पत्रकारितासँगै व्यावसायिक अचार उत्पादनमा ‘बन्दना’

सुशीला रेग्मी

पाल्पा,४ चैत– व्यक्ति एक ठाउँअनुसार उसको भूमिका अनेक हुन सक्छन् भन्ने उदाहरणीय बन्नुभएको छ, बन्दना पोखरेल । पत्रकारिता, सामाजिक अभियान्ताको रुपमा पाल्पामा राम्रो पहिचान बनाउनुभएकी पोखरेलको परिचय हिजोआज उद्यमीसँग जोडिएको छ ।

पाल्पामा सक्रियरुपमा पत्रकारितासँगै महिला सशक्तीकरण, महिला हिंसाविरुद्ध सशक्तरुपमा नेतृत्व गर्दै आउनुभएकी पोखरेल यतिबेला अचार उद्यमीको रुपमा कहलिनुभएको छ । पत्रकारिता गर्ने क्रममा गाउँघरका महिला, किसान, अन्याय, हिंसा, समानता, सशक्तीकरणका कुरामा कलम चलाउने र उनीहरुका आवाजलाई मिडियामा ल्याउने क्रममा आफू पनि यसबाट प्रभावित भएर व्यवसायमा होमिएको उहाँले बताउनुभयो ।

एक वर्षअघिदेखि उहाँले रामपुरमा अचार उत्पादन सुरु गर्नुभएको छ । पारिवारिक अवस्था अब्बल रहे पनि आफ्नो व्यवसायबाट अरु महिलाले पनि सिको गरुन् भनेर आफैँले व्यस्त समयका अलवा व्यावसायिक अचार उत्पादन सुरु गरेको उहाँले बताउनुभयो ।

“महिलालाई सशक्तीकरण गर्न, रामपुरको उत्पादन बाहिर चिनाउन र फुर्सदको समय सदुपयोग गर्दै यस व्यवसायमा लागेको छु”, उहाँले भन्नुभयो, “अहिलेको बजार अवस्था राम्रै रहेकाले उत्पादन वृद्धि गर्दै जाँदा यसबाट मनग्य आम्दानी लिन सकिने सम्भावना एक वर्षको अनुभवले मैले देखेको छु ।” घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा ‘भान्छाको साथी दिदीको अचार’ नाममा उद्योग दर्ता गरी व्यावसायिक उत्पादन सुरु गर्नुभएको छ ।

मुला, गाँजर, गुन्द्रुक, भटमास, तामा, अकबरे खुर्सानी, मेथी, लसुन, आँप, अमला, इमिली, लप्सीलगायतका गाउँघरमा उत्पादन हुने कृषिउपजबाट विभिन्न खालका अचार उत्पादन गर्नुहुन्छ । होलसेल मूल्य हाल ९तौलअनुसार फरक० न्यूनतम रु एक सय १० देखि बढीमा दुई सय ५० र खुद्रा मूल्य न्यूनतम रु एक सय ३५ देखि तीन सयमा धमाधम बिक्री भइरहेको छ ।

उहाँ भन्नुहुन्छ, “अचारको माग धेरै आएको हुँदा यसलाई विस्तार गरी ठूलो मात्रामा उत्पादन गर्ने तयारी गरिरहेको छु, ल्याब टेस्टको लागि भैरहवा पठाइएको हँुदा त्यसको रिपोर्ट आएपछि उत्पादन बढाएर विभिन्न स्थानमा ब्राण्ड बनाएर बजार पठाइनेछ ।”

पाल्पा ९तानसेन०, बुटवल, काठमाडौँमा समेत अचार खपत गर्नुभएको छ । स्थानीय उत्पादन भएकाले विभिन्न स्थानबाट खोजी खोजी अचार माग गर्ने बढेको उहाँ बताउनुहुन्छ । स्थानीय उत्पादनको स्वाद फरक र गुणस्तर राम्रो भएकाले विदेशमा बसोबास गर्ने नेपालीबाट माग भई विभिन्न देशमा अचार पुगेको उद्यमी पोखरेलले बताउनुभयो ।

कोभिड–१९ को प्रभावले बन्दाबन्दीको समयलाई सदुपयोग गर्दै केही नयाँ उद्यम गरौँ भन्ने मनसायले यस व्यवसायमा सीप सिकेर उत्पादन सुरु गरेको उहाँको भनाइ छ । उद्यमी पोखरेलले काठमाडौँको बूढानीलकण्ठमा रहेको रिक फुड उद्योगमा पाँच दिनको तालिम लिएर व्यावसायिक उत्पादनलाई जोड दिनुभएको हो ।

“न्याय र समानता, आर्थिक समृद्धिका लागि महिलाको अर्थपूर्ण सहभागीता हुनु जरुरी छ, महिला आफैँमा आर्थिक क्षेत्रमा सक्षम भइएन भने घरपरिवार, समाजमा हिंसाको सिकार बन्नुपरेको छ, आफैँले कमाउन सकियो भने अरुसँग आश्रित हुनुपरेन, यसले महिला हिंसाका घटना कमी हुँदै जानेछ”, उद्यमी पोखरेलले भन्नुभयो ।

उहाँले रामपुरमा भएको व्यापार मेलामा रु एक लाख २५ हजार बराबरको अचारको कारोबार गर्नुभएको छ । एक वर्षको अवधिमा मात्रै उहाँले एक हजार पाँच सय किलो अचार बजारमा खपत गर्नुभएको छ । बिक्री गर्न तीन सय किलो अचार बाँकी छ भने उत्पादन कार्य चलिरहेको छ । एक वर्षको अवधिमा करिब रु दुई लाख बराबरको अचार बिक्री भएको छ ।

गत माघ २७ देखि फागुन ८ सम्म रामपुरमा चलेको तेस्रो व्यापार मेला तथा व्यापार मेलामा कृषि ज्ञान केन्द्र पाल्पाको स्टल व्यवस्थापनमा राखिएको अचार मेलाको मुख्य आकर्षणसमेत बनेको थियो । सोही मेलाका कारण अहिले अचारको माग थपिँदै गएको उद्यमी पोखरेल बताउनुहुन्छ । यस क्षेत्रमा सुक्खाभन्दा झोलिलो अचार खोज्ने ग्राहक बढेकाले उनीहरुको मागलाई मध्यनजर गर्दै झोलिलो खालको अचार उत्पादन गर्ने उहाँको सोच छ । आफ्नै गाउँघरका खेतबारीमा उत्पादन भएका कृषिजन्यउपजलाई अचार बनाएर बजार पठाउँदा आनन्दको अनुभूति भएको उहाँले अनुभव सुनाउनुभयो ।

आफूले केही व्यवसाय गरेर समाजमा अन्य महिलालाई पनि विभिन्न उद्यम, व्यवसाय गर्न अग्रसर गराउँदै सामाजिक अभियान्ता, पत्रकारिता सँगसँगै यस उद्योगलाई निरन्तररुपमा अगाडि बढाउने उहाँ बताउनुहुन्छ । उद्यमी पोखरेल हाल बोलीखबर डटकमका सम्पादक, मेचीकाली राष्ट्रिय दैनिकका पाल्पा संवाददाता तथा प्रेस चौतारी नेपाल पाल्पाका उपाध्यक्ष हुनुहुन्छ । यसका अलवा अहिले उहाँ मिलेनियम च्यालेन्ज अकाउण्ट नेपाल विकास समितिद्वारा सञ्चालित साइपल बोटेक ज्वइक टिएमएस जेभी एसोसिएसनको सामाजिक सहजकर्ताका रुपमा समेत काम गर्दै आउनुभएको छ ।

व्यस्त समयको बाबजुद पनि अचार उत्पादनमा सक्रियताका साथ लागिरहनुभएको छ । श्रीमान् वैदेशिक रोजगारीमा घरमा एक छोरा र आफू बसोबास गर्दै आउनुभएको छ । उहाँले पत्रकारिता, सामाजिक अभियान्तासँगै गरेको यस अचार उद्योगले फुर्सदको समय काममा लगाउने र आर्थिक क्षेत्रमा अरुको निर्भर नभई आफैँ अब्बल बन्नुपर्छ भन्ने सामाजमा राम्रो प्रभाव पारेको रामपुरका पुराना पत्रकार वासुदेव ढकाल बताउनुहुन्छ ।रासस

ताजा

test

२०८२ जेष्ठ ५ गते, सोमबार

test

२०८२ जेष्ठ ५ गते, सोमबार

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल

२०८२ बैशाख २३ गते, मंगलवार

पूर्वमन्त्री प्रदीप नेपालको निधन

२०८२ बैशाख २३ गते, मंगलवार

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

२०८२ बैशाख २१ गते, आईतवार

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

२०८२ बैशाख २१ गते, आईतवार

चालिसेमा महायज्ञ हुने

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

२०८२ बैशाख २० गते, शनिबार

यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

२०८२ बैशाख १९ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal