सन्दर्भ कुशे औँसी : छोरा कुरिरहनुभएका बा !

डम्मर बुढा मगर

ढोरपाटन (बागलुङ),२८ भदौ-आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजका दिन आफ्नो बुबालाई भेटेर मीठा परिकार खान दिने, उपहार दिने र आशीर्वाद लिने चलन छ । बुबालाई भेट्न नसक्नेले भने फोन तथा श्रव्यदृश्य फोनका माध्यमबाट बुबाको मुख हेर्ने गर्छन् । आजको दिन आफ्ना छोराछोरीसँगै होउन् भन्ने हरेक बाआमालाई हुन्छ । 

बागलुङको बागलुङ नगरपालिका–१३ पैयुँपाटाका ७० वर्षीय केशवराज पाठकलाई पनि त्यस्तै लागेको थियो । तर उहाँ चाहेर पनि आफ्नो सन्तान सँगसँगै हुन पाउनु भएको छैन । अहिले उहाँ मानव सेवा आश्रम बागलुङमा आश्रय लिएर बस्नुभएको छ । हरेक दिन आश्रमको प्रवेशद्वार नजिकै अनुहार चाउरिएको, सेतै कपाल फुलेका तथा हातमा सानो मोबाइलमा गीत बजाएर सुनिरहेको अवस्थामा भेटिनुहुने पाठक आफ्ना छोराहरू लिन आउँछन् भन्ने आसमा हुनुहुन्छ । उहाँको निन्याउरो अनुहारमा धेरै निराश र अलिअलि आशाका किरण देखिन्छन् । पाठकले मानवसेवा आश्रमभित्र प्रवेश गर्ने सबैलाई नमस्ते गर्दै स्वागत गर्ने गर्नुहुन्छ । पाठक दुई वर्षदेखि मानव सेवा आश्रममा बस्दै आउनुभएको छ । उहाँ घरीघरी छोराहरूलाई सम्झनुहुन्छ । तर छोराहरू भने उहाँलाई सम्झँदैनन् ।

पाठकका तीन भाइ छोरा हुनुहुन्छ । जेठो र माइलो भारतको वनरासमा हुनुहुन्छ भने कान्छो छोरा भने कुवेतमा हुनुहुन्छ । पाठकका दुई बुहारी र छ नातिनातिना पनि हुनुहुन्छ तर उहाँलाई कसैले पनि सम्झिन्न । तीन वर्ष अगाडि श्रीमती गुमाउनुभएका पाठक कान्छी बुहारीसँग केही महिना बिताउनुभयो । पोखराबाट लुम्बिनी जाने क्रममा बिच सडकमै अलपत्र पारेर छोरा बुहारी सम्पर्कविहीन भएपछि पाठक बागलुङ फर्किनुभयो । बागलुङ फर्किएपछि मानव सेवा आश्रममा आउनुभयो । अहिले पाठकको दैनिकी आश्रममै बित्ने गरेको छ ।

आज भाद्र कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजको दिनले पाठकलाई निकै पिरोल्ने गर्छ । छोराहरूले सानो छँदा बाबा भनेर अङ्गालो र ठियुँमा झुन्डिएको यादले यहाँलाई सताउने गर्छ । अहिले तिनै छोराले नसम्झिँदा मन दुख्ने पाठकले बताउनुभयो । छोराहरू हुर्काउन, बढाउन र पढाउन आफूले निकै सङ्घर्ष गरेको सुनाउनुभयो । अझै पनि छोराहरूले आफूलाई साथैमा लिएर पाल्ने आस उहाँमा छ । तर जेठो र माइलोसँग चार वर्षदेखि र कान्छोसँग तीन वर्षदेखि उहाँको सम्पर्क भएको छैन ।

“म सामान्य परिवारको मान्छे हुँ, मेरा छोराहरूले दुःख पाउँछन् भनेर मैले २० वर्ष भारतमा रगत पसिना बगाएर धन कमाएँ, बुढीले गाउँघरमा हात खुट्टा बजारेर उनीहरूलाई हुर्काइन्, उनीहरूले पढ्न जाहे जति पढाएँ पनि, जब बुढी बिती, त्यसपछि छोराहरूले मलाई हेर्न छोडे”, पाठकले भन्नुभयो, “अब हातपाखुरा बस्न थाले, छोराहरूले पनि मलाई एक्लो बनाए, किन मलाई यस्तो ठाउँमा पु¥याए मैले केही बुझ्न सकेको छैन, अझै पनि आस त लाग्दो रैछ लैजान्छन् कि भन्ने तर अहिले कहाँ छन्, के गर्दैछन् केही थाहा छैन ।”

पाठकले छोराहरू पाल्नका लागि पुस माघको जाडोमा खाली खुट्टा स्याङ्जाबाट नुन र चामल बोकेर ल्याएर खुवाएको भन्दै अहिले त्यो दुःख भुलेर छोराहरूले आफूलाई हेला गरेको बताउनुहुन्छ । गाउँमा थोरै जग्गा जमिन भए पनि आफू आश्रममै बस्ने गरेको पाठकले बताउनुभयो । कुशे औँसीमा आफूले बाबाको मुख हेर्ने गर्दा छोराहरूले त्यो सिके पनि अहिले स्वार्थी बनेको गुनासो पोख्नुभयो । 

पछिल्लो समय पाठकलाई जस्तै धेरै सन्तानले आफ्ना बाबाआमालाई आश्रममा राख्ने गरेको पाइन्छ । अहिले धेरै युवायुवती प्रदेशमा छन् । गाउँमा बूढा बाआमा मात्रै छन् । पाठकले समय समयमा आफ्नो परिवारलाई सम्झेर निराश हुने गरेको मानव सेवा आश्रम बागलुङकी प्रमुख बिपना तामाङले बताउनुभयो । परिवारले नहेरेपछि पाठकलाई आश्रममा ल्याइएको तामाङको भनाइ छ । अहिले पाकठले आश्रममा निकै इमान्दार भएर बसेको भन्दै सकेको कामसमेत गर्ने गरेको उहाँले बताउनुभयो । 

“बुबाले आफ्नो छोराहरूलाई धेरै सम्झिनुहुन्छ, तर छोराहरू कहाँ हुनुहुन्छ भन्ने थाहा छैन, उहाँले विदेश छन् भन्नुहुन्छ, अहिलेसम्म उहाँहरू बुबालाई भेट्न एक पटक पनि यहाँ आउनुभएको छैन, धेरै दुःखका कुरा गर्नुहुन्छ”, तामाङ भन्नुहुन्छ”, “यहाँ बस्न थालेको धेरै समय भयो, बूढाबूढी मान्छे सकेको काम गर्न खोज्नुहुन्छ, आश्रममा धेरै बालबालिका पनि छन् उनीहरूलाई हेर्ने, अरू काम पनि गर्छु भन्नुहुन्छ, जस्तो भए पनि बुबालाई भेट्न आउनुपर्थ्यो, छोराहरू आए हुन्छ रु भन्दा जान्छु भन्नुहुन्छ, बेला बेला निराश हुने गर्नुहुन्छ, हामीले सम्झाउने गरेका छौँ ।”रासस

ताजा

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal