स्वास्थ्य र कृषिलाई प्राथमिकता दिदै गल्याङ नगरपालिकाको नवौं नगरसभा सम्पन्न

आगामी आर्थिक वर्षका लागि ७६ करोड ६७ लाख ६२ हजार बजेट विनियोजन

गल्याङ,१० असार–गल्याङ नगरपालिकाको नवौं नगरसभा बिहीबार सम्पन्न भएको छ । स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिदै नगरपालिकाको नगर सभा सम्पन्न गरिएको हो । नगरसभामा नगरपालिका प्रमुख भुपराज अधिकारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गल्याङ नगर अस्पताललाई कोभिड उपचार केन्द्रको रुपमा रुपान्तरण गरी कोरोना संक्रमित नागरिकको निशुल्क उपचारको व्यवस्था मिलाइने बताउनुभयो ।

उहाँले आधारभुत स्वास्थ्य सेवामा नगरवासीको सहज पँहुचका लागि नगर अस्पताल सुदृढिकरण तथा क्षमता विस्तार गरी विशेषज्ञ सेवा सहित २५ शैयाको अस्पतालमा स्तरोन्नति गरिने बताउनुभयो । नगर प्रमुख अधिकारी गरिव, अपाङ्ग, असहाय, दीर्घ रोगी, गर्भवती महिला, नवजात शिशु तथा सुत्केरी आमाको स्वास्थ्य सुधारका कार्यक्रम संचालन गर्न बहुक्षेत्रीय पोषण कार्यक्रम संचालन गरिने पनि बताउनुभयो । उहाँले समुदायमा आधारित स्वास्थ्य स्वयसेवक, स्वास्थ्य आमासमुह, टोल विकास संस्था, सहकारी, युवा क्लव, बाल क्लव जस्ता संघ संस्था परिचालन गरी सामुदायिक स्वास्थ्य कार्यक्रम संचालन गरिने बताउनुभयो ।
नीति कार्यक्रममा बोटे, माझी, भुजेल लगायत अति विपन्न, गरिव, सिमान्तकृत, दलित समुदाय, एकल महिला, जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिकलाई स्वास्थ्य बिमा प्रिमियममा अनुदान प्रदान गरिने पनि उल्लेख छ । यस्तै, सुविधा सम्पन्न प्राकृतिक चिकित्सा सहितको १५ शैयाको आयुर्बेद अस्पताल स्थापनाका लागि आवश्यक जग्गा तथा विस्तृत परियोजना प्रतिवेदन तयार गरी कार्यान्वयन गरिने उल्लेख छ । यसैगरी सवै वडाका स्वास्थ्य संस्थामा सडक संजालले जोडी नगरपालिकामा एम्बुलेन्स सेवा विस्तार एवं व्यवस्थित गरिने पनि नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

नगरप्रमुख अधिकारीले आधारभुत तथा माद्यमिक शिक्षामा सबैको समान पहुँच बिस्तार गरी जिवनोपयोगी शिक्षा प्रदान गरी स्वरोजगार सिर्जना गर्ने नीति अवलम्बन गरिने बताउनुभयो ।
उहाँले एक विद्यालय एक फुलबारी कार्यक्रम, स्थानीय संस्कृति, रीतिरीवाज, परम्परा ऐतिहासिक स्थल, मठ मन्दिर, प्राकृतिक स्थलका बारेमा स्थानीय पाठ्यक्रम निर्माण गरी पठनपाठनको व्यवस्था गरिने पनि बताउनुभयो ।
उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम संञ्चालन गरिने, सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम संचालन गरिने तथा प्रत्येक सामुदायिक विद्यालयमा निशुल्क स्यानेटरी प्याड सामग्री उपलब्ध गराउने नीति पनि लिइएको छ ।
नगरपालिकाले कृषि तथा पशुपन्क्षी विकास कार्यक्रममा महत्वपूर्ण नीति अघि सारेको छ ।
सहुलियतपूर्ण कृषि ऋण एंव वाली तथा पशु (गाइ÷भैसी वंगुर) विमाको व्यवस्थाका पूर्ण अनुदानको व्यवस्था गरिएको छ ।
स्थानीय संभाव्यता र तुलनात्मक लाभको आधारमा बाली र वस्तु विशेषका पकेट क्षेत्रहरुको पहिचान गरी संभाव्य बाली र वस्तुको उत्पादनमा विशिष्टिकरण ल्याइने, खाद्य तथा पोषण सुरक्षाका दृष्टिकोणबाट संवेदनशील र खाद्यान्न उत्पादन न्यून हुने गाँउहरुमा स्थानीयस्तरमा उत्पादन हुन सक्ने कृषि वस्तुको उत्पादन तथा उपयोग गर्न विशेष कार्यक्रम सञ्चालन गरिने नीति कार्यक्रममा उल्लेख छ ।

वैदेशिक रोजगारीबाट फिर्ता भएका नागरिक,विपन्नवर्ग, एकल फर्मलाई कृषि कार्यका लागि रु दुई लाख देखि ५० लाख सम्म बैक कर्जाको व्याजमा अनुदान दिने व्यवस्था मिलाइएको छ । एक वडा एक कृषि स्रोत केन्द्र÷पशु स्वास्थ्य केन्द्र निर्माण गर्ने नीति पनि अबलम्बन गरिएको छ । आलु पकेट क्षेत्रको रुपमा वडा नं. ४ र ११ लाई निरन्तरता दिदै वडा नं. ६, ९ र १० मा आलु पकेट क्षेत्र विस्तार गरिने उल्लेख छ ।
यस्तै, वडा नं. ५ को स्यालबास, वडा नं. ७ को सिरौसा र कर्पुदी सहित वडा नं. ५,६,७र१० मा सुन्तला पकेट संचालन गरिने एवं वडा नं. १० र ११ मा कागति र वडा १, ४,९,१० को भिरालेमा र वडा नं.११ मा एभोगाडो खेति गरी पकेटको रुपमा विस्तार गरिने नीति कार्यक्रममा भनिएको छ
दूध विक्रिमा दुग्ध संकलन केन्द्रको अभिलेख र पशु सेवा केन्द्रको सिफारिसमा प्रति लिटर १५ रुपैयाँसम्म अनुदान दिने व्यवस्थालाई निरन्तरता दिदै बाख्रापालन गर्ने वडामा बाख्रा पकेट क्षेत्र कार्यक्रम संचालन गरिने उल्लेख गरिएको छ ।
यसैगरी वडा नं. ८ र १० मा कालिजपालन कार्यक्रम संचालन गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ । नीति कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख अधिकारीले सेतीवेणी शिला शालिग्राम, रामनदिधाम, तम्किकोट, भाल्थुमकोट, ग्वादी, बजादी, केदारनाथ, तार्सेसिद्ध, रानिपोखरी, बंग्राती कालिका, देवीस्थान, गह्रौसुर, आलमदेवि, जगत्रदेवि, देविभन्ज्याङ,स्यालवास हात्तिस्थान, सम्पास शिला, मनकामना मन्दिर, उत्तरवाहिनी खाडा घाट, पाखिचौर सुनपोखरी, देउराली मन्दिर,गेझा कालिका गर्हौ भगवती मन्दिर चण्डेश्वरी मन्दिर विभिन्न कालिका मन्दिर लगायतका स्थलहरुलाई विशेष पर्यटकिय स्थलको रुपमा विकास गरिने बताउनुभयो ।
यस्तै, देविभञ्जयाङ पर्यटकिय भ्यू टावर निर्माण गरिने, राम्दी र उत्तरवाहिनी क्षेत्रलाई ध्यान केन्द्र, योग केन्द्र तथा सांस्कृतिक अध्ययन केन्द्रको रुपमा विकास गरिने उल्लेख छ । नगर भित्रका ऐतिहासिक पर्यटकीय क्षेत्र रामनदिधाम तथा सेतिवेणी सालिग्राम शिलामा हेलिप्याड निर्माणका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण कार्य अगाडी बढाइने पनि नीति कार्यक्रममा उल्लेख छ ।
यसैगरी वडा नं ३ मा पूर्वाधार विकास सहितको एक उद्योगग्राम संचालनमा ल्याइने एवं गार्मेट उद्योग, अदुवा प्रशोधन केन्द्र स्थापना गरिने पनि नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
५० वर्ष उमेर समुहका एकल महिलाहरुलाई सहकारीमा आबद्ध गराई क्षमता विकास गर्दै आत्मनिर्भर गराउन सामुहिक व्यवसायका लागि अनुदान उपलब्ध गराइने पनि भनिएको छ ।

गल्याङ नगरपालिकालाई पूर्ण रुपमा छुवाछुत मुक्त नगरपालिका बनाउनका लागि सबै वडाहरुमा सचेतना कार्यक्रम संचालन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
एक घर एक धारा खानेपानी योजनालाई निरन्तरता दिइने, कोभिड–१९ का कारण रोजगार गुमेका नागरिकहरुको लागि व्यवसायिक कृषि तथा पशुपालन मार्फत स्वरोजगारका कार्यक्रम संचालन गरिने पनि नीति कार्यक्रममा भनिएको छ ।
नीति कार्यक्रममा गल्याङ युवा क्लव खेलमैदन निर्माणको लागि आवश्यक जग्गा व्यवस्थापन गरिने, नमुना युवा संसद अभ्यासको सुरुवात गरिने, एक वडा एक खेलकुद पूर्वाधार निर्माणको थालनी गरिने भनिएको छ ।
नगरप्रमुख अधिकारीले प्रस्तावित नीति तथा कार्यक्रमको सफल कार्यान्वयनबाट उच्चदरको आर्थिक वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । नीति कार्यक्रमलाई नगरसभाले सर्बसम्मत पारित गरेको छ ।
यसैवीच नगरपालिकाले गत वर्ष ७२ करोड ९८ लाख ३७ हजार सात सय ९० रुपैयाँ बजेट विनियोजन भएकोमा आगामी आर्थिक वर्षका लागि ७६ करोड ६७ लाख ६२ हजार विनियोजन गरेको छ । नगर सभामा नगर उपप्रमुख देविसरा थापाले बजेट प्रस्तुत गर्नुभएको हो ।
जसमध्ये चालु खर्च १० करोड ६४ लाख ६० हजार अर्थात ३०.१५ प्रतिशत र पुँजिगत तर्फ २४ करोड ६७ लाख दुई हजार अर्थात ६९.८५ प्रतिशत विनियोजन गरिएको छ । नगरपालिकाले साधारण खर्च तर्फ १८ करोड ९९ लाख ८० हजार र विकास तर्फ ५७ करोड ६७ लाख ८२ हजार विनियोजन गरेको छ । उपप्रमुख थापाले बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्षको असार मसान्त सम्ममा चालु खर्च तर्फ ९० प्रतिशत र पुँजिगत तर्फ ७० प्रतिशत खर्च हुने बताउनुभयो ।
यस्तै, अन्डामा आत्मनिर्भर बन्ने कार्यक्रमको लागि ४२ लाख, बाख्रा बिकास कार्यक्रममा ५० लाख, दुध उत्पादन कार्यक्रमका लागि ४२ लाख एवम् प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत गाई पकेट स्थापनाका लागि २५ लाख विनियोजन गरिएको छ । वडा नं ८ मा कालिज पालन प्रवर्धनका लागि ५० लाख, पशु आहारा मिसन कार्यक्रमका लागि ४ लाख एवम् कृत्रिम गर्भाधान मिसन कार्यक्रमका लागि ४ लाख विनियोजन गरिएको छ ।
नगरसभाले नयाँ आर्थिक बर्ष का लागि प्रस्तुत गरिएको बजेट पनि सर्बसम्म पारित गरेको छ । कार्यक्रमको सञ्चालन गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले गर्नुभएको थियो ।

ताजा

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal