नीरफूल अर्गानिक चलचित्र
‘आमा निबा…’
‘आमा निबा…’
‘आमा निबा…’
पिङ्चावतीको लगातारको यस्तो अनुनय म बुझ्दिनँ । उसको फुत्किने यत्न, उसको गलाको क्रन्दन, उसको निरर्थक कोसिस सबै बुझ्छु तर ‘आमा निबा’ शब्द म बुझ्दिनँ । म सँगसँगै त्यो व्यवस्था, त्यो शासकले पनि ‘आमा निबा’ को अर्थ बुझ्दैन । चलचित्र ‘नीरफूल’ हेर्दै गर्दा मभित्र सोचाइको हुन्डरी मच्चिँदै थियो । मेरा आँखा चलचित्रको पर्दामै टाँसिइरहेका थिए ।
मुलुकको बहुसांस्कृतिक समाज, रीतिथिति, मेला पर्व, हाम्रै उकाली, ओरालीमा तैरिइरहेका कथालाई चलचित्रमा खिप्न छाडेर बलिउडका सस्ता चलचित्रको नक्कल उतार्नमा व्यस्त मूलधारलाई केही उत्साही चलचित्रकर्मी लगातार चुनौती दिँदै छन् । नवीन सुब्बा, दीपेन्द्र के. खनाल, खगेन्द्र लामिछाने, अनुप बराल, मनोज पण्डित, विनोद पौडेल, मीनबहादुर भाम, श्रीराम दाहाल, उपेन्द्र सुब्बा, सुजित बिडारी र विक्रम सापकोटासँगै उभिन आइपुग्नुभएको छ – फूलमान बल, चलचित्र ‘नीरफूल’ मार्फत । तामाङ समुदायका पात्रले भूकम्पताका भोगेका कथा, व्यथालाई पस्कने व्रmममा बलले समग्र समाज–व्यवस्थाको चरित्र उजागर गर्दै एउटा अर्गानिक स्वाद पस्कनुभएको छ ।
भेडीखर्कको दैनन्दिनीबाट कथा सुरु हुन्छ । चेन्जारोङको ठुलो सपना छैन । उनको सपनालाई आर्थिक उन्नति नै वास्तविक उन्नति हो भन्ने यो समाजको भाष्यले विकृत तुल्याइसकेको छैन । उनी भुइँकुहिरो जत्तिकै फुक्का–फुक्का खर्कहरूमा कुदिहिँड्न चाहन्छन् । स्युरल्हामोको चोलीका तुनामा बुकीफूल भई बाँधिन चाहन्छन् । उनको यो सरल बचाइको एउटा सरल सपना छ – छोरी पिङ्चावतीलाई स्याब्रुतिर स्कुल भर्ना गरिदिने, छोरीलाई मनग्गे पढाउने । चेन्जारोङकी श्रीमती स्युरल्हामोको सपना छ अरू छिमेकीले जस्तै त्रिशूली या त स्याब्रुतिर पक्की घर ठड्याउने, छोरी पढाउने र यो लेकको अप्ठ्यारो जीवनबाट छुट्कारा पाउने । यहाँ फुक्काफाल भएर बाँचिहिँड्ने चेन्जारोङले अहिलेको समाजले प्रगति मानेको पैसा कमाउनुलाई मात्र प्रगति मानेको छैन । अनि व्यक्तिको इज्जत–प्रतिष्ठा कमाइमा भर पर्छ भन्ने कुरालाई पनि बेवास्ता गरेको छ तर उसकी श्रीमती स्युरल्हामो फरक छे । ऊ भौतिक उन्नतिका लागि लेकमा भेडा चराउने होइन, वैदेशिक रोजगारी रोज्नुपर्ने पक्षमा हुन्छे । श्रीमतीको जिरह अघिल्तिर उसको केही लाग्दैन । ऊ मलेसिया जान राजी हुन्छ ।
खासमा तमाम नेपाली भुइँमान्छेको प्रतिनिधित्व चेन्जारोङले गरेको छ । डाँडामाथि जून भइसकेका बाआमा छोडेर, गर्भमा हुर्कंदै गरेको सन्तान र दोजिया श्रीमती छोडेर डाँडापाखा साथीसँगी छोडेर विदेशी भूमि उर्वर बनाउन अभिशप्त नेपाली युवाको वैदेशिक रोजगारीको लाममा चेन्जोरोङ उभिन्छ । सिन्कासिन्की जम्मा पारेर खिपेको गुँडमा स्युरल्हामो र पिङ्चावती मात्र सुखका दिन कल्पँदै बस्छन् । र, सुखको बिस्कुनमाथि असमयको असिना पानी खनिए झैँ गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर ७.८ रेक्टरको विनाशकारी भूकम्प आउँछ ।
चारैतिर कोलाहल छाउँछ । बारीमा काम गर्दै गरेकी आमाका लागि पानी लिन गएकी पिङ्चावती भूकम्पको धक्काले ढलेको घरसँगै पुरिन्छे । छोरी पसेको घर ढलेपछि आमाको हृदयले त्यो बज्रको प्रहारसमान स्थिति थाम्न सक्दैन र उनी बेहोस हुन्छे । भूकम्पको दृश्यले दर्शकलाई आठ वर्षअघि आफूले भोगेको त्रासद समयतिर लैजान्छ । चारैतिर कोलाहल, चारैतिर त्रास, ओठमुख सुकेका अनुहारहरू, लालाबाला सम्हाल्दैका आमाबा, अस्पताल कुदाउँदैका आफन्त, कुहिरीमण्डल धुलो उडेको वायुमण्डल बस् । जीवनको निरीहता कत्ति सजिलै प्राकृतिक विपत्तिले देखाइदिएको नि ! संसारै आफ्नो मुट्ठीमा छ ठान्ने मान्छेहरू पाल खोज्दै भौँतारिन बाध्य भएको थियो त्यो समय । नेपालमा सात हजार ४८६ जना मान्छेको मृत्यु भएको थियो । १७ हजार ८६६ जना घाइते भएका थिए । हजारौँ घर भत्केका थिए । मान्छेहरू बेघर, बेसहारा भएका थिए । नेपालैभरि मच्चिएको यो हाहाकार चलचित्रको पर्दामा चलिरहँदा सो पीडामा दर्शक आफूलाई पनि सँगसँगै बगाउँदै लान्छन् । जसोतसो पिङ्चावतीलाई उद्धार गरी पहिला स्याब्रु, स्याब्रुपछि काठमाडौँ लगिन्छ । लोग्ने मलेसियामा, अब छोरी खोज्ने जिम्मेवारी सोझी स्युरल्हामोको थाप्लामा आउँछ ।
स्युरल्हामोको छोरी खोज्दाको सङ्घर्ष, एउटी महिलाका अगाडि सधैँ तेर्सिने पुरुषप्रधान समाजको दाह्रा र नङ्ग्रा, विपत्को समय कुरेर बसिरहेका समाजका धमिराहरूको जगजगी, लोकतान्त्रिक पद्धतिमा पनि भुइँमान्छेको मिडियामा पहुँच नहुनु जस्तै अनेकौँ जल्दाबल्दा विषय चलचित्रको पर्दामा प्रस्ट रेखा कोर्न थाल्छन् । सरल मान्छेका लागि यो समाज कहिल्यै सरल भएन । वर्षौंदेखि थिचिँदै मिचिँदै आएका जातजातिहरू आजको समयमा पनि थिचिँदै मिचिँदै बाँच्न बाध्य छन् । फगत थिच्ने मिच्ने तरिका परिवर्तन भएको छ ।
हेलिकोप्टरबाट उद्धार गरी ल्याइएकी पिङ्चावती आफ्नो मातृभाषा मात्र बुझ्छे । ‘आमा निबा’ अर्थात् ‘आमा जाने’ भन्ने उसको रुवाइ बुझ्ने कसले ? उसलाई आफ्नो ठेगाना पाङसाङ भन्ने थाहा छ तर पाङसाङ कहाँ छ ? राजधानीलाई थाहा छैन । किनकि राजधानीले पाङसाङलाई रुबी भ्याली बनाइसकेको छ ।
नामका लागि समाजसेवा गर्ने र टिभी/रेडियोमा आफ्ना नामको डङ्का बजाउने नेता हुँदै बालगृह र बालबालिका बेचबिखन गिरोहका हातमा पिङ्चावती पर्छे भने एक्ली सोझी महिलालाई काठमाडौँ कत्तिको सुरक्षित छ भन्ने स्युरल्हामोको अवस्थाले बताउँछ । छोरी हराएको पीरमा वैदेशिक रोजगारी भर्सेलामा परोस् भन्दै नेपाल हान्निएको चेन्जारोङ पनि काठमाडौँमा स्युरल्हामो र पिङ्चावती खोज्न थाल्छ । फोटो पत्रकारसँगको उसको भेटले दर्शकमा आशा त पलाउँछ तर मिडिया भुइँमान्छेको पहुँचभन्दा धेरै माथि हुन्छ भन्ने तितो सत्यसँग साक्षात्कार हुनुपर्दा खोजीले पूर्णता पाउने कुरामा धरमरको अवस्था आउन पुग्छ । आमाको हृदय पीडा, यातना र निराशाले टुक्रिएको छ । ऊ काठमाडौँका गल्लीगल्लीमा आफ्नी छोरीको उमेरका केटीहरूलाई छोरी पिङ्चावती देखेर झम्टन थाल्छे र अन्त्यमा पागलखानामा पुग्छे ।
यता भौँतारिँदा भौँतारिँदै चेन्जारोङले छोरी पिङ्चावतीलाई बालबालिका तस्करले गाडीमा राखेर कतै लान लागेको ठाउँमा भेट्टाउँछ । ऊ छोरीलाई तस्करबाट छुटाउन सफल हुन्छ । यो छोरी आफैँले भेट्ने र संयोगले भेटिने कुराले अलिकति ‘फिल्मी मसला’ थपेको भान हुन्छ । छोरी फोटो पत्रकारको खोज, अनुसन्धान र लगातारको कोसिसको प्रतिफलले भेटिएकी बनाउँदा राम्रो देखिने थियो । छोरी भेटे पनि छोरीकी आमा भेटिँदैन । छोरीलाई गाउँ छोडेर पुनः सहर आई स्युरल्हामोलाई खोज्ने सङ्कल्पसाथ ऊ गाउँ जान्छ । खोला तर्दा ऊ निलो फूल चढाउन खोज्छ । निलो फूल देवतालाई चढ्दैन भनेर आमाले कुनै बेला भनेको कुरा छोरी बुवालाई भन्छे । अब सबै फूल देवतालाई चढ्नु पर्छ भनी ऊ नीरफूल लेकाली खोलामा बगाइदिन्छ ।
पर्दामा त चलचित्र समाप्त हुन्छ तर मनको सिनेमा घरमा भने ‘नीरफूल’ लगातार चलिरहन्छ । सन् १९६०/७० तिर समानान्तर सिनेमाले भारतमा एउटा लहर ल्याएको थियो । सत्यजित रे, मृणाल सेन, वासु चटर्जी जस्ता निर्देशकले सिनेमाको पुरातन ‘फ्रेम’ लाई नै मोडिदिएका थिए । इटाली र फ्रान्सका यथार्थवादी धारका सिनेमाहरूको प्रभाव र जीवनलाई जीवन जस्तै पस्कने हुटहुटीले ‘पाथेर पाञ्चाली’, ‘भुवन सोम’, ‘सारा आकास’, ‘३६ चौरङ्गी लेन’, ‘हजार चौरासीकी माँ’ जस्ता चलचित्र बनेका थिए । बिक्ने सिनेमा बनाउने कि टिक्ने सिनेमा बनाउने भन्ने तात्तातो बहस थियो । त्यो समयमा बनेका सिनेमा अनि तिनै भावधारामा बहेर अझै बन्दै गरेका सिनेमा नै संसारसामु भारत आफ्ना अब्बल चलचित्र भनी अहिले पनि प्रस्तुत गर्दछ । हामीले संसारसामु पस्कने पनि त आफ्नो रीतिथिति, संस्कृति, समाज, लोकगीत, लोकबाजा अनि हाम्रो मौलिक साहित्य र सोचविचारै त हुन् । ढुङ््गामाथि ढुङ्गा थप्दै माने उठाउने कुरा हुन् वा कामना पूर्तिका लागि खोलाखाली फूलपाती चढाएर नमन गर्ने कुरा हुन् । जोखानाले मनको पीर कम गर्ने कुरादेखि बिनायो बजाउँदै आफूलाई हल्का बनाउने कुराले हाम्रा मौलिक कथालाई अझ सशक्त बनाउँछन् । ‘नीरफूल’ यी विषयमा प्रस्ट छ ।
‘नीरफूल’ले उठाएका सवाल, यसले पर्दा उठाइदिएर खोलिदिएको मानिसको मुकुन्डो, यसले पहिचानका विषयमा उठाएको शालीन आवाज, यसले पस्केको मिथक, यसले बुनेको विम्ब र प्रतीकको कलात्मक खेल, लेकमा बाह्रैमास फर्फराई बस्ने लुङ्दरको हृदय, भेडाहरूको सुधोपन र खर्कको सरल जीवन । हामीसँगै हुर्के बढेका मौलिक कथालाई फूलमान बलले टपक्क टिप्नुभएको छ । एउट चल्तीको सिनेमाका लागि ‘सेट फर्मुला’ जो बनिबनाउ हुन्छ, त्यो उहाँले तोड्नुभएको छ । हामी देख्न सक्छौँ, लोकप्रिय सिनेमा बनाउने नाउँमा यी ‘सेट फर्मुला’ धारीले दर्शकको अभिरुचिलाई विकृत बनाउन कुनै कसर बाँकी राखेका छैनन् । यस्तो अवस्थाबाट दर्शकको अभिरुचि खनीखोस्री जुन अर्गानिक कथा उहाँले पस्कनुभएको छ, यो पक्कै पनि सुखद पक्ष हो ।गोप