खोप ल्याउन सबै प्रयास जारी
चाँदनी हमाल
काठमाडौ,१ ४असार– नेपाल यतिबेला कोरोना भाइरसको दोस्रो लहरको सङ्कटसँग पौँठेजोरी खेलिरहेको छ । नेपालको संविधानले मौलिक हकका रूपमा सहज जीवन अधिकारसँग सम्बन्धित धेरै प्रकारका हक नागरिकलाई प्रदान गरेको छ । सोहीअनुसार सङ्कटका घडीमा नेपाल सरकार कोरोना सङ्क्रमणबाट जनताको जीवनरक्षाको विविध उपायका लागि प्रयास पनि गरिरहेको छ ।
कोरोनाविरुद्धको खोप नागरिकको जीवनरक्षाकोे भरपर्दो र दीर्घकालीन कवच बनेको छ । नेपालका सबै नागरिकका लागि खोप उपलब्ध गराउन सरकारले प्रत्यक्ष–अप्रत्यक्ष सबै पहल जारी राखेको छ । यति धेरै प्रयासका बाबजुद पनि सरकारले खरिद गर्न रकम तिरेको खोप पनि नेपाल भित्रन नसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
छिमेकी मुलुक भारतसँग २० लाख मात्रा खोप खरिदको प्रक्रिया पूरा भए पनि १० लाख मात्रा खोप मात्र आयो । भारतको सर्वोच्च अदालतले आफ्ना नागरिकको जीवन नै सङ्कटमा परेका बेला खोपलगायतका अत्यावश्यक सामग्री निर्यात नगर्न त्यहाँको सरकारलाई आदेश दिएपछि नेपालको १० लाख मात्रा खोप उतै अड्केको हो । यद्यपि खोप निर्यातमा अब भारत उदार भएको देखिएको छ ।
अन्य विभिन्न मित्रराष्ट्र मुलुकसँग खोपका लागि अनुरोध गरे पनि चीनबाहेकका मुलुकले खोप उपलब्ध गराउन सकेका छैनन् । भारत सरकारले अनुदानमा दिएको १० लाख मात्रा र नेपालले खरिद गरेको १० लाख मात्रा कोभिसिल्ड खोप नेपाल आएको थियो । त्योबाहेक चीन सरकारका तर्फबाट दुई चरणमा गरेर २० लाख मात्रा भेरोसिल खोप नेपाल आइसकेको छ ।
कोभ्याक्स सुविधाको केही मात्रा खोप पनि यस अवधिमा आएको थियो । खोप नआएकै कारण पहिलो मात्रा लगाएकाले समेत दोस्रो मात्राको खोप लगाउन पाएका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले भन्नुभयो, “घोषणा धेरै भयो, खरिद गरेकै खोप नआउँदा हामी पनि अन्योलमा छौँ, त्यसैले खोप नआएसम्म उसले यति दियो उति दियो भन्ने अवस्थामा हामी छैनौँ ।”
उहाँका अनुसार मन्त्रालयले कोभ्याक्स सुविधासहित खोप दिन्छु भनेर घोषणा गरेका मुलुकसँग तारन्तार अनुरोध गरिरहेको छ । कोरोनाको पहिलो लहरले हल्का मात्र छोएको नेपालीलाई दोस्रो लहरको भाइरसले निकै आक्रान्त पारेको छ । खोप लगाउन नपाउँदा सङ्क्रमणको दर न्यून हुने सम्भावना निकै कम रहेको स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको खोप महाशाखा प्रमुख डा. झलक गौतम बताउनुहुन्छ । खोप नआएकै कारण महाशाखाको काम पनि ठप्प बनेको छ । उहाँका अनुसार नेपालमा खोप लगाउनुपर्ने कुल जनसङ्ख्या दुई करोड १७ लाख हो । तीमध्ये सात लाखले दोस्रो मात्रा लगाइसकेका छन् । अन्य २५ लाख जनसङ्ख्याले पहिलो मात्रा खोप मात्र लगाएका छन् ।
खोप नआएको अवस्थामा सङ्क्रमण केही नियन्त्रणमा आउँदा बन्दाबन्दी हलुका बनाउनु र बढेको खण्डमा कडा बन्दाबन्दी गर्नुको विकल्प सरकारसँग छैन ।
स्वदेशमै उत्पादनको सम्भावना
नेपाल सरकारले अलिक जागरुकता देखाउने हो भने नेपालमै खोप उत्पादन गरेर आफ्ना नागरिकको जीवन जोगाउने अवसर रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरू बताउनुहुन्छ । डा. समिरमणि दीक्षितका अनुसार नेपालले विदेशको प्रविधि र केही दक्ष जनशक्तिको सहयोग लिएर नेपालमै कोरोनाविरुद्धको खोप उत्पादन गर्न सक्छ ।
नेपालमा पशुपन्छीजन्य खोप उत्पादन भइसकेको अवस्थामा मानिसका लागि खोप उत्पादन गर्नु कुनै ठूलो कुरा नरहेको भन्दै उहाँ भन्नुहुन्छ, “जनावरको बनाए पनि मान्छेको बनाए पनि खोप बनाउन सक्ने क्षमता नेपालले प्रमाणित गरिसकेको छ, प्रविधि नेपालमै छ, खोप बनाउन गाह्रो छैन”, तर त्यसका लागि सरकारले सहजीकरण गर्नुपर्ने उहाँले बताउनुभयो ।
शतप्रतिशत पूर्वाधार नभए पनि खोप उत्पादन गर्ने उद्देश्य लिने हो भने नेपालमै कोरोनाविरुद्धको खोप उत्पादन गर्न सकिने भन्दै उहाँले थप्नुभयो, “लाखौँ मात्रा एकै पटक बनाउन नसके पनि हजारौँ मात्रा चरण–चरणमा बनाउन सकिन्छ ।” खोप उत्पादनका लागि नेपालसँग क्षमता, अनुभव प्रशस्त छ । कुखुरामा लाग्ने रोगविरुद्धको खोप नेपालमै उत्पादन गरेर प्रयोग भइरहेको उहाँले उदाहरण दिनुभयो ।
नेपालमा खोप उत्पादन गर्न सरकारी तवरबाट विदेशमा खोप उत्पादन गरिरहेका कम्पनीसँग कुराकानी अगाडि बढाउनुपर्छ । साथै खोप उत्पादनका लागि सहजीकरण गर्न विदेशस्थित स्वास्थ्य क्षेत्रमा काम गरिरहेका नेपाली चिकित्सक र विज्ञको सहयोग लिन सकिन्छ । सजिलोका लागि भारत, थाइल्यान्ड वा अन्य मुलुकमा गएर प्रविधिको अवलोकन र हस्तान्तरणको प्रक्रिया अगाडि बढाउन सकिन्छ । विदेशमा भएका जनशक्तिको सहकार्यमा खोप उत्पादनमा लगाउन सकिने डा. दीक्षितले सुझाउनुभयो ।
उहाँका अनुसार खोप उत्पादन र अनुसन्धान गर्न धेरैजसो प्रविधि नेपालमा छ । केही कच्चा पदार्थ र प्रविधि विदेशबाट आयात गर्नुपर्छ । नेपाल सरकारले त्यस्ता कच्चा पदार्थ र प्रविधि आयातमा सहुलियत दिएको खण्डमा नेपालमा बनेको खोप नै नेपालका लागि वरदान बन्न सक्छ । बाहिरबाट खरिद गरेकोभन्दा सस्तो पनि पर्छ र धेरै मात्रामा छिटो पनि बनाउन सकिन्छ । आफैँले खोप उत्पादन गर्न सकेको खण्डमा कोरोना भाइरसको जस्तोसुकै नयाँ भेरिएन्टसँग पनि लड्न सक्ने उहाँले प्रस्ट पार्नुभयो ।
नेपालमा विदेशी कम्पनीले खोपको क्लिनिकल ट्रायल गर्न सक्ने स्वीकृति पाइसकेको छ । यस अवस्थामा नेपाल सरकारले स्वदेशमै खोप उत्पादन गर्न चाहँदा गर्न सक्ने कानुनी बाटोसमेत खुला भइसकेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले भन्नुभयो, “अब राज्यले खोप उत्पादन गरौँभन्दा खोप उत्पादन गर्न सकिन्छ ।”
औषधि व्यवस्था ऐन, २०३५ को दफा ३१ (२) मा कुनै पनि विदेशी कम्पनी खोप तयार गर्न नेपाल आउन चाहेमा सरकारले सहमति दिन सक्ने छ भनेर कानुनी बाधा अड्चन फुकाइएको छ । हालसम्म कुनै पनि विदेशी कम्पनीले क्लिनिकल ट्रायलसँगै खोप उत्पादनका लागि नेपालमा दर्ता प्रक्रिया थालिनसकेको जानकारी उहाँले दिनुभयो । नेपालमा उत्पादन र परीक्षण गर्न सकिएमा नेपाली नागरिकले सहजै आफ्नै देशको खोप लगाउन पाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।गोरखापत्र
ताजा
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ बैशाख २८ गते, सोमबार
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
२०८३ बैशाख २८ गते, सोमबार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार
एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
२०८३ बैशाख २० गते, आईतवार
आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने
२०८३ बैशाख २० गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार





















