मन छुने मुस्ताङ

हिमालपारिको अनौठो मुस्ताङी संसार । कौतुकमय छहरा जस्ता छविहरू …! आँखीझ्याल जस्ता आकृतिहरू । अनेक देवीदेवताका रूपविन्यास जस्ता दैवी संरचनाहरू । हृदयको श्वेत क्यानभासमा सजाएर फुर्सदमा हेर्नुको अनेकौँ खुसी, पत्र–परागहरू । प्रकृतिले प्रदान गर्ने खुसी असीमित हुँदो रहेछ । 

ज्ञानेन्द्र विवश

मन छुने मुस्ताङको प्रकृति । देख्नुको मज्जा बेग्लै । हेर्नुको आनन्द अर्कै । अनौठो भूतलमा भव्य सुन्दरता । प्रकृतिको अचम्मकै लीला । प्रकृतिको रचना वर्णन गर्नै नसकिने । हेर्नुको प्यासले व्याकुल मन । आनन्दले मस्त तन । जहाँ अर्कै धर्तीमा पुगेको भान हुने । मन छुने मुस्ताङको प्रकृति देखेर आँखाहरू स्वतः प्रेममय बन्ने । मन रमाएर उल्लासले उन्मुक्त उडानमा वेग मार्न थाल्ने । हृदयको क्यानभासमा दृश्यहरू स्वतः लेपन हुने । अन्ततः यात्राका मिठा–मिठा यादहरू थपिँदै जाने रहेछ । जिन्दगी यात्राको एक अर्को नवीनतम अध्यायमा प्रविष्ट म । मेरा सारा रहरहरू चित्रमय दृश्यमा रूपान्तरित । प्रकृतिको काखमा लुटुपुटु, छुनुमुनु हुँदै मैले हिँडेको बाटो । मैले देखेको धरती–धाम !

मैले मेरो यात्रालाई भावनाहरूका थुङ्गा बटुलेर सुगन्धमय माला उन्नु छ । अनुभूतिको यात्रामा अभिव्यक्तिको उचाइ आरोहण गर्नु छ । देउरालीमा सुस्ताउँदै शीतल बताससँग बात मार्दै मिठो सुगन्धमा लट्ठ पर्नु छ ।

मैले हिँडेको यही बाटो हेरेर अक्षरहरूमा क्रमशः आफूलाई अनुवाद गर्नु छ । गन्तव्य नपुगुन्ज्यालको यात्रामा जिन्दगीलाई हिँडाइरहनु छ । नयाँ गन्तव्य भेटेपछि फेरि अर्को अध्याय प्रारम्भ हुन्छ । गन्तव्य कहिल्यै टुङ्गिँदैन रहेछ । आजको गन्तव्य सकिएर विश्राम लिएको भोलिपल्टै पुनः अर्को नौलो गन्तव्यको प्राप्तिमा यात्रा लम्किँदो रहेछ ।

प्रकृतिको सुन्दरताले सुसज्जित मेरो प्यारो देश त्यहाँ भेटेर रमाउनु छ अघाउँजी । देख्नु छ बिछट्टको विराट् प्रकृति । हिमाल, पहाड र मरुभूमिको संयोजनमा यौटा अलग्ग सौन्दर्य–संसार पुग्नु छ । हिमालपारिको अनौठो मुस्ताङी संसार । कौतुकमय छहराजस्ता छविहरू …! आँखीझ्याल जस्ता आकृतिहरू । अनेक देवीदेवताका रूपविन्यास जस्ता दैवीसंरचनाहरू । हृदयको श्वेत क्यानभासमा सजाएर फुर्सदमा हेर्नुको अनेकौँ खुसी, पत्र–परागहरू । प्रकृतिले प्रदान गर्ने खुसी असीमित हुँदो रहेछ । रहस्यमय भू–धरातलले पाहुना सबैलाई स्वागत गर्ने । कागबेनीबाट प्रस्थान भएपछिको दृश्य अत्यन्तै अर्कै र चाख लाग्दो । अनेकौँ रूप–सौन्दर्यका स्मारकहरू । तिनले आँखालाई लोभ्याउँदै र यात्रा स्मरणीय बनाउँदै लैजाने । दिनभरिको यात्रा पनि छिनभरको लाग्ने । समयले नेटो काटेको पत्तै नहुने । दिन ढल्किएर रात भित्रिएको पनि ख्याल नहुने रहेछ । ढुङ्गाले ढाकिएका बाटाघाटालाई उछिन्दै । बाटो हो कि खोला हो, सडक हो कि पहिरोका थुप्रो !? यिनै जङ्घारहरूलाई छिचोल्दै बल्ल सास फेरिएको थियो मार्फामा । त्यसपछि व्रmमशः अर्कै भूगोलको भूमिमा पाइलाले फड्को मार्न पुग्ने रहेछ ।

मेरा आँखा झ्यालबाहिरका कौतुकमय दृश्यमा मग्न । मेरो मन तिनै मनोरम प्रकृतिमा मक्ख । पूर्वमा नीलगिरि हिमालको उपस्थितिले स्वागत गरिरहेको । उत्तर र पश्चिममा सुक्खा पहाड । त्यही पहाडबाट अलिकति शिर उठाएर चियाइरहेका हिमाली लस्कर मार्ग । मास्तिर झन् उकालिँदै जाँदा सौन्दर्यका काया–कलेवर मनमोहक । हिमाली लस्कर, मरुभूमिका अनौठा अवस्थिति र नागबेली नदीको प्रवाह । साँच्चै लोभलाग्दो र अचम्मको प्राकृतिक संरचना ।

यही रहेछ प्राकृतिक वैभवको अनुपम परिवेशको सङ्गम । जहाँ रहस्यमय अर्थ–अभिव्यञ्जना अभिव्यक्त । जहाँ कलात्मक आकृतिहरू उहिल्यैदेखि विद्यमान ।

गन्तव्य जाने बाटो अगाडि एकनासको शून्यता व्याप्त । बोटबिरुवाविहीन उच्च पहाडी तरेलीका उकालीहरू । पठारको उकालो पाटो हुँदै जाँदा दृश्यहरूले जिज्ञासा जगाइरहने । क्रमशः अगाडि बायाँतिर कौतुकमय पहाडी अवस्थितिले मन झन्झन् चञ्चल बन्दै गइरहने । माटैमाटोका प्रत्येक पहाडमा आँखीझ्याल जस्ता, बुट्टैबुट्टाले चिरिच्याट्ट आकृतिहरू देखिने । आँखाहरू तिनैमा झुम्मिँदै लुकामारी खेल्दै रहस्यको पर्दा खोल्न खोज्ने ।

घुर्मैलो रङका आवरणमा दृश्यमान प्रकृति । सुमधुर प्रेमका स्पन्दिन आकृति । तिनै स्पन्दनमा स्नेहाशक्ति आफ्नै धरोहरप्रतिको हार्दिक भाव अभिव्यञ्जित भइरहँदो रहेछ । जहाँ क्रन्दन र तनावका हैरानी होइन । जहाँ पीडा र बेखुसीका सास्ती होइन । त्यहाँ आह्लादका प्रिय आरामदायी ओछ्यान हुन्छ । त्यहाँ स्वास्थ्य वर्धक खाना हुन्छ । मनमा शान्ति र सन्तुष्टिको पृथक् मिठास सम्मिलित भएको हुन्छ । यस्तो बेग्लै पाटो जहाँ सुन्दर नेपालको स्पष्ट छवि स्वतः अवतरित भएको हुन्छ ।

यति प्यारो मायालु धरती–धाम हिमालपारिको मुस्ताङ ! त्यसभन्दा अझ पर उपल्लो मुस्काङ्गी छटाहरू । ल्होमन्थाङका लोभलाग्दा परिवेशहरू । अलग्ग अर्कै संसारको विचरणमा हराउन पुगिँदा पनि निर्धक्क रमाउन सकिने गाउँ ठाउँहरू । यात्राका यात्रीलाई अनेकौँ प्राप्ति र परिणतिहरू । मौलिक प्रकृतिको स्वाद समग्र यात्राभर प्राप्त भइरहने रहेछ ।

अन्ततः हिमाली घेराभित्र सुक्खा धरातलमा पनि अनगन्ती उर्वर अनौठो दृश्यका उचाइहरू । भने जति, खोजे जति, देख्न सकिने जति । घुम्ती छिचोल्दै, उकालो चढ्दै जति गए पनि झन् नयाँ परिदृश्यमा आँखा लट्ठ ।

रङ्गीन स्वरूपका विचित्र बिम्बभन्दा पर सामान्य तर सर्वाधिक सौन्दर्यका खास खानी त्यहाँ । मायाले आँखा हेरिरहने । प्रकृतिप्रेमको दीप प्रज्वलनमा अथाह भावनाका भेल बगिरहने । प्रिय प्रकृतिका मादक रङमा उल्लासित मन । रहरका वैशालु तरङ्गहरू प्रज्वलित त्यहाँ ।

कालीगण्डकीको शान्त, सुन्दर नदी जस्तै निर्मल, निर्भय प्रवाहित र प्रभावित म । अनौठो प्राकृतिक विरासत देखेर लट्ठ । म प्रकृतिमा मक्ख । रङ्गीन पहाडी पाखाहरू । अझ तीभन्दा रहस्यमय मुस्ताङका गुफामय पहाडहरू ।

‘टासिडेले’ भन्दै स्थानीय आमाहरू खुसीको आत्मीय आभास बाँड्दै हिँड्ने । घुम्न आउनेहरू अचम्मको घरबार देखेर तीनछक पर्ने । भौतिकवादतिर अग्रसर आजको समाज तर यहाँ प्राचीन युगको झल्को दिने जीवनशैली र घरव्यवहार । सुनसान गाउँघर पुग्न कति लामो बाटो । त्यहाँसम्म पुग्न मरिहत्ते कति कति पदयात्री । बल्ल गाउँ पुगेपछि गल्ली पछ्याउँदै अर्को घरआँगन निस्किनु, हेर्नु, हेरेर रमाउनुको बेग्लै आनन्द ।

झट्ट हेर्दा उस्तै घरआँगन, पेटीपर्खाल र गल्लीहरू । ढुङ्गाका गल्लीको द्वार पनि उस्तै । ढुङ्गा बिछ्याइएको बाटो पनि त्यस्तै । घरैपिच्छे छानामा, छतमा दाउराका हार मिलाएर राखिएका । गोबरगुइँठाका पनि जगेडा त्यत्तिकै आगोका लागि न्यानोका निम्ति तर देखिने दृश्यहरू फरक फरक । तिनको बेग्लै स्वरूप र संरचना ।

 हिमालपारि झन् पारि पारि चुसाङ, चेले, घिमी, घामी, चाराङ, घार गुम्बा, माराङ आदि । रहस्यले भरिएका गुफा–गन्तव्य यद्यपि अनकन्टारमै छ । कल्पना मनोबिम्वका ती आकृतिहरू इतिहासका जीवित दस्ताबेज हुन् । चोसार, चुसाङका शताब्दिऔँ पुरानो मानव इतिहास बोकेर रहेका भिरका गुफाहरू । हिमालपारि उपल्लो थलो । हिमालपारि हिमालकै संसार । हिमालपारि उचाइको उन्नत पाटो । मौलिक सौन्दर्यको भण्डार । अनौठो प्रकृतिको अवस्थिति । मेरा आँखामा साक्षात्कार हिमाली पाटो । लमतन्न फैलिनुसम्म फैलिएको । प्रकृतिको चखिलो भौगोलिक बनौट । यस्ता दृश्य देखेर को पो नरमाइ रहन सक्ला । अचम्मले नहेर्ला र !

कहिल्यै नपुगेको ठाउँ । कहिल्यै नटेकेको पाइला । कहीँ कतै नदेखेका दृश्य । तिनै दृश्यले मन छुन तछाडमछाड । आँखाका परेलीका ढोका सदा खुलमखुला । हावाका वेगसरी आउने मुस्कानमय सुन्दरताका स्वरूपहरू । ती सौन्दर्यका सागरलाई मनभित्रसम्म प्रवेश गराई विराजमान गराउन हतार । 

कैयौँ जमर्को र जोडबलपछि बल्लतल्ल मुस्किलले मिलेको मिलन । जहाँ खोजेको खुसीले दिएका सन्तुष्टिहरू छन् । जहाँ सुकोमल भावनाका मुना मुहारका मुजुराहरू अङ्कुरित भइरहेछन् । बल्ल पाइला टेकेर आँखाले देखेको सपनाको अर्को सुन्दर संसार । हेरेरै अघाएका दिनहरू । मनमा राखेर फर्किएका यात्राका डोबहरू । यादका मिठा–मिठा सौगातहरूले भरिपूर्ण लेखनका ऊर्जाहरू । तिनै ऊर्जाले उत्साहित ज्यान–प्राण घर फर्किएपछिको खुसीसँग थप आह्लादित भएको मन ।

मन छुने मुस्ताङका प्रकृतिलाई सतत नमन ! मन छुने दृश्यहरूले सुसज्जित मुस्ताङ तिमीलाई बिर्सन सकिँदैन कहिल्यै … ! म मुस्ताङका यात्राका मिठा यादहरूमा छु । नियात्रा,स्रोतःगोप


ताजा

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal