ मा तीन पार्टी र त्यसको एक वर्षपछि अरु दुई पार्टी थपिएर बनेको नेकपा (एकता केन्द्र) मा शेरचन केन्द्रीय सदस्य हुनुहुन्थ्यो । शुरुमा नेकपा (मशाल), नेकपा (चौथो महाधिवेशन) र सर्वहारावादी श्रमिक सङ्गठन मिलेर संयोजन समिति बन्यो । पछि त्यसैलाई एकता केन्द्रका रूपमा घोषणा गरिएको वामपन्थी नेता साध्यबहादुर भण्डारीले जानकारी दिनुभयो ।

नेता भण्डारीका अनुसार पछि सोही पार्टीको विद्रोही मसाल र रुपचन्द्र विष्टले नेतृत्व गरेको पार्टीसमेत एकता केन्द्रमा समाहित भएको थियो । शेरचन विसं २०४७ मा संयुक्त जनमोर्चाको चितवन जिल्ला अध्यक्ष हुनुभयो । त्यसको केन्द्रीय अध्यक्षमा डा बाबुराम भट्टराई हुनुहुन्थ्यो । नेता भण्डारीका अनुसार विसं २०५१ मा संयुक्त जनमोर्चाबाट डा भट्टराई र निरञ्जन वैद्य अलग्गिएर छुट्टाछुट्टै पार्टी खोलेपछि विसं २०५४ को जनकपुर सम्मेलनले शेरचनलाई संयुक्त जनमोर्चाका केन्द्रीय अध्यक्ष बनाएको थियो ।

एकता केन्द्र र संयुक्त जनमोर्चाका तर्फबाट विसं २०४८ को निर्वाचनमा उम्मेदवार बन्नुभएका शेरचन चितवन क्षेत्र नं ३ बाट निर्वाचित हुनुभयो । विसं २०५९ मा संयुक्त जनमोर्चा र राष्ट्रिय जनमोर्चा मिलेर बनेको जनमोर्चा नेपालको अध्यक्ष पनि शेरचन नै हुनुभयो । विसं २०६३ मा सो पार्टी विघटन भएको घोषणा गरी तत्कालीन नेकपा ९माओवादी०मा समाहित भएको थियो । उक्त पार्टीमा शेरचन स्थायी समिति सदस्य बन्नुभएको थियो । यससँगै उहाँले पार्टीको अनुशासन कमिटीको अध्यक्षको भूमिका पनि निर्वाह गर्नुभयो । शेरचन विसं २०६३ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीसमेत बन्नुभएको थियो ।

विसं २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा उहाँ चितवन क्षेत्र नं ५ बाट विजयी हुनुभयो । राज्य विद्रोहको मुद्दा लागेर पटकपटक हिरासतमा रहँदा त्यहीँ प्रहरीलाई समेत कुटपिट गर्नुभएका शेरचन कम्युनिष्ट नेताहरुमध्येका साहसी नेता भएको उहाँसँग निकट रहेर राजनीति गर्नुभएका माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले राससलाई बताउनुभयो । शेरचन नेकपा (एमाले) र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आमन्त्रित सदस्य हुनुहुन्थ्यो । यसअघि उहाँ गण्डकी प्रदेश प्रमुखमा नियुक्त हुनुभएको थियो । केपी शर्मा ओली नेतृत्वको सरकारले उहाँको ठाउँमा चितवनकै सीता पौडेललाई नियुक्त गरेको थियो ।

को हुनुहुन्छ गुरुङ ?
विसं २००६ माघ २५ गते कास्कीको घलेल गाउँमा जन्मिनुभएका गुरुङले प्राथमिक शिक्षा त्यहीँको घलेल गाउँमा अध्ययन गर्नुभयो । विसं २०१८ मा चितवन झर्नुभएका गुरुङले विसं २०२४ मा जुद्धोजय हाइस्कूल काठमाडौँबाट एसएलसी उत्तीर्ण गर्नुभयो । उहाँले अमृत साइन्स कलेजबाट आइएस्सी, त्रिचन्द्र कलेजबाट बिएस्सी र त्रिभुवन विश्वविद्यालयबाट एमएस्सी उत्तीर्ण गर्नुभयो ।

विसं २०३४ मा पृथ्वीनारायण क्याम्पसमा प्राध्यापकमा नियुक्त हुनुभएका उहाँ त्यसको एक वर्षपछि राजनीतिक मुद्दा लागेर बर्खास्तमा पर्नुभयो । विसं २०३६ को जनमतसङ्ग्रहमा कास्कीको निर्वाचनमा सक्रियरूपमा लाग्नुभएका गुरुङ त्यसपछिका केही वर्ष काठमाडौँमा गैरसरकारी संस्थामा काम गर्नुभयो ।

विसं २०४२ मा चितवन फर्किनुभएका उहाँ नेपाली काँग्रेस चितवनको सहसचिवमा नियुक्त हुनुभयो । विसं २०४६ को जनआन्दोलनमा सङ्घर्ष समितिका पाँच सदस्यमध्ये एक गुरुङ विसं २०४८ मा चितवन क्षेत्र नं ३ बाट शेरचनसँगै चुनावी प्रतिस्पर्धा गर्नुभयो । निर्वाचनमा पराजयपछि विसं २०४९ मा उहाँ सुकुम्बासी आयोगको केन्द्रीय सदस्य हुनुभयो । त्यतिबेला उहाँ नवलपरासीको इन्चार्ज हुनुहुन्थ्यो ।

नेपाली काँग्रेसको विभाजनसँगै विसं २०६१ मा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको नेपाली काँग्रेस (प्रजातान्त्रिक) चितवनको सभापति बन्नुभयो । पार्टी एकता भएपछि सहसभापति बन्नुभएका गुरुङ त्यसयता काँग्रेस चितवनको सल्लाहकारका रूपमा क्रियाशील हुनुहुन्छ । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ गुरुङ विद्वान र इमान्दार नेता भएको बताउनुहुन्छ ।

काँग्रेसलाई सशक्त बनाउन उहाँ आफ्नो जीवनभर लागिपरेको श्रेष्ठको भनाइ छ । अन्य प्रशस्त अवसर भएर पनि सबै त्यागेर पूर्णकालीनरूपमा काँग्रेसमा प्रतिबद्ध हुनुभएका गुरुङमाथि सरकारले न्याय गरेको श्रेष्ठले बताउनुभयो ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal