किन मक्किंदैछन् दलका जरा ?

योगदान दिने कार्यकर्ता विलखबन्दमा पर्न पुगे । भागबन्डाको संस्कृति र नवधनाढ्य वर्गको हातमा पार्टी पर्न पुग्दा कांग्रेस, एमाले, माओवादी, मधेशवादी लगायत संसदवादी दलभित्रको आन्तरिक एकता पनि नराम्रोसँग खण्डित हुन पुग्यो ।

सुदर्शन आचार्य

– पूर्वी नेपालको धरान, पश्चिमको धनगढीसँगै देशकै राजधानी काठमाडौंमा समेत दलविहीन उम्मेदवारहरूले स्थानीय तहमा विजय हासिल गरे । यस्तो नतिजासँगै दलभित्र राजनीतिक हिसाबले ठूलै स्केलको धक्का महसुस भएको अनुमान लगाउन कठिन छैन । परिवर्तनको संवाहक र सत्ता सञ्चालनका मुख्य हकदार केवल हामी मात्रै हौं भन्ने दलहरूको भ्रमलाई स्वतन्त्रहरूले खण्डित गरिदिए । अझै पनि धरातलीय यथार्थतामा पुगेर चुनावी समीक्षामा जुट्न समेत दलहरूलाई हम्मेहम्मे परेको देखिन्छ ।

अपत्यारिला आश्वासन, टिकट वितरणमा देखिएको आफ्नै हात जगन्नाथ प्रवृत्ति र सत्ता प्राप्तिका निम्ति वा सत्तामा रहँदा जे गरे पनि हुन्छ भन्ने दलीय मनोविज्ञानका कारण गणतन्त्र प्राप्तिको छोटै अवधिमा दलहरू सर्वाधिक अलोकप्रिय बन्न पुगे । यो शृङ्खला हत्पत्ति रोकिने देखिंदैन ।

वैज्ञानिक आर्किमिडिजले भनेका थिए, ‘मलाई उभिने ठाउँ देऊ, म पृथ्वीलाई घुमाएर देखाइदिन्छु ।’ त्यस्तै जब जनताले मत हाल्ने वा नेता छनोट गर्ने समय आयो तब पाँचदलीय गठबन्धनको समेत जोर चलेन ! महानगर, नगर तथा गाउँपालिका प्रमुख नै एक दर्जनभन्दा ज्यादा ठाउँमा जित्नुलाई सामान्य घटनाका रूपमा मात्र बुझे भने दलहरू ‘सच्चिने’ नभई ‘सक्किने’ बाटोमा छन् भनेर बुझे हुन्छ ।

२०४६ सालको परिवर्तन यता दलहरूले गरेका गल्तीका लामै फेहरिस्त प्रस्तुत गर्न सकिन्छ । गणतन्त्र प्राप्तियता जन्मिएको एउटा बालक पनि आफ्नो प्रतिनिधि छनोटका लागि मताधिकार सम्पन्न नागरिकको हैसियत कायम गरिसक्यो भन्ने हेक्का दलहरूले बिर्सिए ! जसको परिणामस्वरूप दलहरूका प्रति ‘मास फ्रस्टेशन’ हुन पुग्यो र त्यसैको जगमा बालेन, हर्क र गोपालहरू जन्मिए । जुन क्रम आगामी निर्वाचनमा धुवाँ सरी फैलिने पूर्वानुमान लगाउन कठिन छैन ।

दलले दलीय व्यवस्था बचाउने नै हो भने आफू सच्चिन निमेषभर पनि समय लगाउनुहुन्न । हिजो सडकमा गणतन्त्रको नारा उराल्ने गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, घनश्याम भूसाल र योगेश भट्टराई, वर्षमान पुन, शक्ति बस्नेत, राम कार्की, रामकुमारी झाँक्री, प्रदीप यादव, मनिष सुमन, मोहम्मद इस्तियाक राई आदि युवा नेताले आ–आफ्नो पार्टीलाई सच्याउने आँट गर्न जरूरी छ ।

त्यतिले मात्रै पुग्दैन, उल्लेखित युवानेता जनताबाट निर्वाचित हुनासाथ संसदीय दलको नेताका रूपमा आफूलाई प्रत्यासी गराउँदै मुलुक सञ्चालनको हैसियतमा समेत आफूलाई प्रस्तुत गर्न जरूरी छ । गगन थापा र उनको पुस्तालाई अहिले नेपाली जनताले नोटिसमा राखेका छन् । हिजो ‘हामी बदलिन्छांै, कांग्रेस बदल्छौं’ भन्ने कांग्रेसको युवा पुस्तासँगै आशलाग्दा युवा नेताले आ–आफ्नो पार्टी सच्याउने अभियान तत्कालै नथाल्ने हो भने परम्परागत दलहरूलाई स्वतन्त्र उम्मेदवारहरूको बाढीले किनारामा पुर्‍याउने निश्चितप्रायः देखिन्छ ।

संसदीय व्यवस्थामा रमाउने दलहरूले समयको पदचाप बुझे झैं देखिन्न । समयको पदचाप नबुझ्नेले इतिहासले दिएको जिम्मेवारी पनि सफलतापूर्वक वहन गर्न सक्छ भन्नेमा विश्वस्त रहन सकिन्न । यो परिवेश संसदीय राजनीतिमा रमाउने सबै दलका निम्ति समान ढंगले लागू हुन्छ । सतहमा देखा परेका दलहरू आजको मितिमा ‘मठाधीश’ नै देखिएका छन् ।

कांग्रेस, एमाले, माओवादी, मधेशवादी आदि दलका कार्यकर्ता नेतृत्वको कार्यशैलीका कारण आजका मितिमा निराश छन् । अझ खास गरी नेपाली कांग्रेसका कार्यकर्तामा औपचारिक रूपमा गठबन्धनको संस्कृति भित्र्याएर कांग्रेसले कतै बाटो बिराएको त हैन भन्ने भान कार्यकर्तामा परेको छ । कांग्रेस लगायत दलले कार्यकर्ताको निराशालाई आशामा रूपान्तरण गर्न आसन्न निर्वाचनमा परिवारवादबाट माथि उठेर कार्यकर्तामा न्यायको अनुभूति दिलाउने कसम खान र व्यवहारमा उतार्न सक्दा मात्र निर्वाचनमा कार्यकर्ता परिचालित हुनेछन् । अन्यथा इमानदार कार्यकर्ताको गिरेको मनोबल उठाउन नसक्ने हो भने निर्वाचन दलहरूका लागि फलामको चिउरा हुने निश्चितप्रायः देखिन्छ ।

सवाल कार्यकर्ताको न्यायको मात्र छैन, सवाल उमेरले नेटो काटिसकेका सँगै पार्टी र नेताको उमेर लगभग बराबरजसो भएका नेताले राजनीतिबाट विश्राम लिन्छन् वा लिन्नन् भन्ने पनि छ । उमेर र विचार दुवैले नेटो काटिसकेका नेताले नयाँ पुस्तालाई विश्वास गर्नुको विकल्प छैन । पूर्वप्रधानमन्त्री एवम् सन्तनेता कृष्णप्रसाद भट्टराईले संसदलाई सम्बोधन गर्दै २०५६ चैत ३ गते भनेका थिए, ‘प्रजातान्त्रिक राजनीति पद्धतिमा मूल्य, पद्धति र नैतिक पक्ष सशक्त हुन्छ, यी कुराको अभावमा प्रजातान्त्रिक पद्धति नै निर्धो हुन पुग्दछ ।’ आज ठ्याक्क भएकै त्यही हो ।जब देश र जनताका लागि केही गर्ने इच्छाशक्ति सहितको भिजन यथास्थितिमा रमाउने कांग्रेस, एमाले, माओवादीलगायत दलमा देखिएन तब जनताको सम्बन्ध लगभग यी दलसँग विच्छेदको पूर्वसन्ध्यामा छ भनेर अनुमान लगाउन कठिन छैन ।

विवेकहीन नेतृत्वको हातमा पार्टीहरूको नेतृत्व पुग्यो । नेतृत्वले प्रदान गर्ने पोजिशन समेत स्वस्थानी व्रतकथाको प्रसाद जस्तो भए छोरा नभए मीत छोरालाई दिने प्रचलन नै बन्यो । योगदान दिने कार्यकर्ता विलखबन्दमा पर्न पुगे । भागबन्डाको संस्कृति र नवधनाढ्य वर्गको हातमा पार्टी पर्न पुग्दा कांग्रेस, एमाले, माओवादी, मधेशवादी लगायत संसदवादी दलभित्रको आन्तरिक एकता पनि नराम्रोसँग खण्डित हुन पुग्यो । आन्तरिक जीवनमा गहिरिंदो संकट तथा एकता नघटाई केवल कांग्रेसले इतिहास, एमालेले वृद्धभत्ता र माओवादीले उसकै भाषामा ‘जनयुद्ध’को गाथा गाएर मात्र पार्टीलाई जीवन्त राख्न संभव नै छैन ।

प्रजातन्त्र प्राप्ति यता संसदीय राजनीतिक दलहरू नै सत्ताका मुख्य सञ्चालक बने । तर, जनताका मुद्दालाई भने ठिक ढंगले पहिचान गर्न नै सकेनन् । धुलो यी दलका नेताको अनुहारमा लागेको थियो । तर, दलहरू ऐना पुछ्न थाले । संसदवादी दलहरूले भित्र्याएको विकृतिको जालो हटाउन स–सानो प्रयासबाट संभव देखिन्न मात्र हैन, दलहरूबाट सच्चिने प्रयास नदेखेपछि ठाउँठाउँबाट प्रतीकात्मक हिसाबले जनताले स्वतन्त्रको ‘लौरो’ लाई सांकेतिक रूपमा विश्वास गरे । दलहरूले आफूप्रतिको भरोसा जनतामा टुट्न गएको विषयलाई नजरअन्दाज गरे भने भोलिको मितिमा ठूलै ‘मास फ्रस्टेशन’ हुने देखिन्छ ।

निष्कर्षका रूपमा भन्न सकिन्छ, मुलुकलाई नैतिकताको पाठ सिकाउँदै अन्य राजनीतिक दललाई समेत नैतिकताको राजमार्गमा डोर्‍याउनुपर्ने नेपाली कांग्रेसले हो । कांग्रेस सभापति शेरबहादुर देउवा पटक–पटक प्रधानमन्त्री भए तर, उनले कांग्रेसलाई ठूलो बनाएर वा आफ्नै नाममा प्रधानमन्त्रीका रूपमा भोट मागेर भन्दा पनि अरूकै म्यान्डेटमा आफू प्रधानमन्त्री बन्न पुगे । प्रधानमन्त्री देउवाले प्रधानमन्त्री बन्न के कारणले खोजेको हो र अब बाँकी गर्न के छ ? भन्ने बारे कहिल्यै सार्वजनिक गर्न चाहेनन् ।

जब देश र जनताका लागि केही गर्ने इच्छाशक्ति सहितको भिजन यथास्थितिमा रमाउने कांग्रेस, एमाले, माओवादीलगायत दलमा देखिएन तब जनताको सम्बन्ध लगभग यी दलसँग विच्छेदको पूर्वसन्ध्यामा छ भनेर अनुमान लगाउन कठिन छैन । त्यसैको पूर्वसंकेत हो ‘लौरो’ को चर्चा परिचर्चा ।

थप निष्कर्ष के हो भने, दलका जरा यसरी मक्किनुका पछाडि दलका नेताको अकर्मण्यता नै हो । पद, प्रतिष्ठा र पैसाका लागि जे पनि गर्न तयार हुने मान्यता जब राजनीतिमा स्थापित बन्यो तब बालेन र हर्कहरूको उदय भयो । यो क्रम दलभित्र ‘मेजर अप्रेशन’ अर्थात् युवा नेताहरूले वैचारिक रूपमा देश हाँक्ने प्रण जबसम्म गर्न सक्दैनन् तबसम्म उत्कर्षमा पुग्ने नै देखिन्छ ।अनलाइन खबरबाट

ताजा

महिलाहरुलाई आधारशिला तालिम

२०८२ बैशाख ११ गते, बिहीबार

महिलाहरुलाई आधारशिला तालिम

२०८२ बैशाख ११ गते, बिहीबार

पुतलीबजार पूर्ण खोप पालिका घोषणा

२०८२ बैशाख ११ गते, बिहीबार

उत्पादन बढाउन आधुनिक खोर निर्माण

२०८२ बैशाख ११ गते, बिहीबार

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal