विद्यालयमा सूचना तथा सञ्चार प्रविधि प्रयोगका चुनौतीहरु

मास्टरले फेसबुक चलाउँछन् भन्ने डरले प्रधानाध्यापकले इन्टरनेट जोड्दैनन् ।

युवराज पौडेल

सामान्यतयः सूचना तथा सञ्चार प्रविधि भन्नाले सूचनाको सङ्कलन, सम्प्रेषण एवम् सञ्चार गर्ने पत्रपत्रिका, कम्प्युटर, हार्डवेयर, इन्टरनेट आदिको समष्टिगत रुप भन्ने बुझिन्छ । सूचनाभित्र खबर, विचारहरु, संवेगहरु, अनुभव, दृष्टिकोण, तर्क, तथ्य, वणर्न आदि पर्दछन् । सूचना आदानप्रदान गर्ने कार्य नै सञ्चार हो । प्रविधि भनेको सूचनाको सञ्चार गर्ने आधुनिक माध्यम हो । कम्प्युटर, इमेल, इन्टरनेट आदिको उपयोग गरी शिक्षा प्रदान गर्ने कार्य यसभित्र पर्दछ । आजको दुनिया डिजिटल दुनिया हो । विश्व नै सूचनाका प्रविधिहरुले एउटा ‘स्मार्ट भिलेज’ बनिरहेको वर्तमान अवस्थामा नेपालको विद्यालय शिक्षामा पनि यसको प्रयोग अति आवश्यक देखिएको छ ।
नेपालमा विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगतर्फ केही सकारात्मक प्रयासहरु भएका छन् तापनि सन्तोष गर्ने अवस्था छैन । सहर र गाउँको ’डिजिटल ग्याब‘ का कारण पनि गाउँघरका विद्यालयहरुमा प्रविधको प्रयोग राम्ररी हुन सकेको छैन । आज पनि सहरबजारका केही सुविधासम्पन्न नाम चलेका विद्यालयहरुमा बाहेक सूचना तथा सञ्चार प्रविधिको प्रयोग कमजोर अवस्थामै छ । संसारले सूचना प्रविधिमा हासिल गरेका नवीनत उपलब्धिहरुलाई शिक्षामा प्रयोग गरेर ठूलो सफलता हासिल गरिसक्दा पनि हाम्रो अवस्था ‘आकासको फल आँखा तरी मर’ भनेजस्तै छ ।
आफू विद्यालय शिक्षासँग सम्बन्धित एउटा पात्र भएकाले मैले यससम्बन्धमा केही अनुभवहरु बटुल्ने अवसर पनि पाएको छु जसलाई म यो आलेखमा संक्षिप्तमा उल्लेख गर्ने प्रयास गरेको छु । नेपालका अधिकांश विद्यालयमा आज पनि कम्प्युटर तथा इन्टरनेटको प्रयोग चिन्ताजनक अवस्थामै छ । खासगरी दूरदराजका ग्रामीण सार्वजनिक विद्यालयहरुले कम्प्युटर तथा इन्टरनेटको पहुँच पुर्‍याउन सकेका छैनन् । विद्यालयहरुमा विभिन्न स्रोतबाट कम्प्युटरहरु किनिन्छन् । ती किनिएका कम्प्युटर एउटा कोठामा सजाएर राखिन्छ । केही दिन तामझामजस्तो हुन्छ । केही दिनपछि कुनै कम्प्युटरका ‘माउस’ हुँदैनन्, कुनैका ‘किबोर्ड’ हुँदैनन्, कुनै बिग्रेका हुन्छन् ।
कुनै तार मुसाले खाएका अवस्थामा भेटिन्छन् । तिनै बिग्रेका कम्प्युटर देखाएर कति विद्यालयले त अभिभावकहरुसँग छुट्टै ‘कम्प्युटर फि’ भनेर पैसा समेत मासिक रुपमा लिने गरेका छन्् । पैसा तिर्ने विद्यार्थीले पनि वास्तवमा ती कम्प्युटरहरु चलाएर होइन, हेरेरै चित्त बुझाएका हुन्छन् । केही गरी अभिभावक वा समुदायको दबाब पर्‍यो भने मुस्किलले मात्र ती सामग्री मर्मत गरिन्छ । इन्टरनेट त धेरै टाढाको विषय भयो । धेरै विद्यालयमा आज पनि इन्टरनेट छैन । इन्टरनेट जोडेकाहरुमा पनि सेवाको निरन्तरता छैन । कतिपय विद्यालयमा ‘राउटर’ बिग्रिएपछि मर्मतै नभइ थन्किएका हुन्छन् भने कतिले ‘वाइफाइ’ को मासिक महसुल नतिरेको अवस्था हुन्छ । कतिपय विद्यालयमा शिक्षकले ‘फेसबुक’, ‘म्यासेन्जर’ चलाउँछन् भनेर जोडिएको इन्टरनेट पनि काटिएको देखिएको छ ।
विद्यालयमा कम्प्युटर बिग्रिहाल्दा बनाउने जनशक्तिको अभाव छ । सामान्य कुरा बिग्रदाँ पनि कतिपय दुर्गम ठाउँमा मर्मत गर्न नसकेर कप्प्युटर त्यत्तिकै थन्किइरहेका हुन्छन् । अर्को कुरा भौतिक पूर्वाधारहरु प्रविधि अनुकूल नभएको अवस्था छ । कम्प्युटर र इन्टरनेटका सम्बन्धमा जानकार रहेका शिक्षकहरु विद्यालयमा कमै मात्र हुने गर्छन् । शिक्षक सेवा आयोगबाट आएका केही पछिल्ला युवाहरु बाहेक अधिकांश पुराना ढर्राका शिक्षकहरु विद्यालय शिक्षामा आज पनि क्रियाशील छन् । उनीहरुलाई कम्प्युटर वा आधुनिक सूचना प्रविधिको ज्ञान छैन । फेरि उनीहरु यससम्बन्धी ज्ञान लिन पनि चाहन्नन् । उनीहरु ‘प्रोफेसर शर्माको डायरी’ जस्तै पुरानो ‘घोकाउने र रटाउने’ पद्धतिमै रमाउन चाहन्छन् ।
कतिपय पाका शिक्षकहरुलाई कम्प्युटर सिक्नोस् भन्ने हो भने, ‘अब हामी बुढालाई यस्तो घाँडो के चाहियो, अब केही वर्षमा निक्लिने हो’ भन्ने जस्ता प्रतिक्रिया दिइरहेको पाइन्छ । समय अनुसार शिक्षा दिने पद्धतिमा आएको बदलाब वा समयको पदचापलाई उनीहरुले बेवास्ता गरिदिन्छन् । विद्यालयमा कम्प्युटर पढाउने शिक्षकले पनि कम्प्युटरको कोरा सिद्धान्त नै पढाउँदा बढी रमाउने गरेको पाइन्छ । फेरि धेरै विद्यालयमा आज पनि खास ‘आइटी’ कम्प्युटरका जनशक्ति छैनन् । कामचलाउ कम्प्युटर शिक्षकको प्रयोग गरिएको अवस्था छ । विद्यालयले पनि सबै शिक्षकहरुलाई कम्तीमा कम्प्युटर र इन्टरनेट सम्बन्धी आधारभूत ज्ञान दिने वातावरण मिलाउन सकेका हुँदैनन् । शिक्षा समन्वय तथा स्थानीय निकायहरु पनि यस्ता कुरामा खासै चासो दिँदैनन् ।
कतिपय विद्यालयमा कम्प्युटर प्रशस्त छन्, प्रत्येक शिक्षकलाई ल्यापटप पनि दिइएको छ । विद्यालयमा उच्च गतिको इन्टरनेट पनि जोडिएको छ । तर ती प्रविधिको प्रयोग कसरी गर्ने भन्ने सम्बन्धमा एकप्रकारको अलमल भएको पाइन्छ । विद्यार्थीलाई के कुरा कसरी, कतिबेला, कुन प्रविधिको माध्यमबाट सिकाउने भन्ने सम्बन्धमा ज्ञानको कमी भएकाले ती स्रोत साधनको समुचित प्रयोग भएको पाइँदैन । साधन नै नहुने एउटा समस्या छ भने भएका साधनको उचित प्रयोग गर्ने चुस्त व्यवस्थापनको कमी अर्को समस्या छ ।
आजका बच्चाहरु प्रविधिमा धेरै अगाडि भइसके । बाबुआमाले नजानेका थुप्रै कुराहरु ५ वर्षको बच्चाले जानिसकेको हुन्छ । प्रत्येक बच्चाका घरमा स्मार्टफोन, आईप्याड, आईफोन, ल्यापटप आदि कुनै न कुनै सामग्री भएकै हुन्छ । बच्चाहरुको रुचि आजभोलि स्मार्ट प्रविधिमा बढी छ । अब ज्ञान वा सूचना प्राप्तिका लागि कोही विद्यार्थी विद्यालय आउँदैन । बच्चाहरु प्रविधमैत्री भइसक्दा शिक्षक उही पुरानो बीस वर्ष अगाडि पढेको ज्ञानका आधारमा पुरेत बाजेले पाठ पढेजस्तो पढेर आजका बच्चाहरुको मनोविज्ञानलाई पक्डन सकिन्न । उनीहरुको रुचि एकातिर छ, हामीले अर्कैतिर ठेलेर बच्चाले सिकाइमा प्रगति गर्न सक्दैन ।
स्वभाविक छ, समय अनुसार आजका बच्चाले प्रविधिको माध्यमबाट सिक्न चाहन्छ । फेरि, प्रविधिको प्रयोग मार्फत् सिकाएको सिकाइ असाध्यै प्रभावकारी र दिगो पनि हुन्छ । शिक्षकलाई पनि कक्षामा कराइरहनु पर्दैन । शिक्षकका लागि पनि प्रविधिको प्रयोग सजिलो र सहज छ । तर यति हुँदा पनि हामी परम्परागत ‘सुगा रटाइ’ को सीमित सिकाइ पद्धति बाहिर आउने प्रयास गरिरहेका हुन्नौँ । हामीले महिनौ सिकाउने विषयवस्तु प्रविधिको माध्यमबाट एक/दुई दिनमै सिकाउन सकिन्छ । शिक्षकले पढाउँदा विद्यार्थीले हल्ला गर्छ भन्ने शिक्षकहरुकै गुनासो हुन्छ तर प्रविधिको प्रयोगमार्फत् सिकाउँदा विद्यार्थी हल्ला पनि गर्दैनन् ।
आज इन्टरनेटबाट संसारका सबै विषयको ज्ञान वा सीप प्राप्त गर्न सकिने अवस्था छ । ‘गुगल सर्च’ बाट पनि विद्यार्थीले आफूलाई समस्या परेका विषयहरु प्राप्त गर्न सक्छन् । ‘युट्युब’ मा पनि सिकाइसँग सम्बन्धित थुप्रै सामग्री उपलब्ध छन् । ‘इलर्निङ’ सँग सम्बन्धित थुप्रै ‘एप्प्स’ हरुको विकास भइसकेको छ । शिक्षण सिकाइसँग सम्बन्धित ‘सफ्टवेयर’ हरु पनि प्रशस्त पाइने अवस्था छ । वास्तवमै अलिकति इच्छाशक्ति हुने हो भने विद्यालयमा प्रविधिको प्रयोग गर्न अब कठिन विषय पनि छैन । एक/दुई वटा ‘प्रोजेक्टर’ जडान गरेर हल निर्माण गर्न ठूलो लगानी पनि चाहिन्न ।
विद्यार्थीले फिल्म हलमा बसेर पिल्म हेरेझैं अनुभूति हुने गरी ‘प्रोजेक्टर’ मार्फत् विद्यालयमै सिकाउन सकिन्छ । यसले विद्यालयको ‘ड्रप आउट’ लाई पनि रोक्न मद्धत गर्छ । ससाना नर्सरी तथा पूर्व प्राथमिक तहमा पढ्ने विद्यार्थीलाई प्रोजेक्टर, टेलिभिजन वा अन्य माध्यमबाट सिकाइसँग सम्बन्धित भिडियोहरु तथा अडियोहरु सिकाउन सकिन्छ । यसबाट उनीहरुलाई विद्यालय आऊँआऊँ लाग्छ । विद्यालयमा रमाइलो महसुस गर्न थाल्छन् । पढाइमा पनि रुचि बढ्दै जान्छ । फेरि यसबाट सिकेको कुरा तिनीहरुले लामो समयसम्म सम्झन पनि सक्छन् ।
विद्यालयमा प्रविधि प्रयोगको अर्को पक्ष पनि छ, त्यो विद्यालयका प्रशासनिक तथा दैनिक क्रियाकलापहरुमा कम्प्युटर तथा इन्टरनेटको प्रयोगको पक्ष हो । आज पनि थुप्रै विद्यालयमा विद्यार्थीले शुल्क बुझाउन जाँदा उही पुरानो तरिकाको ‘रसिद’ काटेर दिने प्रचलन छ । विद्यार्थीलाई ‘मार्कसिट’ वा ‘चारित्रिक प्रमाणपत्र’ वा अन्य कागजात बनाउँदा पनि कम्प्युटर तथा इन्टरनेटको प्रयोग भएको पाइँदैन । शिक्षा मन्त्रालयले तयार गरेका कतिपय सप्mटवेयरहरु पनि विद्यालयमा चलाउन नसकेको अवस्था छ । विद्यार्थी मूल्याङ्कनको क्षेत्रमा त झन् प्रविधिको प्रयोग धेरै प्रभावकारी हुन्छ । तर यसतर्फ सम्बन्धित सरोकारवालाहरुको खासै ध्यान पुग्न सकेको छैन ।
सार्वजनिक विद्यालयका व्यवस्थापन समितिहरु खालि नयाँ भवन बनाउने ध्याउन्नमा नै लाग्ने गरेका देखिन्छन् र प्रअको रुचि पनि त्यतैतिर बढी देखिने गरेको छ । ससाना कुरामा परिवर्तन गर्दा विद्यालय शिक्षाको गुणस्तरमा ठूलो परिवर्तन ल्याउन सकिन्छ भन्नेतर्फ तिनको ध्यान जान सकेको छैन । ठूला र सुविधासम्पन्न भवन भए पनि शिक्षण सिकाइको तरिका उही पुरानो भयो भने ती भवनको के अर्थ रहन्छ होला र ? खासमा आजका विद्यालयहरुको समस्या भौतिक भन्दा पनि कक्षाकोठाभित्रको सिकाइको समस्या हो, पाठ्यक्रम र पाठ्युपुस्तकको समस्या हो ।ं सबै कुरा भएर पनि सिकाइ पद्धतिमा नवीनता आएन भने आजका विद्यार्थीका आवश्यकता पूरा गर्न सकिँदैन भन्ने तथ्यलाई सबैले मनन गर्नु जरुरी भइसकेको छ । युवराज पौडेल, आँधिखोला ५,स्याङ्जा

ताजा

कविता: रैती

२०८१ माघ ३ गते, बिहीबार

कविता: रैती

२०८१ माघ ३ गते, बिहीबार

माघे सङ्क्रान्तिमा सेतीवेणीमा भक्तजन

२०८१ माघ १ गते, मंगलवार

विरुवा गाउँपालिकामा जनतासँग जनप्रतिनिधी, जेष्ठ नागरिकलाई सम्मानमा

२०८१ माघ १ गते, मंगलवार

विरुवामा छातीरोग सम्बन्धी शिविर

२०८१ पुष २९ गते, सोमबार

भूमि समस्या समाधान आयाेग स्याङ्जाकाे अध्यक्षमा तारा शर्मा

२०८१ पुष २९ गते, सोमबार

प्रेस सेन्टर स्याङ्जाको अधिवेशन सम्पन्न, अध्यक्षमा केपी खनाल

२०८१ पुष २९ गते, सोमबार

हरिनास गाउँपालिकाद्वारा स्थानीय मदिराको ब्राण्डीङ संगै एकल पुरुषलाई भत्ता

२०८१ पुष २९ गते, सोमबार

एमाले वालिङद्वारा अभिमुखिकरण कार्यक्रम सम्पन्न

२०८१ पुष २८ गते, आईतवार

‘उच्च शिक्षा मापदण्ड ऐन ल्याएर मात्र थप विश्वविद्यालय’

२०८१ पुष २५ गते, बिहीबार

रास्वपाका सभापति लामिछानेसहित छ प्रतिवादीले बुझाए धरौटी

२०८१ पुष २५ गते, बिहीबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal