राजनीतिले ओझेल पारेको मदन भण्डारीको साहित्यिक व्यक्तित्व

सन्दर्भ : ७० औँ मदन जन्मजयन्ती

यशोदा अधिकारी

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको आज ७० औँ जन्मजयन्ती । नेपाली राजनीतिमा जननेताका रूपमा चिनिने मदन भण्डारी एक कुशल साहित्यकार पनि हुनुहुन्थ्यो ।

२००९ साल असार १४ गते ताप्लेजुङ जिल्लामा जन्मनुभएका मदनका शास्त्रीय छन्ददेखि लोकलयमा सिर्जना गरिएका कविताहरूले समाज रूपान्तरणको पक्षमा आवाज उठाएको पाइन्छ । उहाँको कविता लेखन, गायन, भाषण र प्रशिक्षणसम्म पनि आलङ्कारिक र कवितात्मक हुने गर्दथ्यो । तर राजनीतिक व्यक्तित्वका कारण साहित्यिक व्यक्तित्व ओझेलमा पर्दैगयो र अन्ततः राजनीतिक व्यक्तित्वका अगाडि साहित्यिक व्यक्तित्व पछि नै पर्‍यो ।

विश्वले जीवित कालमाक्र्स भनेर चिनेको नेपाली राजनीतिका कुशल नेतृत्व मदन भण्डारी राजनीतिमा लाग्नु अगाडि स्रष्टाका रूपमा सिर्जना कर्ममा रमाउने गर्नुहुन्थ्यो । विद्यार्थीकालमा भारतको वनारसमा बस्दा मदनले साहित्य सिर्जनामा निरन्तरता दिनुभयो ।

उहाँले २०२७ सालमा तीन पाइलो नामक गीतिसंग्रह तयार पार्नभयो तर त्यसको प्रकाशन हुन सकेन । उहाँ २०२६ सालमा राजनीति सिक्न भनेर पुष्पलाल समूहका युवा नेता मोहन चापागाईँ कहाँ जानुभएको थियो । चापागाईँले दाह्री नै नपलाएका ठिटोले किन राजनीति पर्यनुयोग ? भनेर हप्काएर पठाउनुभएछ । त्यसपछि मदनले नेता हुन्थेँ पनि कि कतै दाह्री हो उम्र उम्र.भनेर कविता लेख्नुभयो ।

राजनीति सिक्न जानुभएका मदनले सिर्जनाको प्रेरणा लिएर आउनुभयो र साहित्य सिर्जनामा समय दिन थाल्नुभयो । उहाँ शास्त्रीय छन्दका साथै लोकलयमा कविता लेख्नुहुन्थ्यो र मीठो लयमा वाचन पनि गर्नुहुन्थ्यो । विचार प्रधान कवितालाई छन्दमालामा उनेर सरल रूपमा प्रस्तुत गर्न सक्ने मदनमा बेजोडको खुबी भएको उहाँका समकालीनहरू बताउँछन् ।

सन् १९७३ मा बनारसमा सम्पन्न कविता प्रतियोगितामा मित्र पो चिन्नुपर्छ लौ उत्र सङ्घर्षमा शीर्षकको कविता वाचन गरेर उहाँ प्रथम हुनुभयो । बनारसबाट निस्कने छात्रप्रभा नामक पत्रिकाको सम्पादक समेत रहनुभएका मदनले पत्रिकामा सम्पादकीय समेत छन्दमै लेख्ने गर्नुहुन्थ्यो । उहाँले सम्पादकीयमा लेख्नुभएको कवितांश यस्तो थियो —

कुन्दा बन्दुकका तीखा कलमले सामन्तका छातीमा
रोपी च्वाप्प चुहाउँदै रगतको रातो मसीले यहाँ
नेपाली दिलभित्रका दमनको बेथा खुला लेखियो
मान्छे हो सुन यही बेथा प्रगतिको साहित्यको स्रोत हो

साहित्यिक यात्रामा मदनको २०२५ देखि २०३३ सम्मको समय उर्वर बनेको देखिन्छ । यो अवधिमा मदनले धेरै काव्य सिर्जना गर्नुभयो । कवितासँगै उहाँले मुक्तक र निबन्ध पनि लेख्नुभयो । पञ्चायती शासकका विरुद्धमा सिर्जना गरिएका मदनका कविताहरू मनोज, राजमोती, श्वेतशार्दूल, भीष्म, सागर र बर्बरिकलगायतका उपनाममा प्रकाशन हुन्थे । बनारसमा सँगै बस्नुभएका साहित्यकार तथा पुराना वामपन्थी नेता जगन्नाथ आचार्य मदनको साहित्य सिर्जनाको रफ्तार देखेर सहपाठी र गुरुहरूले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई पछि पार्न सक्ने आङ्कलन गर्ने गरेको स्मरण गर्नुहुन्छ । समकालीन स्रष्टा आचार्य अहिले पनि मदनले लेखेर सुनाएका छन्दमय कविताहरू कण्ठस्थ सुनाउनुहुन्छ —

गर्छन् भ्रान्ति धनिकहरूले भन्दछौ भ्रान्ति छोड
बोल्दा दोग्ला पदसमूहले व्यर्थ नाता नतोड
काल, हर्के, गरिबहरूमा क्रान्ति शक्ति अडिन्छ
खोज्छौ माथि तल झुपडीका मित्र पो चिन्नुपर्छ

बनारसको पसिना प्रकाशनबाट भर्तीवाले पोइलाई चिठी कविता प्रकाशन भएपछि पाठकहरूले मदनलाई बाटुलीको बा भन्न थाले । सोही क्रममा २०३२ सालमा गोरु फुकाऊ हली हो शीर्षको कविता प्रकाशित भएपछि उहाँलाई हली दाइ भन्नेहरू पनि थुप्रै भेटिए ।

च्यान्टी, न्याम्टी, झ्याम्टीलाई सिस्नु लिन पठाऊ
लर्काई लर्काई पाता फर्काई बजाऊ अब बजाऊ
है हली दाइ…………….

खासगरी सामाजिक र साँस्कृतिक रूपान्तरणलाई काव्यरसमा पोख्न पोख्त मदनले युवा आवाजलाई पनि कवितामा उठाउनुहुन्थ्यो । त्यस्तै महिला र पुरूषबीचको असमानता र विभेदविरुद्ध पनि उहाँको कलम चलेको पाइन्छ ।

मजदुर किसानको आवाज बोल्ने मदनका रचनाहरूमा विम्ब, प्रतीक र अलङ्कारको प्रचुर मात्रामा प्रयोग भएको देखिन्छ । मदन भण्डारीको साहित्यिक रचनाहरूको सङ्कलन अध्ययन र प्रकाशनमा संलग्न समालोचक एवं प्राज्ञ डा. देवी नेपाल मदनका रचनाहरूमा सामाजिक र सांस्कृतिक रूपान्तरणको आवाज रहेको विश्लेषण गर्नुहुन्छ । शास्त्रीय छन्द र लोकलयमा कला मिसाएर विचारलाई सुकोमलताका साथ प्रस्तुत गर्न सक्ने विशेष क्षमता मदनमा थियो । उहाँ घण्टौँसम्म कवितात्मक भाषण धाराप्रवाह रूपमा गर्न सक्नुहुन्थ्यो । उहाँका भाषणहरूमा कवितात्मक कला प्रतिविम्ब हुने गर्थ्यो —

हामी मृत्युदेखि डराएर
हिजो पनि कुना पसेका होइनौँ
मृत्युदेखि डराएको भए
झापाको सङ्घर्षको सृष्टि हुने थिएन
मृत्युदेखि डराएको भए
त्यो बादशाहलाई
घोडाबाट खसाल्नका निम्ति
कठालो समात्ने आँट गरिने थिएन ..”. (मदन भण्डारीको भाषण अंश)

जनताको बहुदलीय जनवादजस्तो मौलिक सिद्धान्तका प्रणेता मदन भण्डारीका कविता र गीतहरू सङ्कलन गरी राष्ट्रिय जनसांस्कृतिक महासङ्घले कृति प्रकाशन गरेको छ भने मदन भण्डारी कला साहित्य प्रतिष्ठाले पनि मदनका रचनाको खोज, अनुसन्धान र अध्ययन गरिरहेको छ । समकालीन स्रष्टा समालोचकहरूका अनुसार मदन विद्यार्थीकालमा साहित्यमा लागेर नै राजनीतिमा पनि सफल हुनुभएको हो ।रेडियो नेपाल

ताजा

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने

२०८३ बैशाख २० गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal